शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई चार महानगरमा उत्साह, दुईमा चिन्ता

सोमबार, ०२ जेठ २०७९, २२ : ३७
सोमबार, ०२ जेठ २०७९

 सत्तारुढ गठबन्धनले देशका ६ वटै महानगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेको थियो तर तीमध्ये दुई महानगरमा अवस्था नाजुक देखिएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारले विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगर प्रमुखमा अग्रता लिएका छन् भने भरतपुरमा कडा प्रतिस्पर्धा भइरहेको छ । काठमाडौं महानगर प्रमुखमा भने गठबन्धनका उम्मेदवार पछि परिसकेको अवस्था छ ।

महानगर प्रमुखमा अग्रता लिएका महानगरमा समेत उपप्रमुख पदका उम्मेदवारले कडा चुनौती सामना गर्नु परिरहेको छ । सत्तारुढ गठबन्धनबीच तालमेल भएका महानगरमै प्रमुख र उपप्रमुखले पाएको मतलाई विश्लेषण गर्ने हो भने मतदाताबाट तालमेललाई खासै महत्त्व नदिएको प्रस्ट हुन्छ ।

काठमाडौं महानगरपालिकाको अहिलेसम्मको परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रतालाई फराकिलो बनाएका छन् भने नेपाली काँग्रेसका सिर्जना श्रेष्ठ तेस्रो स्थानमा छिन् । त्यस्तै एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् ।

मतगणना अघिसम्म पनि काँग्रेसले काठमाडौं महानगरमा गठबन्धनका बाबजुद यो अवस्था सामना गर्नुपर्ला भनेर सायदै कल्पना गरेको थियो होला । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारलाई कडा टक्कर दिएका मात्र होइन, मतगणना सुरु भएदेखि नै उनी तेज रफ्तारका साथ अघि बढिरहेका छन् ।

भरतपुर महानगरपालिकामा पनि गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीसँग कडा प्रतिस्पर्धामा छिन् । रेनु र विजयबीच थोरै मतान्तरले अघिपछि हुने क्रम चलिरहेको छ । यद्यपि, उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रतालाई फराकिलो बनाइसकेका छन् ।

तुलनात्मक रुपमा अन्य महानगरहरुमा गठबन्धनका उम्मेदवारको मत सन्तोषजनक नै देखिएको छ । वीरगञ्ज महानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीसँग फराकिलो अग्रता बनाइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ ।

उता, विराटनगर महानगरको प्रमुखमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । यद्यपि, उपप्रमुखमा भने गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेपालका अमरेन्द्र यादव पछाडि परेका छन् । उनलाई एमालेबाट उपप्रमुखको उम्मेदवार शिल्पा कार्कीले पछाडि पारेकी हुन् ।

ललितपुर महानगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनले उत्साहप्रद मत पाएका छन् । उनी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा निकै अगाडि देखिएका छन् । ललितपुर महानगरमा गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका बाबुराज बज्राचार्यले भने मेयरका उम्मेदवार महर्जनको तुलनामा निकै कम मत पाएका छन् ।

चिरिबाबु महर्जनले प्रमुखमा ५ हजार ७२९ मत पाउँदा उपप्रमुखमा बज्राचार्यले एक हजार ८४८ मतमात्र पाएका छन् ।

पोखरा महानगरपालिकामा पनि सत्तारुढ गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले प्रस्ट अग्रता लिँदा उपप्रमुखमा गठबन्धनका उम्मेदवार कोपिला रानाभाटले कडा प्रतिस्पर्धा सामना गर्नु परिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप