शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा २२ वर्षे युवाले रचेको इतिहास...

सोमबार, ०२ जेठ २०७९, १९ : १८
सोमबार, ०२ जेठ २०७९

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।

काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ । सामाजिक तथा आर्थिक विषयले पनि त्यति सहज नभएको जानकारहरूले टिप्पणी गरिरहेको बेला राजाबाबु यादवको जीत आफैँमा महत्वपूर्ण देखिन्छ ।

राजनीतिमा प्रौढ र वृद्धहरूको मात्रै बोलवाला चलिरहेको छ भन्ने चर्चाका बीच युवाको सशक्त उपस्थितिले सकारात्मक प्रभाव पारेको छ । आज सार्वजनिक भएको परिणामअनुसार रामनगर गाँउपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादव मात्रै २२ वर्षका छन् । उनले चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका यादव माओवादी जनयुद्धले स्थापित गरेको मूल्य र मान्यतालाई स्थापित गराउन राजनीतिमा युवाको सहभागिता बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू जनतामा गएको बताउँदै आएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दप्रसाद यादवले दुई हजार ३९२ मत मात्रै प्राप्त गरे । राजाबाबुको समूहबाटै  उपाध्यक्षमा गीता देवी निर्वाचित भएकी छन् । उनले कूल तीन हजार ५२३ मत हासिल गरेकी छन् । बाइस वर्षीय युवकले निर्वाचनमा जीत हासिल गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक चर्चा भएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा केही समयअघिसम्म सञ्चारकर्ममा रहेकाले समेत विजयी भएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहेका रमेश आचार्य धादिङको धुनीबेँसी नगरपालिका–६ बाट वडाध्यक्षमा निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका  आचार्य धादिङको पत्रकारितामा सक्रिय थिए । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका आचार्यले ८१७ मतका साथ जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय तामाङले ५३२ मत प्राप्त गरे । प्रेस सेन्टर नेपाल जाजरकोटका पूर्व जिल्ला अध्यक्ष वसन्तप्रसाद शर्मा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ को वडाध्यक्षमा पत्रकार भोजराज कार्की निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका कार्कीले ४१२ मत ल्याएर कांग्रेसका मणिराम राईलाई पराजित गरेका हुन् ।

सो वडामा कार्कीको प्यानल नै निर्वाचित भएको छ । कार्की नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै जीत हासिल गरेका हुन्।

यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा (एमाले) का हिरासिंह धामी पनि पूर्वसञ्चारकर्मी नै छन् । उनले चार हजार ३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले तीन हजार ३२२ मत प्राप्त गरे । पत्रकार महासङ्घ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका धामीले दुई दशक बढी समय पत्रकारितामा बिताएङ्का थिए। उनले निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पराजित गरेका हुन् ।  सो गाँउपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् ।

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाएको स्पष्ट देखिन्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेका देखिएका छन् ।  माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रियरूपमा सहभागी गराइरहेका छन् । 

दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा क्रान्तिकारीको सचिवको जिम्मेवारीमा थिए । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित भएका छन् ।

खरेल अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए। सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका खरेलले ५५२ मतसहित विजयी भएका हुन्। सो वडामा कूल ८०० मत खसेको थियो ।

यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेकी तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्वमा रहेका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप