बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका ११ पालिकाको मतगणना ट्रेन्ड : ०७४ को नतिजामा उथलपुथल, फरक धारको पक्षमा मतदाता

बुधबार, ०४ जेठ २०७९, १२ : ४८
बुधबार, ०४ जेठ २०७९

काठमाडौँका सबै ११ स्थानीय तहको नतिजा ट्रेन्ड हेर्दा अघिल्लो निर्वाचनको नतिजामा उथलपुथल हुने देखिएको छ । अस्थिर मतदाता हुने भनेर चिनिने काठमाडौँमा २०७४ को तुलनामा यो निर्वाचनमा देखिएको नतिजाले यसलाई बल पुर्‍याएको छ । जस्तो कि काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले भारी मतको अग्रता बनाउँदा शंखरापुरमा पनि राप्रपाले कब्जा जमायो । यी दुई स्थानीय तहमध्ये शंखरापुरमा अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो भने खासै बलियो अवस्थामा नरहेको राप्रपाले जित हासिल गर्‍यो ।

पछिल्लो समय राप्रपाको पक्षमा जनमत बढेको भनेर दाबी गरिएको बेला पार्टीले काठमाडौँमै जीतको खाता खोलेको हो । राप्रपाको महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि राप्रपा केही जुरमुराएको जस्तो देखिन्छ । सोही पार्टीका नापितले शंखरापुरमा ४७०० मतका साथ विजय हासिल गरेका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा सो स्थानीय तहमा एमालेका सुवर्ण श्रेष्ठले विजय गरेपनि यो पटक एमालेले आफ्नो प्रभाव जोगाउन सकेन । 

यता काठमाडौँमा २०७४ सालमा विद्यासुन्दर शाक्य ६४९१३ मतका साथ विजयी हुँदा यो निर्वाचनमा उम्मेदवार रहेका केशव स्थापित जारी मतगणनामा कमजोर देखिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार गोकर्णेश्वरमा भने अलि फरक नतिजा देखिएको छ । गोकर्णेश्वर नगरपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस विजयी भएकामा अहिलेको मतगणना विवरणअनुसार एमालेको अग्रता देखिएको छ । टोखा नगरपालिमा एमालेको जितमा निरन्तरता रह्यो । अघिल्लो निर्वाचनमा प्रकाश अधिकारी एमालेबाट विजयी हुँदा यो पटक पनि विजयी भए । उनले काँग्रेसकी रजनी थापालाई झिनो मतान्तरले पराजित गरेका हुन् । 

यसैगरी कागेश्वरी मनोहरामा अघिल्लो निर्वाचनमा एमालेबाट कृष्ण हरि थापा विजयी भएका छन् । सो पालिकामा यो पटक भने काँग्रेसले अग्रता बनाएको छ । कीर्तिपुर नगरपालिकामा पनि एमालेको सत्ता खोसियो । सो पालिकामा अघिल्लो चुनावमा एमालेका रमेश महर्जन विजयी भएकामा यो पटक काँग्रेसका राजकुमार नकर्मी विजयी भए । यता अघिल्लो निर्वाचनमा चन्द्रागिरिमा घनश्याम गिरिले विजय हासिल गरेमा यो पटक पनि उनैले अग्रता बनाएका छन् । 

यसै गरी तारकेश्वर नगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका रामेश्वर बोहोरा ९३२६ मतका साथ विजयी भएकामा एमालेले योपटक नतिजा आफ्नो पक्षमा पार्न सकेन । त्यहाँ काँग्रेसका हरिकृष्ण महर्जनले ११ हजार ९८८ मतका साथ विजय हासिल गर्दै एमालेलाई पराजित गर्‍यो । दक्षिणकालीमा भने काँग्रेसले जितलाई निरन्तरता दियो । सो पालिकामा दोस्रो कार्यकालका लागि मोहन बस्नेतले आफ्नो मत समेत बढाए । अघिल्लो निर्वाचनमा उनले ४ हजार ६९८ मत पाउँदा यो पटक ७२१० मत पाए । 

यस्तै नागार्जुनमा अघिल्लो चुनावमा मोहन बहादुर बस्नेतले जीत हासिल गरेकामा यो पटक पनि काँग्रेसको अग्रता कायमै छ । बुढानीलकण्ठमा अघिल्लो निर्वाचनमा एमालेका उद्धव बहादुर खरेलले विजय हासिल गरेकामा यो पटक पनि एमाले जितका लागि संघर्षरत छ । एमालेलाई काँग्रेसका उम्मेदवार टक्कर दिइरहेको अवस्था छ । 

हालसम्म काठमाडौँमा ५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा काँग्रेस ३, राप्रपा १ र एमाले १ स्थानमा विजयी भएको छ । अघिल्लो चुनावमा एमालेले काठमाडौँका ७ पालिका जितेकामा काँग्रेसले ४ पालिका जितेको थियो । 

यो चुनावमा काँग्रेसको अवस्था सुध्रिएको जस्तो मतगणनाको रुझानले देखिएको सन्दर्भमा एमालेको अवस्था भने खराब देखिएको छ । यस्तै मतदाता परम्परागत राजनीतिक दलबाट दिक्क भएको पनि प्रारम्भिक नतिजाले संकेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप