शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

बुधबार, ०४ जेठ २०७९, १२ : २९
बुधबार, ०४ जेठ २०७९

सर्वोच्च अदालतमा अहिले पनि ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन् । तर प्रधानन्यायाधीशबाहेक अन्य २० न्यायाधीश रहने सर्वोच्च अदालतले समयमै मुद्दाको फर्छ्यौट गर्न नसक्दा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशहरुले पूरा समय न्यायालयलाई नदिने समस्या कारण मुद्दाको फैसला झन् झन् धकेलिँदो छ ।

यस्तो अवस्थामा सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय एक घण्टा बढाउने निर्णयसँगै सर्वोच्च अदालतलाई मुद्दा फर्छ्यौटमा थप दबाब परेको छ । तर दबाब बढे पनि न्यायाधीशहरू समयमै इजलासमा बस्ने र पूरा समय इजलासमै बसेर काम गर्छन् कि गर्दैनन् भन्ने चिन्ता थियो ।

अहिले कार्यालय समय बिहान ९ः३० मा खुले पनि इजलास भने त्यसको एक घण्टापछि अर्थात् बिहान १०ः३० बजेदेखि बस्ने व्यवस्था मिलाइएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार गोला तान्ने काम बिहान ९ः३० मा नै भएपनि इजलास बस्ने समय भने बिहान १०ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म रहेको छ ।

इजलास बस्ने समयमै सर्वोच्चका न्यायाधीशहरू इजलासमा बसे कि बसेनन् र पूरा समय काम गरे कि गरेनन् भनेर रातोपाटीले मंगलबार बिहान र बेलुका तथा बुधबार बिहान सर्वोच्च अदालतमै पुगेर इजलास बसेको नबसेको बारे अनुगमन गरेको थियो ।

मंगलबार केही न्यायाधीश ढिला इजलासमा, तर पूरा समय इजलासमा

सातामा दुई दिन बिदा दिने निर्णयपछि पहिलो दिन जेठ ३ गते बिहान ९ः३० मा गोला तानिए पनि केही न्यायाधीशहरू भने करिब ११ बजे मात्रै इजलासमा बसेका थिए । यद्यपि मंगलबार अधिकांश न्यायाधीशहरू साँझ ५ बजेसम्म र केही न्यायाधीश ५ः३० बजेसम्म पनि इजलासमै बसेर मुद्दाको सुनुवाइ गरेका थिए ।

बुधबार अधिकांश न्यायाधीश १०ः३० मै इजलासमा

सर्वोच्च अदालतमा बुधबार १० वटा इजलास गठन गरिएको छ । जसमा एउटा संवैधानिक इजलास, ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । एकल इजलास गठन भएका न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नहकुल सुवेदी संयुक्त इजलासमा पनि परेका कारण हरिप्रसाद फुयाँलको एकल इजलास खाजापछि बस्ने जनाइएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल सुष्मालता माथेमासँग संयुक्त इजलासमा बसिरहेका छन् भने नहकुल सुवेदी न्यायाधीश सपना प्रधान मल्लसँग संयुक्त इजलासमा बसिसकेका छन् ।

रातोपाटीको टिम बिहान १०ः३० मा अदालतमा पुग्दा संयुक्त इजलासमा समेत इजलास तोकिएका न्यायाधीशबाहेक अन्य सबै न्यायाधीशहरू समयमै इजलासमा बसिसकेका थिए । इजलास नम्बर २ का न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्मा बिहान १०ः२५ मै इजलासमा बसिसकेका थिए । इजलास नम्बर ३ का सुष्मालता माथेमा र हरिप्रसाद फुयाँल पनि १०ः३० मै इजलासमा बसेर सुनुवाइ सुरु गरिसकेका थिए ।

इजलास नम्बर ४ का न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठ पनि समयमै इजलासमा बसिसकेका थिए ।

इजलास नम्बर ७ का न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र नहकुल सुवेदी १० मिनेट ढिला अर्थात् १०ः४० मा इजलासमा बसेका थिए ।

इजलास नम्बर ८ का न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मी १०ः३० मै इजलासमा बसेका थिए । यद्यपि त्यहाँ १०ः४५ सम्म पनि मुद्दाका पक्ष र विपक्ष उपस्थित नहुँदा सुनुवाइ सुरु भएको थिएन । न्यायाधीशद्वय भने मुद्दाका पक्ष र विपक्षलाई कुरिरहेका थिए ।

दुई वा दुईभन्दा बढी इजलासमा परेका न्यायाधीशहरू एकल र संयुक्त इजलासमा एकैपटक बस्न नपाए पनि अन्य सबै न्यायाधीशहरू इजलास बस्ने समय अर्थात् बिहान १०ः३० मै इजलासमा बसेर मुद्दाको सुनुवाइ सुरु गरेका छन् । मंगलबार साँझ पनि अधिकांश न्यायाधीशहरू कम्तीमा साँझ ५ बजेसम्म इजलासमा बसेका थिए ।

तर कार्यालय समय १० देखि ५ बजेसम्म हुँदा अधिकांश न्यायाधीशहरू खाजा समयपछि इजलासमा बस्न आनाकानी गर्ने गरेका थिए । तर मंगलबार भने सबै न्यायाधीशले कम्तीमा ५ बजेसम्म इजलासमा बसेर राम्रो सुरुवात गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप