मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

बुधबार, ०४ जेठ २०७९, २१ : ३३
बुधबार, ०४ जेठ २०७९

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । 

यस्तो छ अवस्था 
सभामुख राजबहादुर शाही (एमाले)

एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पालिका दैलेखको ठाटीकाँध गाउँपालिका हो । उनको पालिकामा ०७४ मा नेकपा एमालेको एकाधिकार जस्तै थियो । एउटा वडा बाहेक बहुमतमा रहेको एमाले अहिले नराम्रोसँग पराजित भएको छ  । पालिका अध्यक्षमा नेपाली काँग्रेसका रक्ष बहादुर शाहले जितेका छन् । उनले एमालेकी लक्ष्मीदेवी शाहलाई पराजित गरेका हुन्  ।

रक्षबहादुरले २५७१ मत ल्याउँदा लक्ष्मीदेवीले २२७९ मत प्राप्त गरिन् । उनी पूर्व मन्त्री एवं एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती हुन् । कतिपयले एमाले हार्नुको मुख्य कारण नै प्रदेश अध्यक्ष शाहले नेता, कार्यकर्ताको भावना विपरित आफ्नो श्रीमतीलाई टिकट दिनु गल्ती भएको बताएका छन् । प्रदेश अध्यक्ष शाहले आफ्नो वडामा पनि हारेका छन् ।  सभामुख शाहीको वडा नं. ६ मा पनि काँग्रेसले नै जितेको छ । ०७४ मा एमालेबाट मनबहादुर सिजापतिले जितेका थिए । अहिले काँग्रेसका जोरासिंह रोकायाले माओवादी र एमालेलाई पराजित गरे । रोकायाले ३७८ मत ल्याउँदा एमालेका राजनकुमार शाहीले २४५ मत प्राप्त गरे । सो वडामा एमालेभन्दा माओवादीले बढी भोट पाएको छ । माओवादीका रण बडुवालले ३३० मत पाएका छन् ।

उपसभामुख पुष्पा घर्ती (माओवादी केन्द्र) 
माओवादी नेतृ एवं कर्णालीकी उपसभामुख घर्तीको गृह पालिका सुर्खेतको चौकुनेको नतिजा सार्वजनिक भइसकेको छैन । यद्यपि उनको गृहस्थान वडा नं.–१० मा भने माओवादी पराजित भएको छ  । त्यहाँ  एमालेका नन्दाराम खनालले जितेका छन् । उनले माओवादीका डिल्ली कामीलाई पराजित गरेका हुन् । खनालले ३२३ मत प्राप्त गरेका छन् भने कामीले २९४ मत पाए । त्यहाँ नेपाली काँग्रेस तेस्रोमा छ ।  दिउँसो ३ बजे यो समाचार तयार पार्दासम्म पालिकाको नतिजा सार्वजनिक भएको छैन ।

उर्जा तथा जलस्रोत मन्त्री गणेशबहादुर सिंह (माओवादी केन्द्र) 
मन्त्री सिंहको गृहपालिका जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादीले जितेको गृह वडामा पराजित भएको छ  । मन्त्री सिंहको वडा –५ मा नेपाली काँग्रेसका ओमराज वलीले जितेका छन् । उनले माओवादीकी कमला कुमारी शाहीलाई पराजित गरेकी हुन् ।  ओलीले ५१४ मत ल्याउँदा शाहीले ४९८ मत प्राप्त गरिन ।  यद्यपि पालिका प्रमुखमा भने माओवादीले जितेको छ । त्यहाँ माओवादी केन्द्रका डम्बरबहादुर रावतले जितेका हुन् । उनले ५५९९ मत प्राप्त गरे भने एमालेका धर्म ब शाहीले ३६२६ मत प्राप्त गरेका छन् । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही (एकीकृत समाजवादी)

मन्त्री शाहीको पालिकाको नतिजा यो समाचार तयार पार्दासम्म आएको छैन । उनको गृह वडा मुगुको सोरु गाउँपालिका–१ मा उनको दलको प्रतिनिधित्व नै देखिदैन् । निर्वाचन आयोगले निकालेको पाँच दलको नतिजा अनुसार त्यहाँ स्वतन्त्र उम्मेदवार धनकर्ण छत्यालले २४१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित बनेका छन् । उनले एमालेका बखत बहादुर मल्ललाई पराजित गरेका हुन् ।

मल्लले १४५ मत प्राप्त गरे भने तेस्रोमा माओवादी छ । समाजवादीको उपस्थिति नै देखिँदैन् । बरु सदस्यमा भने उपस्थित देखिन्छ । समाजवादीबाट प्रेम बहादुर मल्लले जम्मा ३ मत पाएर पराजित बने । दलित महिला सदस्यमा भने सम्पा दमाईले १७७ मत ल्याएर जितेकी छन् । 

मुख्यमन्त्री जीवनबहादुर शाही (काँग्रेस )
जिल्लामै शक्तिशाली नेताको छवि बनाएको उनको गृह पालिका हुम्लाको खार्पुनाथ गाउँपालिमा काँग्रेसका कर्णबहादुर रावलले १८१० मत ल्याउँदै विजयी भएका छन् । उनले एमालेका प्रकाश बहादुर शाहीलाई पराजित गरे ।  शाहीले ११९५ मत प्राप्त गरेका छन् ।

माओवादी–काँग्रेसको गठबन्धन बनेको यो पालिकाको उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंहले १८७१ मतसहित विजयी प्राप्त गरे । मुख्यमन्त्री शाहीको गृह वडा –५ मा पनि काँग्रेसकै भतरजंग शाहीले ४९२ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् । उनले एमालेका केन्द्र राज शाहीलाई पराजित गरे । त्यहाँ वडामा सदस्यदेखि महिला सदस्यमा पनि काँग्रेस विजयी भएको छ भने दलित महिला सदस्यमा माओवादी केन्द्र विजयी भएको छ । 

भौतिक पूर्वाधार विकासमन्त्री पदमबहादुर रोकाया (एकीकृत समाजवादी)
उनको गृहपालिका जुम्लाको कनकासुन्दरी गाउँपालिकामा एकीकृत समाजवादी पराजित भएको छ । त्यहाँ समाजवादीले पाँचौ स्थानमा भोट पाएको छ । काँग्रेसका दामोदर प्रसाद आचार्यले २८०६ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि काँग्रेसनै विजयी भएको छ ।

उनको गृह वडा–७ मा भने एकीकृत समाजवादीले जितेको छ । समाजवादीका तेलबहादुर जिसीले २८८ मत सहित वडाअध्यक्षमा जित्दा एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । उनको वडाको वडा सदस्यमा राप्रपाले जितेको छ ।

अर्थमन्त्री विन्दमान विष्ट  (माओवादी ) र सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी (काँग्रेस) 

दुबै मन्त्रीका दल फरक–फरक भएपनि पालिका भने एउटै हो । सुर्खेतको बराहताल गाउँपालिका । आर्थिक मामिला तथा योजना मन्त्री विष्टको वडा १ हो भने सामाजिक विकास मन्त्री विसीको ६ हो । पालिकाको अध्यक्षमा काँग्रेसका भिम बहादुर भण्डारीले ४२७३ मत ल्याएर निर्वाचित हुँदा माओवादी तेस्रो स्थानमा छ ।

माओवादीका ईश्वरभक्त सुनारले २८१८ मत मात्र प्राप्त गरेका छन् । मन्त्री विष्टको वडाको अध्यक्षमा भने माओवादीले जितेको छ  ।  माओवादी केन्द्रबाट वमबहादुर बडुवालले २८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका एस दर्लामीले २२२ मत प्राप्त गरेका छन् । यहाँ वडा सदस्यदेखि दलित महिला सदस्यसम्मै माओवादीले जितेको छ। 

सामाजिक विकास मन्त्री विसीको वडामा काँग्रेसले नै जितेको छ । काँग्रेसका नवराज शर्माले ५५० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुँदा एमालेका जगत बहादुर बिसीले ३२९ र माओवादीका नरबहादुर कामीले ५ मत मात्र पाए । वडा सदस्य र दलित महिला सदस्यमा भने काँग्रेस पराजित बनेको छ। 

आन्तरिक मामिला तथा  कानुन मन्त्री हिमबहादुर शाही ( काँग्रेस )
मन्त्री शाहीको गृहनगर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा उनका छोरा गणेशकुमार शाही मेयरमा निर्वाचित भएका छन् । उनले ४०७० मत ल्याएर निर्वाचित हुँदा एमालेका सुर्यबहादुर शाहीले ३९९२ मत प्राप्त गरेर पराजित हुन पुगे  । मन्त्री शाहीका छोरा गणेश ०७४ को निर्वाचनमा मेयरमा पराजित भएका थिए ।  उपप्रमुखमा पनि काँग्रेसकै मनसराकुमारी शर्मा ४०३८ मतसहित निर्वाचित भएकी छन् । एमालेकी नन्दकुमारी विष्टले ३९९५ मत मात्र प्राप्त गरिन् ।

यस्तै मन्त्रीका शाहीको गृहवडामा पनि काँग्रेस विजयी भएको छ । काँग्रेसका भक्तबहादुर शाहीले ५७५ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका विष्णुबहादुर शाहीले ४८५ मत प्राप्त गरे । वडा सदस्य र महिला सदस्यमा काँग्रेस पराजित भएको छ भने दलित महिला सदस्यमा जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप