‘स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन’

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाएका हुन् ।
उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका सांसद डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको बताए । आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए । उनले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताए । निर्वाचनमा धाँधली हुँदा समेत निर्वाचन आयोग मुग्दर्शक भएर बसेको उनले आरोप लगाए । निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन नसकेको उहाँले जिकिर गर्नुभयो ।