शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के मोदी भैरहवा विमानस्थलमा चीनका कारण अवतरण गरेनन् ?

मङ्गलबार, ०३ जेठ २०७९, १० : ५९
मङ्गलबार, ०३ जेठ २०७९

सोमबार बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी भारतको कुशीनगरबाट हेलिकप्टर चढेर लुम्बिनीमा विशेष निर्माण गरिएको हेलिप्याडमा अवतरण गरेका थिए ।

औपचारिक भ्रमणका क्रममा मोदीले पवित्र मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुका साथै बौद्ध संस्कृति र सम्पदाको केन्द्रको शिलान्यास समारोहमा भाग लिएका थिए ।

मोदी लुम्बिनी पुग्नु केही घण्टाअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले २० किलोमिटर टाढा भैरहवामा रहेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।

यस समारोहमा प्रधानमन्त्री मोदी नजानु र यो विमानस्थलमा अवतरण नगर्दा धेरैको ध्यान त्यसतर्फ आकृष्ट हुनु स्वभाविक थियो ।

यस विषयमा बीबीसी हिन्दीले नेपालको राजधानी काठमाडौंमा रहेका राजनीतिक विश्लेषक सिके लालसँग कुरा गरेका छन् ।

उनले भने, ‘छिमेकी देशका प्रधानमन्त्री आफैं आउँदैछन् र उनले यस्ता विमानस्थलको प्रयोग गरिरहेका छैनन् जुन नेपालका लागि एक प्रतिष्ठाको प्रोजेक्ट हो र जसको उद्घाटन भइरहेको छ । यदि उद्घाटनको दिन यो विमानस्गलमा आउने उडानमा भारतीय प्रधानमन्त्रीको उडान हुँदो हो त यो नेपालका लागि निकै गौरवको कुरा हुनेथियो ।’

चीनसँग कनेक्सन

करिब सात करोड डलरको लागतमा भैरहवाको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब सात वर्ष लागेको छ । यो विमानस्थल नेपाल–भारत सीमाबाट मात्र ५ किलोमिटर टाढा छ । यस विमानस्थललाई लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा परिकल्पना गरिएको छ ।

यस नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि नेपाल सरकारले ४२ देशसँग सम्झौता पनि गरेको छ । पक्कै पनि यो नयाँ विमानस्थलको उद्घाटन नेपालका लागि महत्वपूर्ण घटना हो ।

तर यो विमानस्थल उद्घाटनको दिन नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र यहाँ अवतरण नगर्ने भन्नेमा विभिन्न अर्थ निकालिएको छ । यो विमानस्थल चिनियाँ कम्पनीले बनाएको हुनाले भारतका प्रधानमन्त्रीले यहाँ अवतरण नगरेर नेपाललाई कूटनीतिक सन्देश दिन खोजेको हुनसक्ने बताइएको छ ।

भैरहवाको नयाँ विमानस्थलमा जताततै चीनको छाप देख्न सकिन्छ । १५ मेमा बीबीसीले यो नयाँ विमानस्थलबारे जानकारी लिँदा विमानस्थलको मर्मत सम्भार गर्ने केही सवारी साधनमा चिनियाँ र अङ्ग्रेजी भाषामा यो विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनीको नाम लेखिएको पाइयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार करिब ५ दशकअघि भारतको सहयोगमा भैरहवाको आन्तरिक विमानस्थल निर्माण भएको हो ।

सायद यसैले पनि यस विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल निर्माण गर्दा भारतले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिनु सुखद नभएको पनि हुनसक्छ ।

विगत केही दिनदेखि नेपाल र भारतका सञ्चारमाध्यममा मोदी भैरहवा विमानस्थलमा अवतरण नगर्नुको कारण यो आयोजनामा ​​चीनको संलग्नता रहेको अनुमान गरिएको थियो ।

केही दिनअघि काठमाडौं पोष्ट पत्रिकाले नागरिक उड्डयन प्राधिकरणका पूर्व प्रमुखले यो विकासलाई नेपालको ‘कूटनीतिक असफलता’ को संज्ञा दिएका थिए ।

सुरक्षा सन्दर्भ

मोदी नेपाल जानुअघि भारतीय सञ्चारमाध्यमले भारतका विदेश सचिव विनय मोहन क्वात्रालाई सोधेका थिए, ‘प्रधानमन्त्री मोदी कुशीनगरबाट हेलिकोप्टरमार्फत् लुम्बिनी किन गइरहेका छन्, जबकी नेपालले उनको आगमान नयाँ विमानस्थलमा होस् भन्ने अपेक्षा गरिरहेका छन् ?’

यस प्रश्नको जवाफमा भारतका विदेश सचिवले भनेका थिए, ‘जहाँसम्म प्रधानमन्त्रीको भ्रमणको लजिस्टिकल व्यवस्थासँग सम्बन्धित प्रश्नहरू छन्, म वा अरू कसैले टिप्पणी गर्नु उचित ठान्दिनँ किनभने तिनीहरूमा सुरक्षासहित धेरै मापदण्डहरू समावेश हुने गर्छन् ।’

नेपालको प्रतिक्रिया

बीबीसीले नेपाल सरकारका अधिकारीहरूसँग उनीहरूले यो सम्पूर्ण घटनाक्रमलाई कसरी हेरिरहेका छन् भनेर जान्न खोज्यो । चीनको सहभागिताको प्रश्नमा उनी रक्षात्मक स्थितिमा देखिए ।

डीसीएल कर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हुन् ।

उनले भने, ‘जहाँसम्म चिनियाँ कम्पनीको कुरा छ, सबैको आ–आफ्नो काम थियो । हाम्रो यो विमानस्थल बनाउन अमेरिकाको कम्पनी आयो, थाइल्याण्डको कम्पनी आयो, अन्य काम चिनियाँ कम्पनीले गर्यो, टर्मिनल बिल्डिङ चिनियाँ कम्पनीले नै बनायो । यसमा चीनको कुनै लगानी छैन, यहाँ चीनको एक पैसा पनि लागेको छैन । हामीले यो प्रोजेक्टका लागि एडीबीबाट ऋण लिएका छौँ र आन्तरिक स्रोतको प्रयोग गर्यौँ ।’

उनी भन्छन्, ‘यस विमानस्थललाई चीनसँग जोड्नुको कुनै अर्थ छैन । प्रधानमन्त्री मोदीको कार्यक्रमलाई विमानस्थलको कार्यक्रमसँग जोड्नु उचित हुँदैन भन्ने मलाई लाग्छ । यो फरक कार्यक्रम हो र त्यो अर्कै कार्यक्रम हो ।’

एयरस्पेस मुद्दा

नेपालले भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि नेपालले भारतबाट त्यतातिरको हवाई क्षेत्र वा एयरस्पेस खोल्न अनुरोध गर्दै आएको छ । तर सुरक्षाको कारण देखाउँदै भारतले अहिलेसम्म यसका लागि अनुमति दिएको छैन ।

विज्ञहरुलाई विश्वास गर्ने हो भने यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको हवाई मार्गबाट ​​भैरहवा विमानस्थलमा आउनुले कूटनीतिक समस्या खडा गरेको हुनसक्छ ।

राजनीतिक विश्लेषक सीके लाल भन्छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो सुरक्षा सल्लाहकारको सल्लाह विरुद्ध जान नचाहेको हुनसक्छ । विमानस्थलमा अवतरण गर्दा केही कठिनाइ हुन सक्छ ।’

उनले भने, ‘भारतले यस विमानस्थलका लागि आफ्नो हवाई क्षेत्र खोल्ने अनुमति दिएको छैन, यस्तो अवस्थामा यदि प्रधानमन्त्री मोदीले आफैंले यो हवाई मार्ग प्रयोग गरेको भए यसलाई अनौपचारिक रुपमा हवाई क्षेत्र खोलिएको मानिन्थ्यो र पछि दुई देशबीच विवादसमेत उत्पन्न हुन सक्थ्यो ।’

पछिल्ला केही वर्षयता भारत र चीन दुवैले नेपालमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् ।

यी सबैको बीचमा भैरहवा विमानस्थलसँगको पछिल्लो विकासले नेपाल–भारत सम्बन्धमा कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा चासोको विषय हुनेछ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप