सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

शेखर कोइरालालाई मोरङमा धक्का

काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू भन्छन्, ‘पाठ सिकियो’
बुधबार, ०४ जेठ २०७९, २१ : ०५
बुधबार, ०४ जेठ २०७९

स्थानीय निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । देश भरमा एमाले दोस्रो अवस्थामा आइरहँदा मोरङमा भने काँग्रेस दोस्रोमा छ । प्रदेश १ भरको परिणाममा अग्रस्थानमा आइरहेको काँग्रेस यसपटक मोरङमा भने विगतमा जितेको पालिका संख्या घट्ने देखिएको छ । 

काँग्रेसका नेता डा.शेखर कोइरालाले अन्तिमसम्म मोरङमा गठबन्धन आवश्यक छैन भनेका थिए । काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू पनि निर्वाचन अघिसम्म गठबन्धन आवश्यक नहुने र काँग्रेस एक्लै लड्न सक्षम रहेको बताइरहेका थिए । तर परिणामले निक्कै तल राखिदिने संकेत दिएपछि काँग्रेसीहरुमा होस आएको छ । 

‘हामीले एक्लै लड्ने भन्यौं, तर, कतिपय उम्मेदवारको व्यवस्थापनको कारण जित्न सकेनौँ,’ गठबन्धन नगर्ने भनेर एक्लै जाने भन्दा पनि यस्तो भएको हो कि भन्ने प्रश्नमा लिम्बूले भने, ‘अलिअलि यसपटक पाठ सिकियो ।’
मोरङमा पुरानो साख बचाउनुपर्ने काँग्रेसलाई दबाब थियो । काँग्रेसले २०७४ सालको निर्वाचनमा ९ वटामा जितेको थियो । पछि फोरम लोकतान्त्रिकसँग एकतापछि काँग्रेसको स्थानीय तह जितेको संख्या १० पुगेको थियो । अहिलेसम्म आएका ७ वटा पालिकाको नजितामध्ये काँग्रेसले कटहरी, जहदा र मिक्लाजुङ गाउँपालिकामा जितेको छ । एमालेले भने केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिकामा जित निकालिसकेको छ । 

बाँकी रहेका पालिकाहरुमा पनि एमालेको उल्लेख्य अग्रता छ । एमालेको अझै ५ वटा पालिकामा अग्रता छ । उपप्रमुखमा त एमालेले ४ वटा जितिसकेको छ भने १० वटा पालिकामा अग्रता लिइरहेको छ । काँग्रेसले उपप्रमुख पद एउटा जितेको छ र एउटामा अग्रता छ । 

यसपटकको निर्वाचनमा एमालेलाई पुरानो साख बचाउँदै नयाँ थप्नुपर्ने चुनौती थियो । माओवादीले विगतमा पनि धेरै जितेको थिएन । यसपटक केही उपप्रमुख र वडामै उसले चित्त बुझाउने संकेत गरेको छ । हालसम्म माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख जितेको छ । तर, अन्य पालिकामा उसले अग्रता लिन सकेको छैन । प्रमुख र अध्यक्ष पदमा माओवादीले जित निकाल्ने कुनै संकेत छैन । यसअघि माओवादी केन्द्रले रंगेली नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको थियो । 

मोरङमा जसपा तथा नेकपा एकीकृत समाजवादीले वडामै चित्त बुझाउनुपर्ने हो कि भन्ने संकेत देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस नै यहाँका मुख्य प्रतिस्पर्धी थिए । तर, देशभरको माहौलले पहिलो पार्टी बनिरहँदा मोरङमा भने काँग्रेस एमालेभन्दा कम सिटमा थन्किनुपर्ने देखिएको छ । 

डा.शेखर कोइरालाले अन्तिमसम्म गठबन्धनको विरोध गरिरहे । कोइरालाको सोही बोलीमा मोरङका कांग्रेसीहरु पनि लागिरहे । मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बूले जिल्लामा गठबन्धन गराउने विषयमा ठोस पहल नै गरेनन् । माओवादी, नेकपा एस, जसपाले गठबन्धन गर्नुपर्छ भन्ने मान्यताका साथ छलफलको पहल गरिरहँदा लिम्बू भने स्थानीयस्तरमा भए ठिकै नभए ठिकै भन्ने मानसिकतामा थिए । नेपाली काँग्रेसले मोरङमा सबै पालिकामा जित्ने प्रक्षेपण गरेको थियो । जसको परिणाम उसले कुनै दलसँग गठबन्धन गरेन । 

काँग्रेसको अग्रता भएका पालिकामा गठबन्धन
मोरङका मिक्लाजुङ गाउँपालिका पनि स्थानीय स्तरमा भएको गठबन्धनकै कारण काँग्रेसले जित निकालेको हो । मोरङका सुन्दरहरैचा र रतुवामाई नगरपालिकामा पनि गठबन्धन भएकै कारण काँग्रेसका प्रमुखले अग्रता लिइरहेको छ ।

मोरङको विराटनगर महानगरपालिकामा पनि गठबन्धन नभएको थियो भने एमालेले पछार्ने स्पष्ट संकेत अहिलेको मत गणनाले दिइरहेको छ । गठबन्धन हुँदा झापा, धनकुटा, इलामजस्तो एमालेको प्रभाव क्षेत्रमा जितेको काँग्रेस मोरङमा कमजोर हुनु लज्जाको विषय भएको पत्रकार अनन्तराज न्यौपाने बताउँछन् ।

संघ र प्रदेशमा गठबन्धन नभए काँग्रेस झनै संकटमा
गठबन्धनको भविष्य स्थानीय चुनावसम्म मात्रै हो कि अझै अगाडि जान्छ भन्ने विषयमा बहस सुरु भएको छ । तर, गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म लानुपर्ने देशको आवश्यकता हो । 

काँग्रेस मोरङका पार्टी सभापति डिकबहादुर लिम्बूको १ नम्बर क्षेत्रमा पर्ने केराबारी गाउँपालिका एमालेले जितेको छ । उर्लाबारी नगरपालिका एमालेले जितेको घोषणा गर्न मात्रै बाँकी छ । लेटाङ नगरपालिकामा एमालेले जितिसकेको छ ।

गठबन्धनको कारण जित निकालेको मिक्लाजुङ गाउँपालिकामा पनि माओवादीको सहयोग नलिने हो भने उनलाई पनि जित निकाल्न सहज थिएन । क्षेत्र नम्बर २ मा पनि रतुवामाइ काँग्रेसले अग्रता लिएपनि सुनवर्षीमा एमाले अगाडि छ । २ नम्बर क्षेत्रमा पर्ने काने पोखरीका ३ वटा वडा एमालेले जितेको छ । ​ रंगेली नगरपालिका पनि एमालेले लिड गरिरहेको छ । 

३ नम्बर क्षेत्रमा पर्ने बेलबारी, कानेपोखरी, पथरी शनिश्चरेमा एमालेले अग्रता लिइरहेको छ । सुन्दरहरैंचामा केही मतले काँग्रेस अगाडि देखिएपनि उपप्रमुखमा एमाले अगाडि छ । ३ नम्बर क्षेत्र पनि काँग्रेसका लागि सुरक्षित देखिँदैन । 

४ नम्बर क्षेत्रमा पर्ने कटहरीमा काँग्रेस विजयी भएको छ । ग्रामथानमा काँग्रेस अगाडि छ । तर, ४ नम्बर क्षेत्रमा पर्ने बहुमत वडामा एमालेले जितेको छ । ४ नम्बर क्षेत्रमा पर्ने विराटनगरका प्रायः वडामा पनि एमालेले अग्रता लिएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ५ मा भने रंगेली र धनपालथानमा एमाले अगाडि छ । जहदा र विराटनगरका केही वडामा काँग्रेस तथा जसपाले जितेको छ । यसर्थ ५ नम्बर क्षेत्रमा पनि काँग्रेसको बलियो पकड देखिँदैन । 

डाक्टर शेखर कोइरालाको निर्वाचन क्षेत्र ६ मा पर्ने बुढीगंगामा एमालेले अग्रता लिएको छ । उनको क्षेत्रमा पर्ने विराटनगरका वडाहरु ४, ५, ६, ११, १२ र १६ हो ।  यी वडामा पनि कांग्रेसले एमालेसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । ४ नम्बर वडामा एमालेको अग्रता छ । १२ नम्बर वडामा जसपाको अग्रता छ । ५ र ६ नम्बरमा काँग्रेसको अग्रता छ ।

१६ नम्बर वडा काँग्रेसले जितेको छ । यी वडाको मत परिणाम पुरै आएपछि अझै शेखर कोइराला कति सुरक्षित छन् भन्ने स्पष्ट हुनेछ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मै पर्ने सुन्दरहरैंचाको नतिजाले पनि कोइरालाको जित वा हारको संकेत गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप