मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सद्भावले सामूहिक विकास र समृद्धिमा अघि बढ्ने प्रेरणा मिलेको छ : अध्यक्ष प्रचण्ड

सोमबार, ०२ जेठ २०७९, ०७ : २४
सोमबार, ०२ जेठ २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उक्त कामना गरेको हो । “नेपाली समाज विविधताले भरिपूर्ण एकताबद्ध र सहिष्णु समाज हो, समाजको विकास पनि एकापसका सामुदायिक भावनाहरूको सम्मानले नै हुने गर्छ,” सन्देशमा भनिएको छ, “सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ ।”

नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतमबुद्धले प्राप्त गरेका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी भएको र बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व रहको उल्लेख छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका क्रममा अहिले हामी स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको चरणमा छौँ,” सन्देशमा भनिएको छ, “छिट्पुटका घटनाबाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ ।”

अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान पाँच दलीय गठबन्धन सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताएका छन् । त्यसैगरी, अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप