दैलेखमा एमालेको लाल किल्ला तोडियो, काँग्रेस–माओवादीलाई फाईदा !
नेकपा एमालेले ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । तर यो पटकको चुनावी नतिजाले एमालेको वर्चश्व समाप्त भएको छ । यो पटक एमाले नराम्रोसँग पराजित हुन पुगेको छ ।
एमालेले अघिल्लो निर्वाचनमा जितेका ७ स्थानीय तहमध्ये अहिले आठबीस र नारायण नगरपालिका बाहेक अन्य सबै पालिका गुमाएको छ । जसको प्रत्यक्ष लाभ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई मिलेको छ ।
०७४ मा एमालेले जितेका चार वटा पालिकामा अहिले काँग्रेसले जितेको छ भने एउटामा माओवादीले जितेको छ । काँग्रेसले नयाँ स्थानीय तहमा विजय प्राप्त गरे पनि ०७४मा जितेका नौमुले गाउँपालिका र गुराँस गाउँपालिका गुमाएको छ ।
नौमुलेमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर काँग्रेसलाई पराजित गरे । नौमुलेमा माओवादी केन्द्रका छवि सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् भने गुराँसमा निवर्तमान अध्यक्ष खेमराज ओलीलाई पराजित गर्दै एमालेका टोप बहादुर विसीले जितेका छन् । माओवादीले नेतृत्व पाएको भगवतीमाई र नौमुले दुवैमा समाजवादीसँग तालमेल गरेको थियो । नेकपा माओवादी केन्द्रले ०७४ को निर्वाचनमा दैलेखमा एउटा वडाअध्यक्ष समेत जितेको थिएन ।
कुन पालिकामा कसले जित्यो ?
महावु गाउँपालिका
यो पालिकामा नेपाली काँग्रेस विजयी भएको छ । बहुमत वडा अध्यक्षसहित काँग्रेसका लक्ष्मण गुरुङ पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले निवर्तमान अध्यक्ष जंगबहादुर शाहीलाई पराजित गरे । गुरुङले २ हजार ९७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याए । एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत प्राप्त गरे । शाही ०७४ को निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागेका हुन् ।
२०७४ मा एमालेबाटै उपाध्यक्षमा प्रेमकुमारी बुढा निर्वाचित भएकी थिइन् तर यो पटक एमालेले उपाध्यक्ष् पद जोगाउन सकेन । काँग्रेसकी मन्जु पाण्डे ३ हजार १५५ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार दुर्गा कुमारी सिंहले २ हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २ हजार १३३ मत ल्याए ।
६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा काँग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेको छ ।
डुङ्गेश्वर गाउँपालिका
०७४ मा नेपाली काँग्रेसले नेतृत्व पाएको यो पालिकामा यो पटक एमालेले नेतृत्व लिएको छ । निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी अध्यक्षमा निर्वाचित भए । केसीले ३ हजार ४०६ मत ल्याउँदा मल्लले ३ हजार ३३६ मतमात्र पाए । मल्ल ०७४ मा २ हजार ७८७ मत ल्याएर निर्वाचित भएका थिए । उनले त्यो बेला एमालेका मानबहादुर विष्टलाई पराजित गरेका थिए ।
उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपाने विजयी भएकी छन् । उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा कुमारी थापाले ३ हजार १५२ मत पाइन् । ०७४ मा काँग्रेसकी सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
वडाहरूमा पनि एमालेले वर्चश्व कायम गरेको छ । एमालेले यो पालिकाको वडा नं. ३, ४, ५, र ६ तथा अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको हो ।
भैरवी गाउँपालिका
यो पालिकाको अध्यक्ष÷उपाध्यक्षमै काँग्रेसले जित हासिल गरेको छ । अध्यक्षमा काँग्रेसका रिताकुमारी शाही ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि काँग्रेसकै देवी भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी भए । एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत पाए भने उपाध्यक्षमा पदमकुमारी विष्टले ३ हजार २२७ मत पाइन् । विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । ०७४ मा पालिका अध्यक्ष बनेका एमालेका प्रेमबहादुर बुढा भने यो पटक वडा सदस्यमा लडेका थिए ।
भगवतीमाई गाउँपालिका
यो पालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेश थापा २ हजार ८४६ मत ल्याएर निर्वाचित भए । उनले काँग्रेसका दशरथ खड्कालाई ६४३ मतान्तरले पराजित गरे । खड्काले २ हजार २०३ मत ल्याए ।
०७४ मा पहिलो बनेको एमाले यो पटक तेस्रो स्थानमा पुग्यो । एमालेका शान्ति शर्माले अध्यक्षमा एक हजार ९३४ मतमात्रै पाए ।
उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना खड्का २ हजार ६८३ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षमा माओवादीकी मनिषा सोनीले २ हजार २४७ मत पाइन् भने एमालेकी बसन्ता शाहीले एक हजार ९२२ मत पाइन् ।
यहाँ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तालमेल थियो । समाजवादीले वडामा मात्र उम्मेदवारी दिएको थियो ।
०७४ मा यो पालिकाको अध्यक्षमा एमालेका दानबहादुर थापा र उपाध्यक्षमा एमालेकै चन्द्रा रेग्मी निर्वाचित भएका थिए ।
नारायण नगरपालिका
जिल्ला सदरमुकामसमेत रहेको यो नगरपालिकामा भने एमालेले आफ्नो वर्चश्व गुम्न दिएन । एमालेका लोमन शर्माले ५ हजार ४३६ मतसहित प्रमुख पदमा जित हात पार्दा गठबन्धनबाट काँग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५ हजार ३५७ मत प्राप्त गरिन् ।
उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापा ५ हजार ६७३ मत ल्याएर विजयी भइन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ८३८ मत प्राप्त गरिन् । उनी निवर्तमान उपप्रमुख समेत हुन् । ०७४ मा उनले एमालेबाट जितेकी थिइन् । त्यतिबेला उनले ४ हजार ८६६ मत पाएकी थिइन् ।
एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागेकी हुन् । उनले यो पटक ०७४ मै ल्याएको मतलाई समेत जोगाउन सकिनन् ।
०७४ मा एमालेका रत्नबहादुर खड्काले चार हजार ७२५ मत ल्याएर प्रमुख पदमा निर्वाचित हुँदा काँग्रेसका मणिराम रेग्मीले चार हजार ४५१, माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका थिए ।
ठाटीकाँध गाउँपालिका
एमालेको एकाधिकार जस्तै रहेको यो पालिकामा यो पटक काँग्रेसले एमालेका गढ भत्काएको छ । अध्यक्षमा काँग्रेसका रक्षबहादुर शाहले २ हजार ५७१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । लक्ष्मीदेवीले २ हजार २७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्व मन्त्री एवं नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहकी श्रीमती हुन् ।
यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाटीकाँध–६ मा पनि काँग्रेसले जित्यो । यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत (निर्मल)ले अध्यक्षमा एक हजार ६१७ मत पाए ।
उपाध्यक्षमा भने एमालेका देवीराम बडुवा २ हजार ६९५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी भद्रा कुमारी शाहीले २ हजार ४१६ मत ल्याइन् । माओवादीकी विजु कुमारी थापाले एक हजार ५ मत प्राप्त गरेकी छन् ।
६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।
नौमुले गाउँपालिका
यहाँ माओवादी केन्द्रका छवि सुवेदीले ३ हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भए । काँग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत पाए । उनी ०७४ मा काँग्रेसबाट ३ हजार १५२ मत ल्याएर निर्वाचित भएका थिए । यो पटक उनले हार ब्यहोरे । सो गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।
नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । उपाध्यक्षमा एकीकृत समाजवादीले जितको छ । समाजवादीका गंगबहादुर शाहीले २ हजार ८३४ मत सहित उपाध्यक्षमा निर्वाचित हुँदा निवर्तमान उपाध्यक्ष काँग्रेसकी अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरिन् । ०७४ मा उनी ३ हजार २८० मत ल्याएर निर्वाचित भएकी थिइन् ।
गुराँस गाउँपालिका
०७४ मा काँग्रेसले नेतृत्व पाएको यो पालिकामा एमालेका टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का निर्वाचित भएका छन् । उनले ४ हजार ६८१ मतसहित काँग्रेसका खेमराज ओलीलाई ३१५ मतान्तरले पराजित गरे । गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका ओलीले ४ हजार ३६६ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा शिवाकुमारी खड्का ४ हजार ६९८ मतसहित निर्वाचित भइन् । उनले काँग्रेसकी दिपाकुमारी बिसीलाई ५८० मतान्तरले पराजित गरिन् । निवर्तमान उपाध्यक्षसमेत रहेकी बिसीले ४ हजार ११८ मत प्राप्त गरिन् । यो गाउँपालिकाको ८ वटा वडामध्ये ६ वटा एमाले र २ वडामा नेपाली कांग्रेसले जितेको छ ।
आठबीस नगरपालिका
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा एमालेका तर्कबहादुर बडुवाल विजयी भएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मेयरका उम्मेदवार बनेका उनी यो पटक एमालेबाट मेयरमा लडेका थिए । उनले नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीलाई २३१ मतान्तरले पराजित गरे । बडुवाल ५ हजार ३२७ मत ल्याएर विजयी हुँदा शाहीले ५ हजार ६६ मत पाए ।
यस्तै उपप्रमुखमा एमालेका कल्पना थापा विजयी भइन् । उनले ५ हजार ११३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी निशा थापाले ४ हजार ९६५ मत पाइन् । नौ वटा वडा रहेको यो पालिकामा पाँच वटा एमाले र चार वटा काँग्रेसले जितेको छ । ०७४ मा यो पालिका प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेसले जितेको थियो ।
दुल्लु नगरपालिका
०७४ मा काँग्रेसले नेतृत्व पाएको यो नगरपालिकामा यस पटक पनि काँग्रेसले नै जित्यो । एमालेका रुद्र शाहीलाई काँग्रेसका भरत रिजालले १३३ मतान्तरले पराजित गरे । रिजालले ७ हजार ७२५ मत ल्याए भने शाहीले ७ हजार ५९२ मत पाए ।
उपप्रमुखमा यो पटक पनि एमालेले जित्यो । एमालेकी बीना कार्कीले ७३ मतान्तरले नेकपा माओवादीका टेकबहादुर खड्कालाई ३७ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ७ हजार १६० मत ल्याउँदा खड्काले ७ हजार ८७ मत प्राप्त गरे ।
यहाँ नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन थियो । १३ वटा वडा रहेको यो नगरपालिकामा एमालेले ६ वटा वडामा जितेको छ भने चार वटा वडामा माओवादीले जितेको छ । यस्तै काँग्रेसले तीन वटा वडामा जित हासिल गरेको छ ।
०७४ को स्थानीय तहको निर्वाचनमा पनि यो पालिका प्रमुखमा काँग्रेसका घनश्याम भण्डारीले ६ हजार तीन सय ४९ मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर जितेकी थिइन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका
०७४ मा एमालेले वर्चश्व जमाएको यहाँ यो पटक काँग्रेसले जितेको छ । काँग्रेसका गणेशकुमार शाहीले एमालेको सुर्यबहादुर शाहीलाई ७८ मतान्तरले प्रमुखमा पराजित गरे । काँग्रेसका शाहीले चार हजार ७० मत ल्याउँदा पराजित भएका शाहीले तीन हजार ९९२ मत पाए ।
०७४ मा एमालेबाट मेयर बनेका सुर्यबहादुर शाहीले २ हजार ७७३ मत ल्याएका थिए । मेयरका निर्वाचित बनेका गणेशकुमार शाहीले ०७४ को चुनावमा भने २ हजार ६७० मत पाएका थिए ।
उनले प्रदेशस्तरीय सत्ता गठबन्धनको निर्णय तोडेर उम्मेदवारी दिएका थिए । उनी कर्णाली प्रदेशका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् । यहाँ काँग्रेसले गठबन्धनलाई तोडेर उम्मेदवारी दिएको थियो ।
यो पटक उपप्रमुखमा पनि काँग्रेसले जित्यो । काँग्रेसकी मनसरा कुमारी शर्माले चार हजार ३८ मत ल्याएर निर्वाचित बनिन् । उनको प्रतिस्पर्धी एमालेकी नन्दकुमारी विष्टले तीन हजार ९९६ मत ल्याइन् ।
नौवटा वडा रहेको यो पालिकामा एमालेले २, ५ र ९, काँग्रेसले ४, ६, ८ र नेमकिपाले १, ३, ७ नम्बर वडा जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु