बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीहरूलाई असिन पसिन बनाउँदैछन् यी ‘पाण्डव’

बुधबार, ०४ जेठ २०७९, २३ : १०
बुधबार, ०४ जेठ २०७९

स्थानीय तह निर्वाचनमा मुख्य पाँच शहरका नगरमा स्वतन्त्र उम्मेदवार तहल्का पिटिरहेका छन् । काठमाडौं, धनगढी, जनकपुर, धरान र बर्दिबास नगरमा स्वतन्त्र उम्मेदवारले पार्टीका उम्मेदवारलाई असिन-पसिन बनाइरहेका छन् । काठमाडौं महानगरपालिकामा पहिलो र दोस्रो ठूलो पार्टी एमाले र काँग्रेसमाथि स्वतन्त्र उम्मेदवार बालेन साहको ‘लौरो’ बर्सिइरहेको छ ।

यो समाचार तयार पर्दासम्म साहले १९ हजार ८१ ​मतसहित भारी मतान्तरले एमाले र काँग्रेसका उम्मेदवार पछाडि पारेको अवस्था छ । दुई पटक काठमाडौंको कमाण्ड सम्हालिसकेका एमालेका केशव स्थापितलाई बालेनले ७ हजार ८४६ मतको भारी बोकाइराखेका छन् । २०५४ मा नै ८४ हजार मत ल्याएर काठमाडौंको मेयर भएका स्थापितलाई बालेनको लौरोले विस्थापितको दिशा देखाएको छ ।

स्थापितले ९ हजार ८ २७ र सिर्जना सिंहले ८ हजार ८९३ मत ल्याएकी छिन् । सिर्जना सिंहको पारिवारिक लिगेसी र काँग्रेसको संगठन बालेनका अगाडि टिठ लाग्दो अवस्था छ । सिर्जनाभन्दा बालेन दोब्बरभन्दा बढी मतले अगाडि छन् । काठमाडौं उपत्यकामा दबदबाब राख्ने काँग्रेस नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको क्षेत्रमा समेत बालेनले सिर्जनालाई मात खुवाएको देखिन्छ ।

काँग्रेस र एमालेको गढमा पनि अहिलेसम्म बालेनको एकछत्र कायम छ । सुरुवातदेखि अहिलेसम्म बालेनलाई चिन्ता थप्ने गरेर स्थापित र सिर्जनाले पछ्याउनै नसकेको अवस्था छ । बालेनको लौरोमा परेको मतले उनीहरुलाई घायल बनाएको छ । काठमाडौंका १, देखि ७ र २५ देखि ३२ वडासम्म मत गणना जारी छ । यसमा १, २, ३ र ५ नम्बर वडाको मत गणना सकिएको छ ।

आरजुको गृहनगरमा हामलको कमाल

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले कमाल गरिरहेका छन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार काँग्रेसका नृप वडलाई हमालले दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।

०७४ को चुनावमा काँग्रेस एक्लैको बलमा हमाललाई हराएका वडलाई यसपटक माओवादी र एकीकृत समाजवादीको समर्थनले सामर्थ्य दिएको छैन । हमालले १२ हजार ३०४ मत ल्याउँदा वडले ५ हजार ८९२ मत मात्र पाए । ०७४ को निर्वाचनमा वडसँग २ हजार ७ सय ९७ मतान्तरले पराजित उनी यस पटक बदला लिने दिशामा देखिन्छन् । ०७४ मा वडले १४ हजार ३ सय २४ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए ।

यसमा माओवादी केन्द्रका राम समझ रानाले १० हजार २ सय मत ल्याएका थिए भने एमालेका दुर्गा जोशीलाई १० हजार २ सय मत आएको थियो । काँग्रेसको १४ हजार ३ सय २४, माओवादीको १० हजार २ सय र समाजवादीमार्फत एमालेको विभाजित मतलाई पनि हमालले कडा चुनौती दिएका छन् । धनगढी देउवा पत्नी तथा काँग्रेस केन्द्रीय सदस्य आरजु राणाको निर्वाचन क्षेत्र भएकाले पनि काँग्रेसको प्रतिष्ठासँग जोडिएको छ । कैलाली ५ लाई निर्वाचन क्षेत्र बनाएकी आरजुको घर पनि धनगढीमै छ ।

०७० को संविधानसभा निर्वाचनमा देउवाले सर्वाधिक मतान्तरले जितेको क्षेत्र धनगढीमै पर्छ । तर अहिले राप्रपा र विवेकशीलको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हमाल काँग्रेसलाई भारी बनेका छन् ।

जनकपुरमा काँग्रेस बागी हावी

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनविरुद्ध काँग्रेसका बागी मनोज साह पुरापूर हावी देखिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा नेतृत्वले जनकपुर जनता समाजवादी पार्टी (जसपा)लाई छोडेपछि साहले विद्रोह गरेका थिए । काँग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका साहको सुरुवाती अग्रता कायम छ ।

साहको चुनाव चिन्ह घण्टाघरमा मत ओइरिएको छ । उनले ४ हजार ४६६ मतसहित अग्रता लिरहेका छन् । उनलाई एमालेका शिवशंकर साहले ३०३२ मतका साथ पछ्याई राखेका छन् । मधेस आन्दोलनबाट उदाएका जसपा र लोसपा पनि मधेस प्रदेशको राजधानी रहेको जनकपुरमा स्वतन्त्रको छेउसम्म पुग्न नसकेको अवस्था छ । लोसपाका मनोज चौधरीको १२९९ मत मात्र आएको छ ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साह पाँचौ स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १२२४ मत ल्याउँदा साहका १२११ मत मात्र छ । मनोजले गठबन्धनका उपमेयरका उम्मेदवार काँग्रेसका किशोरी साह भन्दा १२७ मत मात्र कम ल्याएका छन् ।

जनकपुरबासीको स्वतन्त्र झुकाव यसपटक मनोजमाथि परेको छ । पार्टी नेतृत्वले जसपालाई सुम्पिएको जनकपुर जनमतको बलमा खोस्ने प्रयासमा मनोजलाई सफलता मिल्ने संकेत देखिएको छ । उनले काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको सांगठनिक शक्तिलाई चुनौती दिएको अवस्था छ ।

धरानमा गठबन्धनलाई लौरोको पीर

प्रदेश एकको पुरानो शहर धरानमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको लौरो पार्टीहरूमाथि बर्सिरहेको छ । लौरोमा परेको मतको चोटले धरानलाई लाल किल्ला ठान्ने एमाले मात्र होइन पाँच दलीय गठबन्धनलाई पनि असिन-पसिन बनाएको छ ।

साम्पाङले ८१४० मतसहित अग्रता लिएका छन् भने पाँच दलीय गठबन्धनबाट काँग्रेसका किशोर राईले ८१२६ मतसहित पछ्याइरहेको अवस्था छ । सुरुवाती अग्रता लिएका राईलाई मध्य क्रममा आएर साम्पाङले पछारिदिएका छन् । धरानमा सामाजिक अभियानताको​ छवि बनाएका सम्पाङले पार्टीहरूको संगठित मतमा क्षेप्यास्त्र हानेको देखिन्छ ।

०७५ मा भएको उपनिर्वाचन  काँग्रेस एक्लैले धरानको लाल किल्ला भत्काएको थियो । त्यसलाई जोगाउन काँग्रेसलाई माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको सहयोग पनि साम्पाङ सामु अपुग भएको छ ।

बर्दिवास जेब्रा तीव्र रेसमा

महोत्तरीको बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार श्रेत्रीले दलहरुलाई चुनौती दिरहेका छन् । काँग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका प्रहलादको जेब्रा तीव्र गतिमा दौडिरहेको छ । उनले १० हजार ६३ मत ल्याउँदा माओवादी केन्द्रका राजु खड्काले ५ हजार २५७ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेको एमालेका टेक बहादुर बलम्पाकी ३११० मत ल्याएका छन् भने काँग्रेसका उम्मेदवार चिरंजीवी हमालको जम्मा ७११ मत आएको छ । बर्दिवासको मेयरको प्रतिस्पर्धामा १० पार्टी र एक स्वतन्त्रलाई प्रहलादसँग दौड जित्न लगभग असम्भव प्रयाः भइसकेको छ ।

७४ को निर्वाचनमा बर्दिवास माओवादी केन्द्रका विदुर कुमार कार्की ९१८७ मत ल्याएर विजयी भएका थिए । अहिले माओवादीका उम्मेदवार खड्काभन्दा प्रहलाद ४ हजार ८ सय ६ मतले अगाडि छन् । ०७४ मा काँग्रेसबाट मेयरका उम्मेदवार बनेका उनले ८१७० मत ल्याएका थिए । उनी माओवादीका उम्मेदवार कार्कीसँग जम्मा १ हजार १७ मतले पराजित भएका थिए । यसपटक पार्टीले रोक्ने प्रयास गरेपनि उनी स्वतन्त्र रुपमा बर्दिबासको मेयर जित्ने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप