शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी

मङ्गलबार, ०३ जेठ २०७९, २१ : ०२
मङ्गलबार, ०३ जेठ २०७९

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० मेमा  ‘लण्डन टु पेरिस च्यारिटी राइड’ नामक साइकल यात्रा गर्न लागेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ रहेका छन् । लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइक्लिङ गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य उनको टिमको रहेको छ ।

‘हामीहरूको म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छं,’ अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास सायद पहिलो चोटी हुँदैछ ।’ तीन साता अघिदेखि मात्रै तयारी गरेका उनको  यात्राको योजना ४ वर्ष अगाडिको हो । पहिल्यै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल योजना पुरा भएको जोशीको भनाई रहेको छ । यात्राका लागि लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइरहेका उनले आफू सफल हुनेमा पूर्ण विश्वस्त छन् । साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरू स्वयंले नै ब्यहोर्नेछन् । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन् । 

उलवीच अर्सेनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उनले बताए । उनले यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जो कोहीले पनि जस्ट गिभिङ नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन् । अनाथ बालबालिकाका लागि बिश्वभरबाट माया, साथ, सहयोग र हौसला दिनुहुन उनले सबैलाई अनुरोध पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप