शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताजमहलका बन्द २२ कोठाको के छ रहस्य ? जसलाई खुलाउन चलिरहेछ मुद्दा

सोमबार, ०२ जेठ २०७९, १५ : ४६
सोमबार, ०२ जेठ २०७९

के संसारको सबैभन्दा चर्चितमध्ये एक स्मारक ताजमहलका बन्द कोठामा कुनै रहस्य लुकेको छ ? अरुलाई जे विश्वास भए पनि उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीशहरूलाई ती कोठामा कुनै रहस्य रहेको विश्वास छैन । तिनले गत विहीबार भारतको सत्तारुढ भारतीय जनता पार्टीका एक कार्यकर्ताले ताजमहलका २२ बन्द ढोका खोल्न माग गरिएको मुद्दा खारेज गरिदिए ।

मुदा दायर गर्ने रजनीश सिंहले ती बन्द ढोका खुले ‘ताज महलको सत्यता’ बाहिर आउने दावी गरेका थिए । यहाँसम्म कि मुद्दा दायर गर्ने सिंहले अदालतमा ती कोठामा भगवान् शिवको मूर्ति रहेको केही इतिहासकारको दावी पनि प्रस्तुत गरेका थिए ।

ताजमहल १७ औं शताब्दीमा आगराको यमुना नदीको किनारमा मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा बनाएका थिए । इँटा, रातो ढुङ्गा र सेतो संगमरमरले बनेको ताजमहल संसारको सबैभन्दा भव्य भवनहरूमध्ये एक मानिन्छ । यसको उत्कृष्ट कारीगरीले पनि धेरैको ध्यानाकर्षित गर्छ । यो विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्यहरूमा समावेश छ ।

तर रजनीश ताजमहलको यो स्वीकृत इतिहाससँग सहमत छैनन् । ‘यी कोठमा के लुकाइएको छ जान्ने अधिकार हामी सबलाई छ, रजनीशले अदालतसँग भने । रजनीशले खोल्न माग गरेका धेरै बन्द कोठाहरू चिहान रहेको भूमिगत च्याम्बर क्षेत्रमा रहेका छन् । विश्वसनीय स्रोतका अनुसार ताजमहलको ती कोठा खाली छन् ।

मुगल वास्तुकलामा लामो अनुसन्धान गर्ने र ताजमहलको विश्वसनीय अध्ययता  एम्मा कोचले उनको अनुसन्धानका क्रममा यी कोठाहरूको तस्विर खिचेकी थिइन् । यी कोठाहरु गर्मी याममा प्रयोग गरिन्थ्यो । स्मारकको नदीतर्फ फर्किएको छतमा कयौं कोठाहरू लहरै छन् । कोचले नदीतर्फ फर्किएका १५ कोठा देखेकी थिइन् । त्यो ठाउँ एक साँघुरो कोरिडोरबाट पुग्न सकिन्छ ।

चर्चामा रहेका बन्द कोठामा सात ठूला कोठा, ६ चारकुने कोठा र २ अष्टभुजायुक्त कोठा छन् । ठूला कोठाहरू नदीतर्फ खुलेका छन् । एम्मा कोच गएको कक्षमा माथि सेतो र भुँइ रंगीन थियो । नक्काशीका टुक्राहरू थिए । ‘बीचमा गोलो आकृति र त्यसको वरपर व्यवस्थित जाली ढाँचा थियो ।’ कोचले सम्झदै भनिन् ।

युनिभर्सिटी अफ भियनाकी एसियाली कलाका प्राध्यापक एम्मा कोचले टिप्पणी गरिन्, ‘यो एउटा सुन्दर हावादार स्थल हुनुपर्छ, जसलाई यो चिहानको भ्रमणमा आउँदा बादशाह, उनका महिला र अन्य सहयोगीहरुले उपयोग गरेको हुनुपर्छ । अहिले यहाँ प्राकृतिक प्रकाश पुग्दैन ।’

त्यस्ता भूमिगत कोठा मुगल वास्तुकलाको एक हिस्सा रहने गरेका छन् । पाकिस्तानको लाहोर सहरमा रहेको मुगल किल्लामा नदीतर्फ खुल्ने यस्ता कोठाहरू भेटिन्छन् । शाहजहाँ सामान्यतया यमुना नदीको घाटमा रहेको डुङ्गाबाट ताजमहल पुग्थे, घाटमा बनेको सिँढीमा ओर्लिएर चिहानमा प्रवेश गर्थे ।

मलाई त्यो सुन्दर रंगीन गल्लीको सम्झना छ, जुन पहिले ठूलो ठाउँमा गएर खुल्यो । यो स्पष्ट रूपमा बादशाह हिँड्ने बाटो थियो, करिब बीस वर्षअघि यहाँ आइपुगेकी भारतीय संरक्षणवीद् अमिता बेग सम्झन्छिन् ।

ताजमहलको बारेमा अनेक मिथक

दिल्लीमा बसोबास गर्ने इतिहासकार राणा सफावी आगरामा हुर्केकी थिइन् । सन् १९७८ को बाढी आउनु अघिसम्म यी कोठाहरू पर्यटकका लागि खुला भएको उनी सम्झन्छिन् । भन्छिन् ,‘त्यस बाढीमा चिहानमा पानी पसेको थियो, तलका केही कोठामा बालुवा पसेको थियो र चट्टानहरू देखिन थालेका थिए । त्यसपछि प्रशासनले सर्वसाधारणका लागि यी कोठाहरू बन्द गरिदियो । ती खाली कोठा हुन्, त्यसमा केही छैन ।’

यी कोठाहरू समय–समयमा मर्मतका लागि खोलिन्छन् । यद्यपि ताजमहलको बारेमा धेरै मिथक र किंवदन्ती व्याप्त छन् । एक मिथकअनुसार ताजमहल रहेको स्थानबाट यमुना नदीको अर्को किनारमा कालो ताजमहल बनाउने शाहजहाँको योजना थियो भन्ने छ । अर्को मिथकअनुसार ताजमहल वास्तवमा एक युरोपेली वास्तुकारद्वारा निर्माण गरिएको थियो ।

केही पश्चिमी विद्वान भारतीय मुस्लिम समाजमा महिलाको हैसियत न्यून भएकाले स्मारक शाहजहाँको श्रीमतीको लागि नबनाइएको हुन सक्ने विश्वास गर्छन् । यद्यपि, भारतका अन्य स्थानमा पनि महिलाहरूको लागि निर्माण गरिएका स्मारकहरू भेटिएका छन् ।

केही उत्साही गाइडहरू ताजमहल बनेपछि शाहजहाँले त्यसलाई बनाउने वास्तुकारको हत्या गरिदिएको र कारीगारको हात काटिदिएको कथा बताउने गर्छन् ।

भारतमा व्याप्त अर्को मिथकअनुसार ताजमहल वास्तवमा तेजो महलया नामक् भगवान् शिवलाई समर्पित हिन्दू मन्दिर थियो । यो मिथकका अनुसार सन् १७६१ मा हिन्दू राजा सुरजमलले आगरा माथिको जितपछि पुजारीले ताजमहललाई हिन्दू मन्दिरमा परिणत गर्न सल्लाह दिएका थिए । भारतीय इतिहासलाई हिन्दूवादी कोणबाट लेख्ने लेखक पीएन ओकले उनको एउटा पुस्तकमा ताजमहल वास्तवमा शिव मन्दिर भएको दाबी गरेका छन् ।

सन् २०१७ मा भाजपाका नेता संगीत सोमले ताजमहललाई ‘आक्रमणकारी’ले बनाएको स्मारक भन्दै यसलाई भारतीय संस्कृतिको धब्बाको संज्ञा दिएका थिए । पछिल्लो समय भाजपा सांसद दिया कुमारीले शाहजहाँले हिन्दू शाही परिवारको जग्गा खोसेर ताजमहल बनाएको दावी गरेकी छिन् ।

विगत एक दशकदेखि यस प्रकारको हिन्दूत्वादी सिद्धान्तले जोड पाइरहेको बताउँदै राणा सफवी भन्छिन् ,‘दक्षिणपन्थी समूहहरूको एक वर्ग त्यस्ता झुटा समाचार, झूटा इतिहास र हिन्दूमाथि अत्याचार भएको र उनीहरू पीडित भएको कुरा प्रबद्र्धन गरिरहेका छन् ।’

यस्तो लाग्छ कि ताजमहलको बारेमा गम्भीर अध्ययन कम भएको छ भने त्यस सम्बन्धमा काल्पनिकता बढी हावी भएजस्तो देखिन्छ, एम्मा कोचले भनिन् ।

उता रशनीश कुमारले भने उच्च अदालतको निर्णयपछि पनि चुप नलाग्ने, यो मुद्दा लिएर माथिल्लो अदालत जाने बताएका छन् ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप