मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक, दुई वडामा काँग्रेस विजयी
मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमध्ये दुई वडामा काँग्रेस र एक–एक वडामा माओवादी र एमालेका उम्मेदवार विजयी भएका छन् । सार्वजनिक विवरणअनुसार रतुवामाई १० नम्बर वडामा काँग्रेसका भुलबहादुर कार्की १३२१ मत ल्याएर निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका देवीप्रसाद दाहालले १२०२ मत ल्याएका छन् । यस्तै वडा नम्बर ९ काँग्रेसका इन्द्रबहादुर लिम्बू १६२७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद घिमिरेले १२२८ मत ल्याए ।
वडा नम्बर १ मा माओवादीका घनश्याम गिरीले ७०५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारप्रसाद यादवले ६७४ मत ल्याउन सफल भए । वडा नम्बर २ मा एमालेका जिमारत मियाले ६८२ मत ल्याएर विजयी हुँदा काँग्रेसका मो.साकीर आलमले ६२८ मतका साथ दोस्रो स्थान बनाए ।
हालसम्मको परिणामअनुसार रतुवामाईमा नेपाली काँग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले ४ हजार ५ सय ६० मत ल्याएर अग्रस्थान बनाएका छन् भने एमालेका दुर्गाबहादुर विष्टले ३ हजार ९ सय ७९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
उपप्रमुखमा भने एमालेका दमयन्ता देवी चुँडालले ३ हजार ९६ मत प्राप्त गर्दा माओवादी केन्द्रका सुमन कालीकोटेले २ हजार ६ सय ८४ मत ल्याएका छन् । रतुवामाइमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।