बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लालबन्दीमा गठबन्धन गर्न नमानेको काँग्रेसले एक्लै ल्यायो बहुमत, तोड्यो लालकिल्ला

बिहीबार, ०५ जेठ २०७९, १० : १८
बिहीबार, ०५ जेठ २०७९

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको प्रमुख, उपप्रमुख र सात वटा वडाअध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । विगतमा यो पालिकाको प्रमुख र उपप्रमुख एमालेले जितेको थियो भने काँग्रेस तेस्रो स्थानमा थियो ।

सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा तालमेल भए पनि लालबन्दी नगरपालिकामा भने तालमेल बिना नै काँग्रेसले सफलता पाएको हो । सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठकले यो नगरपालिकामा गठबन्धन गर्ने सहमति गरेको थियो । जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र नेपाली काँग्रेसलाई उपप्रमुख दिनेगरी तालमेलको खाका बनाइएको थियो । अटेर गरेर एक्लै निर्वाचन लड्ने निर्णय गरेको काँग्रेसले पालिकामा प्रस्ट बहुमत हासिल गरेको हो ।

नगरप्रमुखमा काँग्रेसका वासुदेव अधिकारी ९ हजार ५६१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत पाए । माओवादी केन्द्रबाट प्रमुखमा उम्मेदवार दिएका प्रह्लाद कुमार बुढाथोकीले ६ हजार १७५ मत पाए ।

यस्तै, उपप्रमुखमा काँग्रेसकै कल्पनामाया पाख्रिन ८ हजार ८५० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सन्सारी माया थिङ्गले ८ हजार १५९ मत पाइन् । नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवार गोविन्दप्रसाद अधिकारीले भने ३ हजार ६४१ मत पाए ।

नगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार हरिबहादुर भट्टराई विजयी हुँदा नेपाली काँग्रेसका बुद्धदेव चौधरीले वडानम्बर ३, सत्यनारायण चौधरीले वडा नम्बर ४, मिनप्रसाद ढुंगेलले वडा नम्बर ५, कृष्णकुमार कार्कीले वडा नम्बर ७, नारायण अधिकारीले वडा नम्बर ९, टोपबहादुर श्रेष्ठले वडा नम्बर १० र शिवकुमार वैद्यले वडा नम्बर १३ को वडाअध्यक्ष पदमा जितेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट वडा नम्बर २ मा किरणकुमार पासवान, ८ मा शुक्र बहादुर पाख्रिन, १२ मा दुर्गाबहादुर आले, १५ मा गोरखबहादुर बल, १६ मा गणेशबहादुर थापा र १७ मा विष्णुहरि अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट वडा नम्बर ६ मा लालबहादुर योन्जन र ११ मा दिपककुमार लामा र १४ मा छेनाम सिंह घिसिङ वडा अध्यक्षमा विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप