शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ : मत परिणाम घोषणा भइसकेका ५ जिल्लामा काँग्रेस हाबी

बुधबार, ०४ जेठ २०७९, ११ : ३३
बुधबार, ०४ जेठ २०७९

४२ पालिकामध्ये २० वटामा काँग्रेसको नेतृत्व, एमाले १४ वटामा विजयी

प्रदेश १ का १४ मध्ये ५ जिल्लाका सबै स्थानीय तहको निर्वाचन परिणाम घोषणा भइसकेको छ । ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र ओखलढुंगाको सबै पालिकाको मत परिणाम घोषणा भइसकेको हो ।

ताप्लेजुङमा ९, संखुवासभामा १०, तेह्रथुममा ६, भोजपुरमा ९, ओखलढुंगामा ८ पालिका छन् । पाँच जिल्लाका ४२ पालिकामध्ये २० वटा पालिकाको नेतृत्व काँग्रेसले पाएको छ । एमालेले १४ पालिकाको नेतृत्व पाएको छ । यस्तै, माओवादी केन्द्रले ५, स्वतन्त्रले दुई र जसपा नेपालले एक पालिकाको नेतृत्व जितेको छ ।

ताप्लेजुङका ९ पालिकामध्ये नेपाली काँग्रेसले एक नगरपालिका र ३ गाउँपालिका गरी जम्मा ४ पालिकाको नेतृत्व पाएको छ । यस्तै नेकपा एमालेले तीन र नेकपा माओवादी केन्द्रले दुई पालिकाको नेतृत्व पाएको छ ।

यस्तै, संखुवासभाका १० पालिकामध्ये नेपाली काँग्रेसले ६ पालिका र एमालेले चार पालिका जितेको छ । काँग्रेसले दुई नगरपालिका र चार गाउँपालिकाको नेतृत्व जितेको हो । एमालेले भने तीन नगरपालिका र एक गाउँपालिका जितेको छ ।

खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको हो । नेकपा एमालेले चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका र मादी नगरपालिकाको प्रमुख जितेको छ ।

जिल्लाका पाँच गाउँपालिकामध्ये काँग्रेसले चार वटा गाउँपालिकाको नेतृत्व पाएको छ । काँग्रेसले जितेका गाउँपालिकामा चिचिला, मकालु, सभापोखरी र सिलीचोङ गाउँपालिका हुन् । भोटखोला गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमाले विजयी भएको छ ।

तेह्रथुम जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका गरी जम्मा ६ पालिका छन् । तीमध्ये काँग्रेस र एमालेले तीन–तीन पालिकाको अध्यक्ष जितेका छन् । दुई नगरपालिकामध्ये काँग्रेस र एमालेले एक–एक नगरपालिकाको नेतृत्व जितेका छन् । काँग्रेसले लालिगुँरास नगरपालिका र एमालेले म्याङलुङ नगरपालिकाको प्रमुख जितेको हो ।

यस्तै, गाउँपालिकातर्फ काँग्रेसले आठराई गाउँपालिका र फेदाप गाउँपालिकामा अध्यक्ष जितेको छ । छथर गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकामा एमाले विजयी भएको छ ।

भोजपुरका ९ पालिकामध्ये दुई नगरपालिका र ७ गाउँपालिका छन् । जसमध्ये काँग्रेसले तीन पालिकाको नेतृत्व काँग्रेसले जितेको छ । एमालेले पनि तीन पालिकाको नेतृत्व जितेको छ । यस्तै दुई पालिका माओवादी केन्द्रले र एक पालिकाको नेतृत्व स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

दुई नगरपालिकामध्ये एउटामा काँग्रेस र अर्कोमा एमालेले प्रमुख पद जितेको छ । काँग्रेसले भोजपुर नगरपालिका र एमालेले षडानन्द नगरपालिका प्रमुख जितेको हो ।

यस्तै गाउँपालिकातर्फ काँग्रेसले दुई वटामा अध्यक्ष जितेको छ । काँग्रेसले अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष जितेको हो । एमालेले पनि दुई गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले पौवादुङमा र हतुवागढी नगरपालिकाको अध्यक्ष जितेको हो । माओवादी केन्द्रले पनि दुई वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादीले अध्यक्ष जितेका गाउँपालिकामा आमचोक र रामप्रसाद राई गाउँपालिका छन् । साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन् ।

ओखलढुंगामा एक नगरपालिका र ७ गाउँपालिका गरी ८ पालिका छन् । तीमध्ये काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका गरी जम्मा ४ पालिकाको नेतृत्व जितेको छ ।

काँग्रेसले सिद्धिचरण नगरपालिकाको मेयर जितेको छ । यस अतिरिक्त चम्पादेवी, लिखु र सुनकोशी गाउँपालिकाको अध्यक्ष पनि काँग्रेसले जितेको हो ।

यस्तै, एमाले, माओवादी केन्द्र, जसपा नेपाल र स्वतन्त्रले एक–एक गाउँपालिकाको अध्यक्ष जितेका छन् । एमालेले मेलुङ, माओवादी केन्द्रले चिशंखुगढी, जसपा नेपालले खिजिदेम्वा र स्वतन्त्रले मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप