शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेट अधिवेशन सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न दलहरूलाई सभामुखको अपिल

सोमबार, ०२ जेठ २०७९, १५ : ०३
सोमबार, ०२ जेठ २०७९

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबार (भोलि) देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका हुन् ।

उनले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरूका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

उनले भने– ‘अहिले मेरो तर्फबाट त भएको छैन तर मैले कानूनमन्त्रीजी सँग भेटेर छलफल गर्दाखेरी उहाँले अनौपचारिक रुपमा कुरा भइराखेको छ भन्नुहुन्थ्यो । उहाँले विपक्षी दलका उपनेता सुभाष नेम्वाङसँग मेरो कुराकानी भएको थियो । फेरि पनि कुराकानी गर्ने बिचार छ भन्नुहुन्थ्यो । भोलि मेरो कानूनमन्त्रीसँग ११ बजे भेट हुँदैछ । छलफल हुन्छ उहाँले कति कुरा गर्नुभएको छ । फेरि साढे २ बजे कार्यव्यवस्था समितिमा पनि छलफल हुन्छ । मलाई आशा छ अब धेरै समय बितिसकेको छ ।’

उनले भने, ‘त्यसकारणले उहाँहरुले धेरै महत्वपूर्ण अधिवेशन हो । राष्ट्रको बजेट प्रस्तुत गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, १५ गते अनिवार्य रुपमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था हुनाले एउटा समझदारी बन्छ होला जस्तो मलाई लाग्छ । वैशाख १८ गते मैले प्रधानमन्त्रीलाई भेटेर अहिले मैले जे भने यसका मोटामोटी कुराहरु उहाँलाई पनि भनेको थिएँ र संवाद गर्नका लागि र यही बजेट अधिवेशन आव्हान गर्नका लागि । मलाई लाग्छ, उहाँहरुले पनि छलफल गर्नुभएको होला । पार्टीका नेताहरु सबैलाई पनि म यसलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्नका लागि अपील पनि गर्छु र मेरो तर्फबाट सबैलाई भनिरहेको छु ।’

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए । उनले भने– ‘यो पनि दलहरूको, खासगरी सरकारसँगै छलफल गरेर अगाडि जाने कुरा हो । मुख्यत: दलहरूको सम्भवत: भोलि नै पनि यसमा सामान्य छलफल हुनसक्छ । तर मलाई के लाग्छ भने यो बजेट अधिवेशन भएको हुनाले बजेट पारित गर्ने कुरामै सर्वाधिक प्राथमिकताको विषय भएको हुनाले बजेट पारित भइसकेपछि त्यस सन्दर्भमा विषय केन्द्रीत हुन्छ होला ।’

उनले सर्वसम्मत भइसकेको विधेयकहरुहलाई अगाडि बढाउनका लागि राजनीतिक दलहरूका बीचमा समझदारी भएमा त्यसलाई अगाडि बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे । उनले भने– ‘सर्वसम्मत भएका विधेयकहरु अगाडी बढाउन हाम्रो छलफल भएको छ । पार्टीहरूका बीचमा समझदारी भयो भने हाम्रो संसद सचिवालयको तर्फबाट हामी सधैँभरी समय मिलाउन, समयको व्यवस्थापन गर्न र त्यसलाई अगाडी बढाउनका लागि हामी तयार छौँ ।’
संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप