शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले जनतासँग माफी माग्नुपर्छ : पुन

सोमबार, ०२ जेठ २०७९, १६ : ५६
सोमबार, ०२ जेठ २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले निर्वाचनमा भएको पराजय स्वीकार गर्नुको साटो जनमतको अपमान हुने अभिव्यक्ति नदिन एमाले नेतृत्वलाई चेतावनी दिएका छन् । एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि वक्तव्यबाजीमार्फत धाँधली भयो भनेर जनअभिमतको अपमान गरेको पुनले बताए ।

जनतालाई कमजोर नठान्न उनले एमाले नेतृत्वलाई सुझाव दिए । निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले गरेका गल्तीको परिणामका रुपमा स्वीकार गर्नुको साटो जनताको अभिमतलाई अपमान गर्ने कार्य निन्दनीय भएको उनको भनाइ थियो । ‘नेकपा एमालेका महासचिवले एमालेको दृष्टिकोण भनेर निर्वाचन सकिएको तीन दिनपछि आएर धाँधली भयो भन्नुभयो । यो आश्चर्यको कुरा हो’, गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिकामा निर्वाचित पदाधिकारीलाई बधाई दिन सोमबार लिवाङमा आयोजित कार्यक्रममा पुनले भने, ‘पहिला देशैभर जित्छौँ भन्नुहुन्थ्यो । मतदान भएपछि पनि हामी जित्छौँ भन्दै हुनुहुन्थ्यो । तीन दिनपछि आएर धाँधली भयो भन्नु जनतामाथिको अपमान हो । अहिलेको लोकतान्त्रिक व्यवस्था र सचेत नेपाली जनताको अभिमतमाथिको अपमान हो । यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौं ।’ 

आफूले जिते  जनता महान र हारे यस्ता प्रकारको अभिव्यक्ति दिनु राजनीतिक अवसरवाद र बेइमानी भएको टिप्पणी उनले गरे । उनले अनावश्यक आरोपमा उत्रिनुको साटो दुई तिहाईको नेकपा र दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेकामा जनतासँग क्षमा याचना गर्न एमाले नेतृत्वलाई सुझाए  । ‘नेकपाको विघटन र दुईपटक संसद विघटन ग¥यौं । हामीबाट गल्ती भयो भनेर क्षमता याचना गर्नुभयो भने  बल्ल जनताले माफी दिन्छ’, उनले भने । पुनले एमालेले स्थानीय निर्वाचनमा भन्दा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लज्जाजनक पराजय बेहोर्ने दाबी उनले गरे । 

एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनअघि, निर्वाचनका क्रममा र मतगणनाका क्रममा गरी तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका थिए । पुनले रोल्पामा केन्द्रीय नेतृत्वको निर्देशन उल्लंघन गर्दै माओवादी विरोधी गठबन्धनमा सामेल भएको भन्दै काँग्रेस जिल्ला नेतृत्वको आलोचना गरे । उनले विगतमा माओवादीलाई अपमान गर्दाको परिणाम नबिर्सन चेतावनी दिए ।

‘विपक्षीहरुले माओवादीलाई नहेपे हुन्छ । पटकपटक पुष्टि भइसकेको छ कि माओवादी विचार, कार्यक्रम, भिजन र नेतृत्व भएको पार्टी हो । माओवादीलाई कसैले हेप्छ भने ऊ स्वयं पछारिन्छ भन्ने इतिहासले पुष्टि गरेको छ’, पुनले भने । विगतमा १ सय ६ स्थानीय तहमा आफ्नो पार्टीले जितेकामा यसपटक त्यो बढेर कम्तिमा डेढ सय पुग्ने भन्दै उनले माओवादीलाई कमजोर नआँक्न भने । गत निर्वाचनमा आफ्नो दलले जितेको पालिकामा राम्रो गरेको भन्दै उनले स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा काम गरेर जनताको मन जित्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप