शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभामा ८ विधेयक पेस

मङ्गलबार, ०३ जेठ २०७९, २१ : ०९
मङ्गलबार, ०३ जेठ २०७९

प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलबारबाट सुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । 

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरेकी छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्बन गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए । 

नियम निलम्बनको प्रस्तावमा  जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए । प्रतिनिधि सभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप