ad
x
सन्दर्भः बुद्ध जयन्ती

बुद्धलाई हेर्ने गलत हेराइ

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा राष्ट्र प्रमुखले शुभकामना व्यक्त दिने चलन नेपालमा सात दशक पुरानो हो । राष्ट्र प्रमुख तथा अन्यले दिएका ती सुरु देखिका मन्तव्यलाई सर्सर्ती हेर्दा एउटाभन्दा अर्को कुनै फरक पाइँदैन । ती मन्तव्यबाट बुद्ध र बौद्ध शिक्षाका सन्दर्भमा नेपालले विश्वमा नै नेतृत्व र संरक्षकत्व प्रदान गर्दै आइरहेको प्रतीत हुन्छ । तर वास्तविकता ठीक उल्टो हुँदै आइरहेको हेक्का छैन । यस प्रसङ्गमा ‘बिरालो बाँधेर सराद्ध’ भन्ने कुरा सम्झना हुन्छ ।


नेपालले अंगालेको नीति तथा दर्शनले बुद्धको शिक्षासँग तादात्म्य राख्दैन । तर द्वन्द्व र अशान्तिले आक्रान्त वर्तमान विश्वका लागि बुद्धको शिक्षा सान्दर्भिक रहेको कुरा उल्लेख गर्न पनि नेपालका राष्ट्रप्रमुख तथा नीतिनिर्माताहरू कहिल्यै छुटाउँदैनन् । बुद्धको शिक्षालाई नेपालले अनुशरण गर्दै अगाडि बढेको र विश्वले नेपाललाई पछ्याउनु पर्नेजस्तो आह्वान गरिरहेको आसय ती मन्तव्यहरूमा पाइन्छन् । तर यस्ता मन्तव्यलाई विश्व बौद्ध जगतले कुनै स्थान नदिएकोबाट नेपालको हैसियत बुझ्नुपर्ने मात्रै नभएर आत्मालोचना गर्न ढिलो भइसकेको अवस्था छ ।  



विश्व इतिहासमा अत्यन्तै प्रशंसित व्यक्तिहरूमा एक गौतम बुद्ध पनि हुन् । आध्यात्मिक सन्दर्भका साथै अन्य कुराहरू पनि आधुनिक विज्ञानसँग नजिकको सम्बन्ध रहनु नै यसको प्रमुख विशेषता हो । आधुनिक मनोविज्ञानभन्दा बौद्ध दर्शनमा वर्णित मनको विश्लेषण अत्यन्तै ‘एडभान्स’ रहेको र यस धर्म दर्शनलाई आधुनिक विज्ञानले सम्पूर्ण रूपमा अध्ययन गर्न बाँकी रहेको मन्तव्य कुनै लहडवाजी वा आत्मरतीमा बोलेका शब्दहरू होइनन् । यस कुराको दृष्टान्त बौद्ध समाजमा प्रचलित ध्यान अभ्यासको विज्ञानको ल्याबोरेटरीमा परीक्षण हुन थाल्नु हो । र, प्राप्त नतिजाबाट उत्साहित भई थप अध्ययन अनुसन्धान भइरहनु हो ।  



भौतिकवादीहरू अध्यात्मवादको आलोचना गर्ने क्रममा यसले मान्छेको कर्मलाई भन्दा भाग्यलाई बढी प्रसय दिएको तथा सबै कुरा दैवी शक्तिमा आधारित बनाएर मानवलाई अकर्मण्य बनाएको आक्षेप लगाउँछन् । पूर्वजन्म र पुनर्जन्मको मान्यता पनि भौतिकवादीहरूलाई मान्य छैन । आत्मा र परमात्मा तथा स्वर्ग र नर्कको कुरालाई पनि उनीहरूलाई मान्य छैन । बौद्ध–धर्म दर्शनमा आत्मा र परमात्मा चिन्तन नभएको, ईश्वरको अस्तित्वलाई नमान्ने तथा अन्य केही कुराको आधारमा भौतिकवादीहरू बुद्ध र बौद्ध–धर्म दर्शनसँग आफूहरू नजिक रहेको ठान्छन् वा यसको प्रशंसा गर्दछन् । तर पूर्वजन्म र पुनर्जन्म बौद्ध धर्म–दर्शनका लागि महत्वपूर्ण पातो हुन्छ ।



बौद्ध धर्मदर्शनले स्वर्ग र नर्कको मात्रै कुरा गर्दैैन, यसभन्दा बढी अनेक लोकहरूको कुरा यसमा आउँछ । यस अवस्थामा भौतिकवादीहरू अलमलमा पर्नु वा विचलित हुनु स्वभाविक हो । मान्छे आफूले गरेका राम्रा–नराम्रा सबै कामको फल व्यक्ति स्वयंले भोग्ने र यसमा अरु कुनै पनि सत्ताको केही भूमिका नरहेको मान्यता बौद्ध धर्म–दर्शनको छ । पूर्वजन्मको फल भोग्ने मान्यता राख्दा राख्दै त्यसलाई कसरी उचित तरिकाले सम्पादन गर्ने तथा वर्तमान र भविष्य कसरी सुधार गर्ने भन्ने कुरामा बौद्ध शिक्षा केन्द्रीत छ । आफ्नो मालिक आफै हो, आफ्नो मालिक अरु कसरी हुन सक्छ ? भन्ने बौद्ध प्रश्न वा दृष्टिकोणले यहाँ त्यस्तो कुनै परमसत्ता वा ईश्वर छैन, जसको इच्छाअनुसार हामी प्राणी चल्नु पर्दछ भन्ने सन्देश दिन्छ ।



संसारमा कुनै परमसत्ता नभएको र आफ्नो मालिक आफै भएको उद्घोषणले बुद्धलाई क्रान्तिकारी व्यक्तित्वका रूपमा चिनायो । विभिन्न छ लोक भएको र प्राणी मुक्त नभएसम्म यी लोक र विभिन्न ३१ भुवनमा घुमिरहने मान्यता बौद्ध दर्शनको छ । यसमा प्रेत र देवताको पनि मान्यता छ तर ती मानिसले गर्ने पुण्य कार्यको अस्थायी नतिजा मात्रै हुन् । पुण्य सञ्चयको अवसर मनुष्य योनिमा बढी हुने र बुद्धत्व प्राप्ती पनि मनुष्य योनिमा मात्रै सम्भव हुने भनी यसले मनुष्य योनिलाई बढी महत्व दिएको पाइन्छ ।



माथि चर्चा गरिएका बौद्ध दर्शनका यी आधारभूत कुरासँग भौतिकवादले स्वभावतः अस्वीकार गर्दछ । यीबाहेक भौतिकवादले बौद्ध धर्म–दर्शनसँग विमति राख्ने अन्य कुरा पनि छन् । तसर्थ भौतिकवादी जीवन दर्शन अपनाउनेहरूले बुद्धलाई जतिसुकै क्रान्तिकारी ठाने पनि र आफूजस्तै भौतिकवादी माने पनि सारमा फरक छ । भौतिकवाद बुद्धको समयमा ‘लोकायत’का रूपमा चिनिन्थ्यो र लोकायतलाई बुद्धले थुप्रै ठाउँमा स्पष्ट शब्दमा मिथ्यादृष्टि भनेर टिप्पणी गरेको पाइन्छ ।

दर्शनको क्षेत्रमा गौतम बुद्धको मौलिक देनका रूपमा कार्यकारणको सिद्धान्त हो । यो सिद्धान्तलाई दार्शनिक धरातलमा ‘प्रतित्यसमुत्पाद’ भनेर जानिन्छ । दार्शनिक धरातलमा प्रतित्यसमुत्पाद गौतम बुद्धको मौलिक देन हो । उत्पत्ति र विनाश एकअर्कासँग सम्बन्धित हुने र यसमा कुनै परमसत्ताको भूमिका नहुने हुनाले स्वयंको कर्मलाई महत्व दिइन्छ । आफूले जस्तो कर्म गर्यो, त्यस्तै फलको भोग यो जीवन र अर्को जीवनमा पनि भोग्नुपर्ने हुँदा राम्रो काम गर्न प्रेरित गर्दछ ।

बुद्धले व्याख्या गर्ने चार वटा सत्यमा एउटा दुःख हो । दुःखलाई सत्य मान्नुका साथै वैराग्य भई घरगृहस्थ त्याग गरेको सन्दर्भमा यस धर्म दर्शनलाई निराशावादी भनेर व्याख्या गर्ने गरेको पनि पाइन्छ । दुःख छ, दुःखको कारण पनि छ, दुःखको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गको अवलम्बनले दुःखको अन्त्य हुने शिक्षा (चतुआर्यसत्य) कम्तीको आशावादी दृष्टिकोण होइन । यी उपाय अवलम्बनबाट वर्तमान जीवनका साथै सुदूर भविष्यको जीवनसमेत राम्रो हुने कुरामा द्विविधा छैन ।

आध्यात्मिक सन्दर्भबाहेक भौतिक जगतमा पनि बुद्धका शिक्षाहरू सान्दर्भिक नै छन् । सामाजिक र नैतिक दर्शनमा आधारित बुद्धको शिक्षाअनुसार आर्थिक भ्रष्टाचारबाट गरिने जीवनयापनलाई गलत मान्ने हुन्छ । आर्थिक भ्रष्टाचारको सूचाङ्कमा नेपालको स्थान नकारात्मक पंक्तिमा नै छ । यसमा सर्वसाधारणभन्दा सबै तहका राष्ट्रसेवक तथा राजनीतिक नेताहरूको संलग्नता देखिनु भनेको बुद्धको शिक्षा अनुसारको ‘सम्यक आजीवन’ को ठाडै उल्लंग्घन हो । ‘सम्यक आजीवन’ भनेको नाजायज रूपमा कमाइएको धनबाट जीवन यापन नगर्नु हो । यसरी नै ठगी, घुसघोरी, हातहतियारको कारोवार, तस्करी, जीवको कारोवार पनि सम्यक आजीविका अन्तर्गत पर्दैन ।

एउटा आदर्श जीवनका लागि ‘चतुब्रह्मविहार’ अपरिहार्य मानिन्छ  । यस अन्तर्गत मैत्री (सबैलाई आफ्नै ठानी समभाव राख्नु), करुणा–अरुको दुःखलाई आफ्नै दुःख ठानी समस्या समाधानमा लाग्नुु), मुदिता (अरुको खुसीमा आफू पनि खुसी हुनु) र उपेक्षा (द्वेष नराख्नु) भावनालाई जीवनशैलीको अभिन्न अङ्गको रूपमा विकास गर्नु हो । 

गौतम बुद्धलाई आध्यात्मिकका साथै सामाजिक अभियन्ताका रूपमा पनि प्रशंसा गर्नुको पछाडि समाजमा व्याप्त जातीय विभेदविरुद्ध व्यावहारिक रूपमा परिवर्तन ल्याउनु हो । जातीय विभेदमा आधारित छुवाछूतको व्यवस्थाबाट भारत तथा नेपालको ठुलै समाज आक्रान्त रहेको वर्तमान अवस्थामा जातीय छुवाछूतको अनौचित्यता अहिले पनि सान्दर्भिक नै मान्नु पर्दछ ।

बुद्ध शिक्षाको अनुशीलन व्यक्ति विशेषले तत्कालै गर्न सकिने कुरा हो । आर्थिक भ्रष्टाचार होस् वा जातीय छुवाछुत, यसमा व्यक्ति विशेष मात्रै संलग्न नभइदिने हो भने पनि धेरै समस्याको समाधान स्वतः हुन्छ । तर यही शिक्षालाई संस्कारका रूपमा स्थापित गर्न नेपाल चुक्दै आइरहेको पाइन्छ । विद्यालय स्तरमा पाठ्यपुस्तकहरूमा बुद्धका शिक्षाहरू समावेश गर्ने नाममा केही पहल त भएको पाइन्छ । तर ती पाठ्यसामग्रीको अन्तरवस्तु विश्लेषण गर्दा आपत्तिजनक तथ्य फेला पर्नु र बेग्लै दुनोतिर सोझिनुले बुद्धप्रति नेपालको बुझाइ नै गलत रहेको देखाउँछ ।

गौतम बुद्धको जन्म लुम्बिनी नामको बगैंचामा भएको एउटा ऐतिहासिक तथ्य हो भने वर्तमानमा त्यो लुम्बिनी नेपाल राज्यको सरहदभित्र पर्नु अर्को तथ्य हो । यी तथ्यहरू गौतम बुद्धसँग सम्बन्धित भएर पनि बुद्धको शिक्षासँग खासै सम्बन्ध राख्दैन । तसर्थ, ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने मन्त्र पाठ गर्दैमा गौतम बुद्धलाई बुझेको मानिन्न । किनभने, स्वयं बुद्धको शब्दमा जसले धर्म बुझ्छ, उसले मात्रै बुद्धलाई बुझ्छ ।

बुद्धको समयमा नेपालको स्वरूप वर्तमानसँग मिल्दैनथ्यो । नेपाल नामको छुट्टै देश भएपनि त्यसको सीमाले बुद्धसँग सम्बन्धित वर्तमान लुम्बिनी वा कपिलवस्तुलाई समेटिसकेको थिएन । त्यो बेला शाक्य गणराज्य थियो, तर नेपालको छिमेकी राज्यसम्म पनि थिएन । इतिहासका अनेकौं उतार चढावपछि नेपाल राज्यको सीमा विस्तारका क्रममा फलाना भूमि बुद्धसँग सम्बन्धित हो, समेट्नुपर्छ भनेर कमाएको भूमि पनि होइन । बुद्धसँग सम्बन्धित भूमि नेपालमा पर्दो रहेछ भन्ने कुरा निकैपछि मात्रै थाहा भएको हो, त्यो पनि नेपालको आफ्नै खोजी पनि थिएन । लुम्बिनीसम्बन्धि ज्ञान नेपालले बाहिरबाट पाएको थियो र अहिले पनि यसको अर्थ र महत्व बुझ्नेमा नेपालीभन्दा विदेशी नै बढी छन् ।

बुद्धसँग सम्बन्धित ठाउँहरूको महत्वमा आँच आउने गतिविधि बरोबर नेपालमा हुने गर्दछ र त्यसो गर्नु हुँदैन भनेर सम्बन्धित विज्ञहरूले सचेत गराएपछि नेपाल हच्किने गर्दछ । बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित कुरामा नेपालको गतिविधिमा विश्व बौद्ध जगतले शंकाको घेरामा राखेर हेर्दछ । यो अविश्वासको खास कारण बुद्ध र बौद्ध धर्म–दर्शनलाई नेपालले लामो समयदेखि उपेक्षा गर्दै आउनु हो । जनगणनाअनुसार नै पनि यहाँ बौद्ध धर्मावलम्बी अल्पमतमा छन् ।

बुद्धसँग सम्बन्धित लुम्बिनी, कपिलवस्तु लगायतका ठाउँहरू नेपालमा पनि पर्नु नेपालको लागि खुसीको कुरा हो र यसको संरक्षण तथा विकास गर्नु दायित्व पनि नेपालकै हो । विश्वभरका बौद्धहरूको चासोको विषय भएका कारण यसको पर्यटकीय दृष्टिले महत्व छ । तर यी कुरालाई पर्यटन वा आर्थिक दृष्टिले मात्रै महत्व बुझ्नु भनेको बुद्धलाई बुझ्दै नबुझ्नु हो । बुद्धलाई बुझ्नु भनेको धर्मलाई बुझ्नु हो, धर्मको अपव्याख्या नगर्नु हो । नेपालले विश्वलाई बुद्ध र बौद्ध धर्म सिकाउनेभन्दा पहिला आफैले सिक्नु नितान्त जरुरी छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।