बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बानेश्वर विष्फोट : डस्नाले छोपेको ग्यास सिलिन्डरमा आगो झोसेर फरार

प्रहरी टोली दुर्घटनाबाट जोगिएको थियो
बुधबार, ०४ जेठ २०७९, १९ : ००
बुधबार, ०४ जेठ २०७९

 स्थानीय तह निर्वाचन शुरु हुनुअघि वैशाख ३० मा बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विष्फोट भयो । विहान करिब २ बजेतिर एउटा समूहले  ‘सिलिन्डर बम’ विष्फोट गराएको थियो । प्रहरीले सुरक्षा ‘थ्रेट’ आकलन नै नगरेको नेपाल कम्यूनिष्ट पार्टी (सिवादी)ले सो विष्फोट गराएको अनुसन्धानबाट थाहा भएको छ । नेकपा (सिवादी)ले घटनास्थलमा फालेको ‘पर्चा’को आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विष्फोटमा संलग्न ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुर घर भएका २८ वर्षीय युवराज थापा र खोटाङका भरत कुमार राई उर्फ ‘बिके सिंह’ छन् । 

काभ्रे घर भएका करण ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टीकाथली बस्छन् । करणको डेरा आसपासबाट उनीहरुले ग्यास सिलिन्डर किनेर बानेश्वरमा ल्याए । सिलिन्डरबाट ग्यास लिक गराएर डस्नाले छोपेर पेट्रोल छर्किए । अनि, आगो झोसेर उनीहरु भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । संसद भवन अगाडी आगो लागेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरे ।

प्रहरी वृत बानेश्वरबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा पुग्यो । डस्नाले छोपेको सिलिन्डरबाट ग्याँस निस्किरहेको थियो, आगो दन्किरह्यो । ठुलो आवाज सहित अचानक सिलिन्डर पड्कियो । घटनास्थलमा खटिएको प्रहरी टोली ठुलो क्षती हुनबाट जोगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी पुग्नुभन्दा केही समयको अन्तरालमा विष्फोट हुँदा हाम्रो टोली दुर्घटनाबाट जोगिएको थियो ।’ 

विष्फोटबाट बानेश्वरको ‘दृष्टि आँखा केन्द्र’ र ‘साइन ग्लोबल कन्सल्टेन्सी’मा क्षती पुग्यो । राजधानीमा निर्वाचनको दिन विष्फोट गराउने समूह नेपाल कम्युनिष्ट पार्टी (सिवादी) रहेका अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (सिवादी) यसअघि सुरक्षाकर्मीको निगरानीमा थिएन । सुरक्षा निकायले निर्वाचनमा ‘थ्रेट’को रुपमा सो समूहलाई राखेको थिएन । नेकपा ‘विप्लव’ समूहबाट चोइटिएको भनिएको सो समूह पछिल्लो समय आतंक मच्चाउन सक्रिय हुन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

सिलिन्डर विष्फोट गराउने समूहबारे अनुसन्धान गर्न ‘अप्रेशन इको शिरा’ नामक अप्रेशन संचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विष्फोटमा संलग्न मध्येका आरोपी भरत कुमार राई यसअघि हातहतियार खरखजाना तथा बैंकिङ कसुर र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर छुटेका थिए । 

आरोपीहरु माथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला  अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप