सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी

सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ ।
स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् । अबका ३ महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योल पैदा गरेको बताए ।
प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरूले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरूलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरूलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए ।
सहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजका क्षेत्रहरूमा यो उपाय सही साबित हुन सक्दैन । जस कारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरू लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताए ।
प्रधानाध्यापक कँडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको बताए । उनले सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए । प्रधानाध्यापक कँडेलले निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरूको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाए । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरूको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
क्यानडामा मतदान सुरु, को को छन् दौडमा ?