बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरका मतदाताको मनोविज्ञान र त्यसबाट सिक्नुपर्ने पाठ

मङ्गलबार, ०३ जेठ २०७९, ११ : ५२
मङ्गलबार, ०३ जेठ २०७९

काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन साह कछुवा चालले हुँदै गरेको मतगणनामा लगातार तेश्रो दिन पनि अग्रता हासिल गर्न सफल भएका छन् । खास गरी काठमाडौंका युवा मतदाताबीच लोकप्रिय बनेका बालेनका बारे मतदान गर्ने दिनसम्म धेरै कुराहरू बाहिर आएका पनि थिएनन् । उनी कहाँका स्थायी बासिन्दा हुन्, उनको जन्मथलो कहाँ हो ? उनी विवाहित कि अविवाहित, उनले कहाँ पढेका थिए, उनको पारिवारिक पृष्ठभूमि के हो, उनका इच्छा, आकांक्षा के के छन्, काठमाडौं महानगरलाई परिवर्तन गर्ने उनको भिजन के छ ? आदि अनेकौं प्रश्नको जवाफ उनको ‘लौरो’ चिन्हमा भोट खसुन्जेलसम्म थोरैलाई मात्र थाहा थियो । मतदातालाई यत्ति थाहा थियो कि उनी एक र्याप गायक हुन् र इन्जिनियरिङ पास गरेका छन् । तर किन यसरी मतदाता अन्धो भएर ठूल्ठूला पार्टीका नाउँ चलेका व्यक्तिहरूको सट्टा उनलाई नै रोजे त भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

हुन त राजधानी शहरका मतदाताले बेला, बेलामा उम्मेदवार छान्ने काममा आश्चर्यजनक प्रवृत्ति यस अघि पनि नदेखाएका हैनन् ।  कुनै वखत राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैया दाहाललाई जिताएको र प्रधानपञ्चको चुनावमा गोल्छे सार्कीलाई झण्डै जिताएको घटना दशकौं पछि पनि हाम्रो मानसपटलबाट हराएका छैनन् । ती त भए नकारात्मक भोटका असरहरू । तर यसपालि बालेनले पाएको अप्रत्यासित मत ती भन्दा भिन्दै प्रकृतिका छन् र नकारात्मक मत मात्र पनि हैनन् । यहाँ नानीमैयाको प्रसंग चलाइँदा यी होनहार युवा उम्मेदवारको व्यक्तित्वलाई कम आँक्ने वा हेलाको दृष्टिले हेर्नेे मनसाय यस स्तम्भकारको पटक्कै हैन । किन्तु, यहाँ राजधानीका मतदाताहरूले कहिलेकाहिं अस्वाभाविक र आश्चर्यजनक प्रवृत्ति किन देखाउँछन् भन्नेबारे उत्सुकता जागेकोले उनीहरूको मनोविज्ञानलाई विश्लेषणसम्म गर्न खोजिएको हो ।

बालेनका मतदाताहरू खास गरी तीन किसिमका देखा पर्छन् । एकथरि उनलाई र्यापरका रुपमा वा युवा इन्जिनियरका रुपमा काठमाडौंको नेतृत्व सुम्पन आतुर देखिएका छन् भने अर्काथरि चाहिं राजनैतिक पार्टीहरूप्रति वितृष्णा जागेका कारण नकारात्मक मतद्वारा ठूला भनाउँदा पार्टीहरूलाई पाठ सिकाउने उद्येश्यले पनि बालेनको समर्थन गरेका देखिन्छन् । तेश्रोथरि मतदाताहरू भने ठूला दलकै निकटका हुन् तर उनीहरूले पार्टीले दिएको उम्मेदवारप्रति असन्तुष्टि जनाउन बालेनलाई मत दिएका देखिन्छन् । यस हिसाबले हेर्दा बालेनले एक तिहाई सकारात्मक मत पाएको देखिन्छ भने दुई तिहाई चाहिं नकारात्मक मत पाएका छन् ।

जे होस् यसपालि राजधानी सहरले जुन प्रकारले उम्मेदवार रोज्न मतदान गरे, त्यसबाट ठूला राजनैतिक दलहरूले केही पाठ अवश्य पनि सिक्नु्पर्र्ने देखिन्छ । ठूला दलहरू नेपाली काँग्रेस, एमाले र नेकपा समाजवादीले राजधानीमा जसरी उम्मेदवारी दिए, त्यसबाट उनीहरूको गृहकार्य नपुगेको वा मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्न नसकेको भन्ने बुझ्न सकिन्छ । ठूला पार्टीले हामीले दिएपछि जस्तोसुकै उम्मेदवारलाई पनि जनताले भोट दिइहाल्छन्, उम्मेदवारको पृष्ठभूमि, चरित्र, योग्यता, अनुभव यी सबै कुरा गौण हुन् भन्ने उनीहरूको यदि बुझाइ हो भने त्यसलाई यसपालि मतदाताहरूले गलत सावित गरिदिएका छ्न् । 

हामीकहां लिडरशीप ग्रुम गर्ने अथवा कसलाई महानगरको प्रमुख पदमा उठाए हुन्छ भनी सम्भावित उम्मेदवारलाई १÷२ वर्ष अगाडिदेखि नै प्रक्षेपण गर्ने र  तिनीहरूलाई प्रशिक्षण दिई नेतृत्व विकास गर्दै लाने अनि चुनाव अलि नजिक आएपछि तीमध्ये को योग्य छ भनी छनौट गर्ने तयारी कसैको पनि देखिएन । दलहरूका तर्फबाट जति पनि उम्मेदवारी दिइयो, ती सबै अचानक र छोटो प्रक्रियाले निर्णय गरिएको भन्ने बुझ्न समय लाग्दैन ।

अब यसपालिको राजधानीको मतदानको प्रवृत्तिले मतदाताको परिपक्वतामाथि पनि प्रश्न उठ्न सक्छ ।  मतदाताले उम्मेदवारको योग्यता, अनुभव, चरित्र, भिजन, क्रियाशीलता, जाँगर जस्ता कुरा भन्दा पनि उनीहरूको भाषण, ग्ल्यामर, अनुहार, हाउभाउलाई नै महत्व दिएको हो कि भन्ने प्रश्न उब्जेको छ । नगरपिता भनेको ग्ल्यामरस वा भाषण गर्न जान्ने मात्र भएर पुग्दैन । उसले राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रका विभिन्न व्यक्तिहरूसँग डिल गर्नुपर्ने हुन्छ । विभिन्न अन्तरराष्ट्रिय सभा, सम्मेलनमा सहभागिता जनाउनपर्ने हुन्छ । अभिनय, हाउभाउ, ग्ल्यामरलाई मात्र मतदाताले उम्मेदवार छनौटको मापदण्ड बनाउँदा गलत व्यक्ति चयन हुन पनि सक्छ । 

महानगरको नेतृत्व पाउने व्यक्ति कुनै प्राविधिक ज्ञान भएका, भाषण कला वा ग्ल्यामर भएका हुनु वान्छनीय योग्यता होला तर आवश्यक योग्यता भने हैन । उसले त विज्ञहरूको सरसल्लाह लिएर सही टीम छानेर योजना बनाएर त्यसलाई कार्यान्वयन गरेर राम्रो नतिजा ल्याउन सक्नुपर्छ । ऊ एउटा कलाकार, भाषणकर्ता, प्राविधिज्ञ भन्दा पनि कुशल व्यवस्थापक र नेतृत्व दिन सक्ने व्यक्ति हुन जरुरी छ । व्यवस्थापकले आफै कार्य सम्पादन गर्दैन, उसले त अरुद्वारा काम गराउन सक्नुपर्छ । भनाइ नै छ, ‘म्यानेजमेण्ट इज गेटिङ थिंग्स डन फ्रम अदर्स ।’

अब के मेयरको चुनाव जितेमा बालेन एकजना सफल मेयर बन्न सक्लान् त भन्ने प्रश्न उठ्छ । यदि मानिसहरूमा उनीमाथि धेरै एक्स्पेक्टेसन अर्थात् ठूलो अपेक्षा भएमा पनि उनले मतदाताले सोचेजस्तो कार्य गर्न नसक्दा असन्तुष्टि हुने सम्भावना त छँदैछ । अब उनी कुशल व्यवस्थापक हुन् कि हैनन् त्यो त समयले नै देखाउने छ । उनी कुशल इन्जिनियर भएर मात्र पुग्दैन, ग्ल्यामरस भएर पनि पुग्दैन, इमान्दार मात्र भएर पनि पुग्दैन, र्यापर मात्र भएर त झन् केही गर्न सक्दैन । उनले कसरी काम गर्ने टीम बनाउँछन् र ३२ वटै वडाका वडाध्यक्षहरूले र महानगरभित्रको व्युरोक्रेसीले उनलाई कति साथ देला भन्नेमा उनको कार्यदक्षता धेरै भर पर्छ ।

हामीले भारतको नयाँ दिल्लीमा दुईपल्ट चुनाव जितेर नगरको प्रभावकारी व्यवस्थापन गर्न सक्षम आम आदमी पार्टीका नेता तथा मुख्यमन्त्री अरविन्द केजरीवालको सफलताबाट केही पाठ अवश्य सिक्न पर्छ । उनले आठ वर्षको छोटो अवधिमा दुई कार्यकालमा जति सफलता हासिल गरे, भारतको राजनीतिमा त्यति छिटो र दिगो प्रगति शायदै अरु कुनै नेता वा पार्टीले गर्न सक्यो होला । उनले दिल्लीमा पानी, विजुली, यातायात, वाइफाइ, स्वास्थ्य उपचार सेवा आदि धेरै कुराहरू निःशुल्क गराए र नाम कमाए । तर उनले त्यो सफलता रातारात पाएका हैनन् । त्यसमा उनको कति मिहिनेत छ, कति दिमाग खियाएको छ, कति होमवर्क छ, त्यतातिर पनि ध्यान दिन पर्छ हामीले । 

एकपल्ट एकजना महिला पत्रकारले उनलाई सोधेछन्, ‘हैन, तपाईंले यसरी राज्यको ढुकुटी रित्याएर जे पनि फ्रि दिन थाल्नु भएको छ । यसरी केवल लोकप्रियता हासिल गर्ने हिसाबले पैसा बाँडेर कसरी चल्छ ? त्यसको पछाडि तपाईंको राजनीति के हो र अर्थनीति के हो ?’ 

केजरीवालले त्यसको बडो रोचक ढंगले जवाफ दिएका छन्, ‘हामीकहाँ नेताहरूले विजुली, पानी, यातायात, स्वास्थ्य सेवा सबै निःशुल्कमा पाइराखेका छन् । मैले त्यही सेवा, सुविधा सर्वसाधारण जनतालाई पनि उपलब्ध गराउन मात्र खोजेको हुँ । अब मेरो अर्थनीति सुन्नुस्, मैले राज्य सरकारमा हुने भ्रष्टाचार, घुसखोरी, चुहावट आदि सबै नियन्त्रण गरेर बचेको पैसा जनताको सेवा, सुविधामा लगाएको हुँ । हेर्नोस्, भारतमा अरु सबै सरकार घाटामा चलिराखेका छन् तर दिल्ली सरकार त्यति धेरै सुविधा दिएर पनि नाफामा छ, अर्थात् घाटा बजेट ल्याउन परेको छैन ।’ त्यति भनेपछि ती महिला पत्रकार नाजवाफ भए । यसरी दिल्लीमा सफलता पाएको केजरीवाल टीमले यसपालि अर्को राज्य पञ्जावमा पनि नेतृत्व हात पारेको छ ।

जे होस्, काठमाडौंका जनताले यसपालि के कुरा प्रमाणित गरिदिएका छन् भने नेपालको राजनीतिमा जातीयता, वर्गीय विभाजनको कुनै स्थान छैन । एकजना मधेसी मुलका युवालाई राजधानीका जनताले यति धेरै माया गरेर पहाडी, मधेसी भन्ने भेदभाव नेपालमा चल्दैन र चल्न हुन्न भन्ने पाठ सिकाएकोमा ती मतदाताहरू पनि धन्य नै हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप