बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा गठबन्धनले गडबड : यसरी गुमायो काँग्रेसले आफ्नो गढ, एमालेलाई कतै लाभ कतै हानि

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ४५
मङ्गलबार, ०३ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि दार्चुलाका ९ वटा पालिकाको नतिजालाई विश्लेषण गर्ने हो गठबन्धनले खासै प्रभाव पारेको देखिन्न । केही पालिकाका सत्तारुढ गठबन्धनका बाबजुद एमालेले शानदार जित हासिल गरेकोमात्र होइन, विगतमा नेपाली काँग्रेसले जितेका पदमा समेत बाजी मारेको छ ।

केही पालिकामा भने गठबन्धनका कारण एमालेले आफ्नो वर्चश्व गुमाउनु परेको देखिन्छ । यतिमात्र होइन, गठबन्धन घटक बीचको तालमेलबाट फाइदा हुन्छ भन्ने भ्रम पनि काँग्रेसको हकमा तोडिएको उदाहरण दार्चुलाकै व्यास गाउँपालिकाको मत परिणामले दिएको छ ।

अपिहिल गाउँपालिका : अघिल्लो निर्वाचनमा पराजित भएकाहरु गठबन्धनको बलमा निर्वाचित

अपिहिल गाउँपालिकामा सत्तारुढ गठबन्धनले नेकपा एमालेको वर्चश्व तोडेको छ । २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद जितेको एमाले यसपटक सत्तारुढ गठबन्धन सामु निरीह भएको हो ।

पालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले जित हासिल गरेको छ । उल्लेखनीय छ, अहिले अध्यक्ष र उपाध्यक्षमा विजयी भएका दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा सोही पदमा पराजित भएका थिए ।

पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तसिंह ठेकरे (बोहरा) निर्वाचित भएका हुन् । उनले २ हजार ३१२ मत पाए ।

अध्यक्षमा एमालेका धर्मानन्दसिंह मन्यालले एक हजार ३८५ मत पाए । २०७४ को निर्वाचनमा उनी अध्यक्षमा एक हजार २४९ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला काँग्रेसका लोकेन्द्रसिंह लोथ्यालले ९२२ र नेकपा माओवादी केन्द्रका भक्तसिंह ठेकरे (बोहरा)ले ९८८ मत पाएका थिए ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । उनले २ हजार २७ मत प्राप्त गरिन् । उनी २०७४ सालको निर्वाचनमा उपाध्यक्षमै पराजित भएकी थिइन् ।

उपाध्यक्षमा एमालेकी उर्मिला बोहराले एक हजार ३९१ मत पाइन् । बोहरा २०७४ सालको निर्वाचनमा एक हजार ३३६ मतसहित विजयी भएकी थिइन् । त्यतिबेला नेकपा माओवादी केन्द्रका दिलमाया लोथ्यालले ८०० र नेपाली काँग्रेसकी देवकीदेवी बोहराले ९१३ मत पाएकी थिइन् ।

दुहुँ गाउँपालिका : एमालेलाई लाभ
२०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष गरी दुवै पद जितेको काँग्रेसलाई चक्मा दिँदै एमालेले दुहुँ गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । नेकपा एमालेका नरेन्द्रबहादुर सिंह वडाल २ हजार ८८६ मतसहित अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा नेपाली काँग्रेसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ७९६ मत पाए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी शान्तिदेवी बम २ हजार ८४२ मतसहित विजयी हुँदा एमालेकी ताराकेशरी देवी कुँवरले २ हजार ८३१ मत पाइन् ।

नौगाड गाउँपालिका : निवर्तमान अध्यक्ष र उपाध्यक्ष नै पराजित

यो पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजीत सिंह धामी ३ हजार ७८३ मतसहित विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका प्रेमसिंह धामीले ३ हजार २७७ मत पाए । उनी निवर्तमान अध्यक्ष हुन् ।

२०७४ सालको निर्वाचनमा प्रेमसिंह धामी २ हजार २८९ मतसहित निर्वाचित भएका थिए । उनले यस पटक आफ्नो मत संख्यामा सुधार गरे पनि गठबन्धनसामु पराजय टार्न सकेनन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित विजयी भएका छन् । एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाइन् । उनी निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को निर्वाचनमा ठगुन्नाले २ हजार ३०६ मत पाएकी थिइन् ।

व्यास गाउँपालिका : तालमेलका बाबजुद काँग्रेसले गुमायो

व्यास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा २०७४ सालको निर्वाचनमा काँग्रेस विजयी भएको थियो तर यस पटक काँग्रेसले माओवादी केन्द्रसँगको तालमेलमा दुवै सिट गुमाएको छ ।

यो पालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेलका बाबजुद नेकपा एमालेका मंगलसिंह धामी २ हजार ९४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिलीपसिंह बुढाथोकीले २ हजार ३९६ मत पाए । बुढाथोकी २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्रसँगको तालमेलका बाबजुद काँग्रेसका उम्मेदवार अध्यक्षमा पराजित भए पनि उपाध्यक्षमा भने काँग्रेसकै समर्थनमा माओवादी केन्द्रका विनोदसिंह कुँवरले २ हजार ५१२ मतसहित जित हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी चन्द्रादेवी कुँवरले २ हजार ४९७ मत पाइन् । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवार थिइन् । त्यतिबेला उनले ८१६ मत ल्याएर पराजित हुनु परेको थियो ।

महाकाली नगरपालिका : काँग्रेसको गढमा एमालेको प्रभावशाली जित

२०७४ को निर्वाचनमा काँग्रेसले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले बाजी मारेको छ । प्रमुखमा नेकपा एमालेका नरसिंह चैंसिर ५ हजार ३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८८७ मत पाए । भट्ट निवर्तमान प्रमुख हुन् । उनले २०७४ को निर्वाचनमा ४ हजार ४३ मत पाएका थिए ।

२०७४ को निर्वाचनमा भट्टसँग ५६७ मतले प्रमुखमा पराजित भएका एमालेका चैंसिरले यस पटक एक हजार ११६ मतको फराकिलो अन्तरमा जित निकालेका हुन् । भट्टले अघिल्लो निर्वाचनको तुलनामा यसपटक आफ्नो मतसमेत घटाए ।

उपप्रमुखमा नेकपा एमालेका दुर्गाकुमारी खत्री ४ हजार ६३६ मतसहित विजयी हुँदा नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाइन् । बोहरा निवर्तमान उपप्रमुख हुन् ।

मार्मा गाउँपालिका : अध्यक्षमा एमालेका उम्मेदवार दोस्रो पटक पराजित

मार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जमनसिंह धामी ३ हजार ६१६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवसिंह महरले २ हजार ९१४ मत प्राप्त गरे । अध्यक्षमा विजयी भएका धामी २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमै निर्वाचित भएका थिए । एमालेका देवसिंह महर दोस्रो पटक धामीसँगै पराजित भएका हुन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका शर्मिलाकुमारी चन्द सिंह ३ हजार ८८ मतसहित विजयी हुँदा नेकपा एमालेका राजु धामीले २ हजार ७०८ मत प्राप्त गरे ।

मालिकार्जुन गाउँपालिका : तालमेलका बाबजुद निवर्तमान अध्यक्ष पराजित

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामीले ४ हजार ३४ मतसहित जित हासिल गर्दा नेपाली काँग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत पाए । नरेन्द्र सिंह निवर्तमान अध्यक्ष हुन् । माओवादी केन्द्रसँगको तालमेलका बाबजुद उनले पराजय टार्न सकेनन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामीले ३ हजार ५६६ मतसहित जित हासिल गर्दा नेकपा एमालेकी गोमती भट्टले ३ हजार २६६ मत पाइन् ।

लेकम गाउँपालिका L तालमेलले माओवादी केन्द्रलाई फाइदा

लेकम गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामदत्त जोशीले २ हजार ९७६ मत प्राप्त गरी जित हासिल गर्दा नेकपा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गरे । परमानन्द निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा नेकपा एमालेका माधवी जोशी २ हजार ६८५ मतसहित विजयी भएकी छन् । उनी २०७४ सालको निर्वाचनमा पनि उपाध्यक्षमा विजयी भएकी थिइन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी सुना जोशीले २ हजार ५५४ मत प्राप्त गरिन् । माओवादी केन्द्रसँग तालमेल गरे पनि अध्यक्षको हाराहारीमा उपाध्यक्षमा मत नजाँदा काँग्रेसबाट उपाध्यक्षमा उम्मेदवार बनेकी जोशी पराजित भएकी हुन् ।

शैल्यशिखर नगरपालिका : काँग्रेसले गुमायो प्रमुख र उपप्रमुख

२०७४ को निर्वाचनमा शैल्यशिखर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको नेपाली काँग्रेसले यसपटक दुवै पद गुमाएको छ । यो पालिकामा गठबन्धनका अन्य घटकले उम्मेदवारी नदिँदासमेत काँग्रेसले आफ्नो वर्चश्व जोगाउन नसकेको हो ।

प्रमुखमा नेकपा एमालेका विजय सिंह धामी ५ हजार ५०९ मतसहित विजयी भएका छन् । नेपाली काँग्रेसका अमरसिंह धामीले ४ हजार ६६२ मत प्राप्त गरे । अमरसिंह निवर्तमान प्रमुख हुन् ।

उपप्रमुखमा नेकपा एमालेकी शान्ति खडायतले ५ हजार ६४८ मत प्राप्त गरी जित हासिल गर्दा नेपाली काँग्रेसकी कुमारी राजमती बमले ४ हजार ५७५ मत प्राप्त गरिन् । उपाध्यक्षमा पराजित बम निवर्तमान उपप्रमुख हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप