बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा एक शाखाबाट सुरु भएको एनआईसी एशिया बैंकको सफलताको कथा

बुधबार, ०४ जेठ २०७९, ११ : ०२
बुधबार, ०४ जेठ २०७९

विराटनगर पूर्वको केन्द्रविन्दु त छदै थियो, त्यसमाथि भारतसँग सीमा जोडिएकाले देशकै प्रमुख नाका पनि बन्यो । साढे दुई दशक अघि विराटनगर व्यापारिक केन्द्रको रूपमा स्थापित हुँदै गर्दा यस शहरलाई आफ्नै बैंकको आवश्यकता बढ्दो थियो । त्यही आवश्यकतालाई बुझेर व्यावसायिक घरानाले पूर्वी क्षेत्रीय बैंकको रूपमा विराटनगरमा नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल (एनआईसी) बैंक लिमिटेड स्थापना गर्‍यो ।

वि.सं. २०५५ साउन ५ गते (१९९८ जुलाई २१) मंगलबारको दिन विराटनगरस्थित मेनरोडमा रजिष्टर्ड कार्यालय रहने गरी एनआईसी बैंक स्थापना भयो । एउटा शाखाबाट सुरु गरेको बैंकमा १९ जना कर्मचारी थिए । ८ करोड १२ लाख ५० हजार चुक्ता पूँजी सहित विराटनगरमा केन्द्रीय कार्यालय रहेर एक क्षेत्रीय बैंकको सुरुवात भयो । 

यस बैंकको सुरुवातसँगै विराटनगर वासी उत्साहित थिए । बैंकको उद्देश्य विराटनगर सहर केन्द्रित हुनु मात्र थिएन, दूरदराजमा बसोबास गर्ने ग्रामीण जनतालाई बैंकिङ्ग सञ्जालमा ल्याउने प्रमुख उद्देश्य थियो । दूरदराजका ग्राहकलाई सेवा दिने उद्देश्य राखेर एनआईसी एशिया बैंकका सञ्चालक समितिमा थिए जगदीशप्रसाद अग्रवाल (अध्यक्ष), लोकमान्य गोल्छा (सञ्चालक), सुभासचन्द्र संघई (सञ्चालक), तुलसीराम अग्रवाल (सञ्चालक), वासुदेव गोल्याण (सञ्चालक), निर्मलकुमार अग्रवाल (सञ्चालक), सीताशरण पाण्डे (सञ्चालक) र श्याम सापकोटा (कम्पनी सचिव) थिए ।

यो बैंक सञ्चालनमा आएको २४ वर्ष पुगिसकेको छ । यस अवधिमा बैंकले प्रगतिको छलाङ्ग मारेर शिखरको चुचुरोमा पुगिसकेको छ । विराटनगरमा क्षेत्रीय स्तरमा रहेको बैंक काठमाडौं आएर मुलुकभरमात्र फैलिएको छैन, सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकलाई उछिन्दै देशकै ‘नम्बर वान’ बैंक बन्न सफल भएको छ । खुद नाफा, निक्षेप, कर्जा, स्वपूँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, ग्राहक सङ्ख्या, एटीएम सङ्ख्या लगायतमा यो बैंक अरूभन्दा धेरै अगाडि छ ।

तत्काललाई मात्र फाइदा नहेरेर दूरदृष्टि राख्ने बैंकका संस्थापक, कर्मचारीहरूको लगातारको मेहनत र परिश्रम, सफल योजना, मर्जर नीति, ग्राहकलाई केन्द्रमा राखेर तय गर्ने प्रोडक्टहरुलगायतले यो बैंक ‘नम्बर वान’ बन्न सफल भएको हो । हरेक सफलताको पछि कसैको हात रहन्छ भनिन्छ । यदि एनआईसी एशिया बैंकको सफलताको पछाडि कसैको हात छ भने त्यो हात हो यस बैंकलाई मनै देखि विश्वास गर्ने लाखौं ग्राहकहरू । बैंकले ग्राहकको सुविधाको लागि एक एक इटा थप्दै गयो, त्यसलाई ग्राहकहरूले आत्मसात् गर्दै गए । त्यसैको फलस्वरूप आज एनआईसी एशिया बैंक बनेको छ मुलुकको ‘नम्बर वान’ बैंक ।

विराटनगरको एनआईसीबाट सुरु भएको प्रगतिको ग्राफ

विराटनगरमा एनआईसी बैंक स्थापना भएको अर्को वर्षदेखि नै अत्यधिक सफलता पाउन थालिसकेको थियो । यसको पहिलो उदाहरण हो शेयर निष्कासनमा आएको सर्वसाधारणको उच्चतम सहभागिता ।

बैंकले आर्थिक वर्ष २०५६/०५७ मा १७.५ करोडको प्राथमिक शेयर निष्कासन गरेको थियो । उक्त आवेदनमा ८ गुणाभन्दा बढीले शेयर हाले । यो आवेदनलाई छोटो समयमै सर्वसाधारणले बैंकप्रति गरेको अभूतपूर्व विश्वास र भरोसाको प्रतिविम्ब भएको ठान्छन् यस बैंकका संस्थापकहरू । यस शेयर निष्कासनले तत्कालीन अवस्थामा नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा बढी आवेदन रकम संकलन भएको प्राथमिक शेयर निष्कासनको इतिहास समेत रहेको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै बैंकले सुरुवातदेखि नै पृथक, आधुनिक र सेवाग्राही केन्द्रित बैंकको रूपमा परिचित गराउने प्रयास गर्‍यो ।

६ वर्ष मै यस बैंकले ठूलो सफलता प्राप्त गरिसकेको थियो । एनआईसी एशिया बैंक यस्तो बैंक हो जसले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । उसले सन् २००३ मा नै ‘एनआईसी लाइफ सेभिङ अकाउन्ट’ ल्याएको थियो । ग्राहकको आवश्यकतालाई बुझेर एनआईसीले अर्को वर्ष नेपालमै पहिलो पटक सबैभन्दा सस्तो दरमा ‘घर सुविधा’ प्रोडक्टमार्फत होम लोनको सुविधा ल्यायो । यो बैंक ‘होम लोन’को सुविधा ल्याउने अग्रणी बैंकमा पर्छ ।  बैंकले प्रगति गर्दै जाँदा विभिन्न अवार्ड र सर्टिफिकेसन पाउन थाल्यो । त्यो पनि अन्य सफल वाणिज्य बैंकलाई उछिन्दै ।

स्थापना भएको ९ वर्षमै आर्थिक वर्ष २०६६/६७ मा ‘आई एस ओ ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्‍यो । यो सर्टिफिकेट मुलुकको बाणिज्य बैंकहरूमा सबैभन्दा पहिलो थियो । एनआईसीले क्वालिटी म्यानेजमेन्ट सिस्टमको लागि उक्त सर्टिफिकेसन प्राप्त गरेको थियो । यही बेला बैंकले मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गर्ने पहिलो बैंक बन्यो । अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेट प्राप्त गरेसँगै बैंकले अन्तर्राष्ट्रिय स्तरकै अवार्ड हात पार्न सुरु गर्‍यो । स्थापना भएको १० वर्ष नपुग्दै बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गर्‍यो । यसले एनआईसीलाई विश्वस्तरमा ‘रिकग्नाइज’ हुने अवसर प्राप्त भयो ।

एनआईसीले सुरुदेखि नै केही नयाँ, पृथक र बजारको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको थियो । यसैको फलस्वरूप बैंकले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ्ग च्यानल मार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गर्‍यो ।  त्यही बेला बैंकले ‘एनआईसी सुपर डिपोजिट’ अफर ल्याएको थियो । जुन बैंकिङ्ग इतिहासमा पहिलो उच्च ब्याजदर दिने ‘फिक्स्ड डिपोजिट स्किम’ थियो । त्यस्तै, ग्राहकको सुविधाको लागि भनेर बैंकले २००८ देखि डोमेस्टिक रेमिट्यान्स सुरु गर्‍यो । यो सुविधा आएपछि जुनसुकै शाखाबाट पठाएको पैसा पठाउन सकिने भयो । बैंकले गरेको नयाँ, नौला र ग्राहकको विश्वास जित्दै गएपछि अवार्ड र सर्टिफिकेट थपिदै गए । सन् २००९ मा बैंकले पुनः आइएसओः ९००१ : २००८ बाट सम्मानित भयो । यसै वर्ष बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि सुरु गर्‍यो ।

एनआईसी र बैंक अफ एशिया नेपाल मर्जरले रचेको इतिहास

आजभोलि बैंकिङ्ग क्षेत्रमा मर्जर र एक्विजिसनको ठूलो चर्चा छ । नेपाल राष्ट्र बैंकले ‘बिग मर्जर’को नीति ल्याएसँगै मर्जरले चर्चा पाएको हो । बजारमा सफल रहेका बैंकहरू नै मर्जरमा गएपछि भने बजारमा आफ्नो अस्तित्व जोगाउन अन्य प्रतिस्पर्धी बैंक पनि मर्जमा जानै पर्ने बाध्यता भएको छ । अहिले केही ठूलो बैंक मर्जरमा जाने चर्चा भइरहेको भए पनि एनआईसी भने सात वर्षअघि नै बिग मर्जरमा गएर मुलुकको उदाहरणीय बैंक बन्न सफल भएको छ ।

एनआईसी बैंक सफलरुपमा तीव्र ‘ग्रोथ’ गर्दै अगाडि बढिरहेको थियो । त्यही बेला त्यस्तै प्रगति गरेको अर्को बैंक थियो बैंक अफ एशिया नेपाल । उक्त बैंकले सन् २००७ देखि नै आफ्नो कारोबार सुरु गरेको थियो । दुबैं बैंक आपसमा गाभिने निर्णय गरे । यो निर्णय नेपालको बैंकिङ्ग क्षेत्रमा नै ऐतिहासिक थियो ।  नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक दुईवटा सवल ‘क’ वर्गका वाणिज्य बैंकहरू एकआपसमा गाभिएर इतिहास पनि एनआईशीले रचेको छ ।

२०७० साल असार १६ गते तत्कालिन नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआईसी) मा बैंक अफ एशिया नेपाल लिमिटेड मर्ज भई एनआईसी एशिया बैंक बन्यो । मर्जपछि एनआईसी एशिया बैंक पूँजी संरचना मजबुत, ग्राहक आधार फराकिलो, सवल तथा मजबुत बैंकको रुपमा रुपान्तरित भयो । मर्जर नीतिले सकारात्मक लय लिएपछि एनआईसी एशिया बैंक आज देशकै नम्बर वान बैंक बन्न सफल भएको छ । आजको दिन एनआईसी एशिया बैंकको ग्रोथको यही रफ्तारलाई भेट्याउन नसक्ने भएपछि प्रतिस्पर्धी बैंकहरू पनि धमाधम मर्जमा जान थालेका छन् ।

मर्जमा नगइकन एनआईसी एशिया बैंकलाई भेट्याउन गाह्रो छ भन्ने अनुभव प्रतिस्पर्धी बैंकलाई भइसकेको छ । यो एनआईसी एशिया बैंकको लागि पनि सुखद कुरा पनि हो । यसले मुलुकको वित्तीय क्षेत्र सुधार मात्र गर्ने छैन, नेपालमा सवल बैंकिङ्ग प्रणाली स्थापना हुनेछ । दुई बैंक मर्जरमा गएपछि एकीकृत कारोबार सुरु गरेर लय समातिसकेको थियो । बैंक मर्जरमा गएको लगत्तै एनआईसी एशिया बैंकले पुनः ‘बैंक अफ दि इयर २०१३’ बाट सम्मानित भयो । यस्ता अवार्ड एवं सर्टिफिकेसनले बैंक लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूमा उत्साह थप्दै गयो । यसले अझ प्रभावकारी र परिस्कृत काम गर्न ऊर्जा मिलेको बैंकको भनाइ छ ।

स्ट्राटेजी २०२० र प्राप्त सफलता

बैंकले सधै दूरदृष्टि राखेर योजना बनाउने र त्यसलाई सफल कार्यान्वयन गर्दै आएको छ । दीर्घकालीन योजनाको तर्जुमा र उक्त योजनाको प्रभावकारी कार्यान्वयनले व्यवसायीक सफलता हासिल गर्न सकिन्छ भन्ने मान्यता बैंकले राख्दै आएको छ । यही मान्यताका आधारमा सन् २०१४ मा बैैंकले पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ ( स्ट्राटेजी २०२० ) तयार गरी कार्यान्वयनमा ल्यायो । बैंकले सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख कार्ययोजनामा राख्दै आएको छ । बैंकले अहिलेसम्म हरेक वर्ष सामाजिक उत्तरदायित्वका धेरै काम गरिसकेको छ । यसको सबैभन्दा राम्रो उदाहरण हो २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट पीडितहरूलाई सहयोग ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकिङ्ग इतिहासमै पहिलो पटक एकै वर्ष ५३ वटा शाखा खोलेर बैंकले इतिहास रच्यो । बैंकले आफ्नो मूल उद्देश्यमा अघि बढिरहेको बेला यसले व्यवसायमा थप विस्तार गर्दै गएको छ । बैंकका वित्तीय तथा रणनीतिक उद्देश्यहरू प्राप्तिको लागि अन्य सहायक कम्पनीहरु स्थापना गर्दै गयो । यसै शिलशिलामा सन् २०१७ मा बैंकले एनआईसी एशिया क्यापिटल लिमिटेडको स्थापना गर्यो । साथै, एनआईसी एशिया रेमिट पनि सुरुवात भयो । अर्को वर्ष एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको औपचारिक रुपमा सुरुवात भएको थियो ।

बैंकका योजना कति सफल छन् भन्ने उदाहरण सन् २०१४ मा तय गरिएको पञ्चवर्षीय योजना हो । सन् २०२० सम्ममा प्राप्त गर्ने विभिन्न लक्ष्य तय गरिएको थियो तर बैंकले भने चार वर्षको अवधिमै पञ्चवर्षीय योजना ‘स्ट्राटेजी २०२०’ प्राप्त गर्न सफल भएको छ । उक्त योजनाले आर्थिक वर्ष सन् २०१९/२० सम्ममा बैंकको कर्जा, निक्षेप, नाफा, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी लगायतका सबै प्रमुख परिसूचकहरूमा बैैकिङ क्षेत्रकै उत्कृष्ट उपलब्धि हासिल गर्ने लक्ष्य लिइएको थियो । यो लक्ष्य भने एक वर्षअघि नै प्राप्त भइसकेका थिए ।

यस सफलताले बैंकले प्राप्त गर्न सकिने सहि योजानामात्र तय गरेर ग्राहकलाई साच्चिकै प्रतिफल दिन सक्छ भन्ने पुष्टि गर्छ । कतिपय बैंकले ठूला महत्वाकांक्षी योजना तय गरे पनि ति समयमै पूरा भएका देखिदैंनन् । जसले गर्दा ग्राहकले आश गर्ने एउटा, प्रतिफल अर्को हुनपुग्छ । यस मामिलामा भने एनआईसी एशिया बैंक निकै सफल देखिएको छ । यो वर्ष नै बैंक लोन प्रोर्टफोलियो, डिपोजिट ‘नम्बर वान’ बन्न सफल भयो । स्ट्राटेजी २०२० प्राप्त भएसँगै बैंकले १८–२२ स्ट्राटेजी तय गरी कार्यान्वयन गरिरहेको छ ।

अन्ततः ‘नम्बर वान बैंक’को ताज

२४ वर्ष अघि विराटनगरको एक शाखाबाट सुरु भएको बैंक आज राष्ट्रिय स्तरकै नम्बर वान बैंकको ताज पहिराउनु चानचुने कुरा होइन । बैंकले लिएका सहि नीति, योजना, मर्जरको सही निर्णय र कार्यान्वयन, पञ्चवर्षिय योजना र सफल कार्यान्वयन लगायतका विभिन्न कारणले अन्ततः एनआईसी एशिया बैंक मुलुकको नम्बर वान बैंक बन्न सफल भएको छ । पञ्चवर्षीय योजना तय गर्दै मुलुककै नम्बर वान बैंक बनाउनमा सबैभन्दा कान्छा प्रमुख कार्यकारी अधिकृत (सीइओ) भनेर चर्चित रोशन कुमार न्यौपानेको ठूलो हात छ । उनले तय गरेको योजना र दूरदृष्टि भिजनले बैंकले ठूलो सफलता प्राप्त गरेको छ । अहिलेको समयसम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआईसी एशिया बैक ‘नम्बर वान’ भनेर लिडिङ पोजिसनमा छ । शाखा सञ्चालनमा पनि बैंक सबैभन्दा अघि छ । यसले हालसम्म ३५९ शाखा सञ्चालन गरिसकेको छ । यो भर्खर मर्जरमा जाने भनेर अगाडी बढिरहेको नबिल बैंक र नेपाल बंगालदेशका कुल शाखाभन्दा धेरै हुन् । त्यस्तै सञ्चालनमा रहेका एटीएमको संख्या पनि ४७३ पुगेका छन् । हातहातमा मोबाइल बैंकिङ्ग सेवा पु¥याउन पनि एनआईसी एशिया बैंक सफल छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै मोबाइल बैंकिङ्ग एप प्रयोग भइरहेको छ । जुन हालसम्म १७ लाख पटकभन्दा बढी डाउनलोड भइसकेको छ । जुन नेपालका अन्य बैंकहरूको भन्दा धेरै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप