ad
x
सन्दर्भ : २५६६औँ बुद्ध–जयन्ती

तृष्णा र अज्ञानता नै जीवनको दुःख

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

आज वैशाख पूर्णिमाको दिन २५६६औँ बुद्ध जयन्ती प्रचलित जनविश्वासअनुसार हर्षोल्लासका साथ मनाइँदै छ । तर ऐतिहासिक तथ्याङ्कअनुसार भगवान् बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी–शालोद्यानमा भएको थियो भने उनको महापरिनिर्वाण असी वर्षको उमेरमा भारतको कुशीनगरमा भएको थियो ।


जन्मेको पाँचौँ दिनमा न्वारनपछि उनको नाम सिद्धार्थ राखियो । ज्योतिष ब्राह्मणहरूले बालक सिद्धार्थ भविष्यमा या त चक्रवर्ती राजा हुनेछन् या त बुद्ध हुनेछन् भनी भविष्यवाणी गरेका थिए । जन्मेको सातौँ दिनमा आमा मायादेवीको देहान्त भयो र राजा शुद्धोदनको दोस्रो विवाहपछि सानीआमा प्रजापति गौतमीले उनलाई हुर्काएका थिए ।



ऋषि विश्वामित्रसँग उनले विद्यारम्भ गरेका थिए भने सात वर्षकै उमेरमा उनले सैनिक तथा प्रशासनिक शिक्षा हासिल गरेका थिए । पिताको एक उपवनमा जामुनको ठूलो वृक्षमुनि उनी प्रकृतिको नियमबारे विचार गरी ध्यानमग्न हुने गर्थे ।



सत्र वर्षको उमेरमा कोलीय राजकुमारी यशोधरासँग उनको विवाह भएको थियो । २९ वर्षको उमेरमा उनलाई पुत्र लाभ भएको थियो– जसको नाम राहुल राखियो । राहुलको जन्मपछि राजाज्ञा लिएर उनी घुम्न निस्कँदा उमेरले शिथिल भएको बूढो, एक रोगी र शवयात्रा देखेर चिन्तित भए । जामुनको रुखमुनि ध्यान गर्दै गर्दा उनले एक शान्त श्रमणलाई पनि देखे । त्यसपछि उनले जन्म, मरण, रोग, बुढ्यौलीको दुःखको रहस्य जान्न र निर्वाणको खोजमा जाने निश्चय गरे । पुत्र राहुलको जन्मको सातौँ दिन असार पूर्णिमाको मध्यरातमा उनले गृहत्याग गरेका थिए । गृहत्याग गर्दा छन्दक नामका सारथी र कन्थक नामको घोडा उनको साथमा लगेका थिए ।



कपिलवस्तु, कोलीय र मल्ल तीन राज्यहरू पार गरेर ३० योजन (१ योजन=९ माइल) को यात्रापछि उनले छन्दक र कन्थक घोडालाई फर्काए । अनोमा नदीको किनारमा राजशी वस्त्र त्यागेर आफ्नै तरवारले केश काटी काषाय वस्त्र धारण गरी उनले प्रवज्या ग्रहण गरेका थिए । उनले त्यसपछि भिक्षाटन गर्दै हिँडे ।



मल्ल राज्यको पूर्वतर्फ अनुपिया नगरमा उनको मगधका राजा विम्विसारसँग भेट भयो । परिचयपश्चात् राज्यको बागडोर सम्हाल्न योग्य व्यक्ति भिक्षापात्र लिएर किन हिँडेका ? भनी उनलाई राजा विम्विसारले प्रश्न गरे । मित्रता भयो । उनी साधनामा लाग्ने भनी उत्तर दिएर हिँडे ।



अध्ययनका लागि उनी ब्राह्मणी पद्मा र ब्र्रह्मर्षि रैवतकहाँ बसे । वैशालीको आश्रममा पुगेर आलार कालमसँग ध्यानकला सिके । राजग्रहको आश्रममा उद्रक रामपुत्रसँग पनि उनले ध्यान सिकेका थिए । त्यहीँ उनको भेट कौडिण्य, वप्प, भद्दिय, महानाम, अश्वजित् नाम गरेका पञ्चभद्रवर्गीय भिक्षुहरू भेटे । उनीहरू कपिलवस्तुका ब्राह्मण कुलका थिए । कपिलवस्तुका प्रव्रजितहरूको एउटा समूह तयार भयो । सिद्धार्थ गौतमका साथ लागेर पञ्चभद्रवर्गीय भिक्षु गयास्थित नैरञ्जना नदी किनारमा तपश्चर्यामा बसे ।

भोग, तृष्णा त्यागेर वैराग्यपूर्वक हाड–छाला मात्र बाँकी हुने गरी घोर तपस्या गर्दा पनि मनमा अशान्ति, जलन र वेदनाले उनलाई छोडेन । आहार त्याग्दा उनी क्षीण भए ।  न ध्यान लाग्यो, न शरीर ठीक रह्यो । अरूले उनको मृत्यु भएको ठाने । कठिन तपस्याको निस्सारता देखे । त्यसपछि उनले आहार ग्रहण गरे ।

सिद्धार्थ गौतमको यस्तो अवस्था देखेर पञ्चभद्रवर्गीय भिक्षुहरूले उनलाई भ्रष्ट भएको मानेर उनका साथ छाडे । सामान्य आहार ग्रहण गरेपछि उनको स्वास्थ्यमा सुधार आयो, राम्रा सपनाहरू देख्न थाले । सुजाताले वनदेवता ठानेर खीर भोजन गराए । स्वस्तिक ब्राह्मण घाँसीले घाँसको ४ मुठा विच्छ्याइदिए । त्यसैमाथि बोधिवृक्षमुनि ध्यान गरेर उनले बोधिज्ञान प्राप्ति नभएसम्म नउठ्ने अधिष्ठान गरे । सात हप्ता निराहार ध्यान गरेपछि उनलाई ३५औँ वर्षको उमेरमा इ.पू. ५२८ वैशाख पूर्णिमाको दिन मारमाथि विजय हासिल गरी बोधिज्ञान प्राप्त भयो । उनी बुद्ध भए ।

बोधिज्ञान प्राप्तिपछि राजयतन वृक्षको मुनि ध्यानमा बस्दै गर्दा उडिसाका दुई व्यापारी तपस्सु र भल्लिकले उहाँलाई जौको पीठो र मह चढाए । उनीहरूले अकुशल कर्म छोड्ने निर्णय गरे । यिनी दुई व्यापारी नै भगवान् बुद्धका प्रथम उपासक कहलिए ।

त्यसपछि भगवान् बुद्धले आफ्नो धर्मको प्रवचन गर्न विद्याको केन्द्र वनारसतर्फ प्रस्थान गरे । वनारसको सारनाथको मृगदावनमा उनले पञ्चभद्रवर्गीय भिक्षुहरूलाई पुनः भेटे । उनीहरूलाई भगवान् बुद्धले असार पूर्णिमाको दिन पहिलो पटक धर्मचक्र प्रवर्तन गरे । चार आर्य सत्य र अष्टाङ्गिक मार्गको उपदेश दिए । लगत्तै ती पञ्चवर्गीय भिक्षुहरूले अर्हत्व पाए ।

चार आर्यसत्यमध्ये पहिलो आर्यसत्यमा दुःख–समुदायको परिभाषा पाइन्छ । उपादानयुक्त शरीर धारण नै दुःख हो । जन्म, व्याधि, बुढ्यौली, मृत्यु, अप्रियसँग सहचर्या, प्रियजनसँग वियोग, इच्छाको अपूर्णता आदि दुःखकारक हुन् ।

दोस्रो आर्यसत्यमा दुःखका हेतुको परिभाषा छ । दुःख सँगसँगै दुःखको कारणबारे यसबाट जानकारी प्राप्त हुन्छ । तृष्णा र अज्ञानता नै जीवनमा दुःखको कारण हो ।

तेस्रो आर्यसत्य हो– दुःखको निरोध । दुःखको कारण बुझेपछि दुःखलाई निरोध गर्न सकिन्छ । तृष्णा र रागको निरोधबाट निर्वाणको मार्ग प्रशस्त हुन्छ । दुःखको निरोधबारे जानकारी पाएपछि मात्र त्यसको उपाय मार्गको अवलम्बन गर्न सकिन्छ । यसका लागि भगवान् बुद्धले आर्य–अष्टाङ्गिक मार्गको शिक्षा दिएका छन् ।

आय–अष्टाङ्गिक मार्गमा शील, समाधि र प्रज्ञाको अवलम्बनमा जोड दिइएको छ । आठवटा मुक्तिका मार्गहरू किटिएकोले यसलाई अष्टाङ्गिक मार्ग भनिएको हो । पहिलो मार्ग– सम्यक् (यथोचित) वचन बोल्नु । दोस्रो– सम्यक् कर्म गर्नु । तेस्रो– सम्यक् आजीविका वा जीवनको जोहो गर्नु । चौथो– सम्यक व्यायाम गर्नु । पाँचाँै– सम्यक् स्मृति राख्नु (रागद्वेशबिनाको) । छैठौँ– सम्यक समाधि अर्थात् चित्तमा एकाग्रता बनाउनु । साताँै– सम्यक् दृष्टि अर्थात् यथार्थ ज्ञान राख्नु, मित्थ्यालाई त्याग्नु । आठौँ– सम्यक् सङ्कल्प जसमा कुशल विचार धारणसहित चिन्तन् मनन गर्नु रहेको छ ।  यसप्रकार भगवान् बुद्धले आय–अष्टाङ्गिक मार्गमा मध्यममार्गको वकालत गरेको देखिन्छ ।

भगवान् बुद्धले पहिलो धर्मचक्र प्रवर्तन सारनाथमा गरेपछि भिक्षुहरू एक्लै रहेमा दुर्बल हुन सक्छन्, सत्यपालनामा कठिनाइ आउन सक्छ ।  साथसाथै रहेमा परस्परमा सहायता प्राप्त हुन्छ । नत्र भिक्षुहरू फेरि पुरानै बाटोमा फर्कने डर हुन्छ । भिक्षुहरूबीच प्रेम, भातृत्व, पवित्रता, सत्यपिपासा र सदाचारको साम्राज्य स्थापना गर्न सङ्घको आवश्यकता हुन्छ भन्दै भगवान् बुद्धले आफू र पञ्चवर्गीय भिक्षुहरूको पहिलो सङ्घ स्थापना गरे । त्यसबखत पहिलो चोटि भिक्षु कौडिन्यले “बुद्धम् शरणम् गच्छामी, धर्मम् शरणम् गच्छामी, सङ्घम् शरणम् गच्छामी” श्लोक गाएर बुद्धको प्रार्थना गरेका थिए ।

त्यसपछि काशीमा पुगेर भगवान् बुद्धले श्रेष्ठी (महाजन) पुत्र यश लगायतलाई प्रव्रजित गरे । भिक्षु अश्वजितले “ये धर्मा प्रभवाहेतु हेतु स्तेर्षास्तथागतो आहऽह्यवदत् तेषांञ्च यो निरोधो एवंवादी महाश्रमणः ।।” (यी धर्महरू हेतुबाट पैदा भएका हुन् भनी तथागत (बुद्ध)ले भनेका छन् । तिनीहरूको निरोधको बारेमा पनि बताउने महाश्रमण (बुद्ध) नै हुन् भनेर सुन्दर तरिकाले गएको सुनेर सारिपुत्र प्रभावित भएपछि उनका मित्र मौद्गल्यायनलगायत २५० श्रवणहरू पनि बुद्ध शिष्य भए ।

त्यसै गरी गयाका बुद्धिमान् अग्निहोत्री काश्यप ब्राह्मण दाजुभाइहरू र उनीहरूका एक हजार शिष्यहरूले पनि बुद्ध धर्म ग्रहण गरे । भगवान् बुद्धले शाक्यवंशी र अग्निहोत्रीहरूलाई विना हिच्किचाहट एकैचोटि उपसम्पदा दिनू भन्ने आज्ञा भएको छ ।

उपस्थापक भिक्षु आनन्दको अनुरोधमा उपासिका प्रजापति गौतमी, यशोधरा लगायतका महिलाहरूका लागि भिक्षुणी सङ्घको स्थापना गर्न अनुमति दिएपछि भिक्षुणी सङ्घको पनि विस्तार भयो ।

मगधका राजा विम्विसारबाट राजगृह (विहारको राजगिर)मा वेलुवन विहार, श्रावस्तीमा अनाथपिण्डकबाट (कोशलका करोडपति महाजन) जेतवन विहार, शाक्यहरूबाट निग्रोधाराम (कुदानमा), वैशालीमा कुटागारशाल आदि विहारहरू भेटमा ग्रहण गरेर उनले बुद्ध धर्मका धेरै केन्द्रहरूको स्थापना गरे ।

बुद्धत्व प्राप्तिको सातौँ वर्षावासमा (वर्षात्को चार महिने आरामको बेला) भगवान् बुद्ध देवपुत्रको रूपमा जन्मेका आफ्नी मृत आमा मायादेवीलाई त्रायतिंस लोकमा धर्मदेशना गरेको मानिन्छ । स्वयम्भू पुराणअनुसार उनी त्यसबेला नेपालको काठमाडौं उपत्यका आई स्वयम्भू, गुह्येश्वरी, नमोबुद्ध लगायतको तीर्थयात्रा गरेको वर्णन पाइन्छ ।

यसप्रकार भगवान् बुद्धले ८० वर्षको उमेरसम्म भारत र नेपालका विभिन्न भूभागमा बुद्ध धर्मको प्रचार गरी विताए । चुन्द कर्मार (कामी)को घरमा सुकरमद्दव (एक प्रकारको च्याउ वा सुँगुरको मासु)को भोजनपछि उनलाई अजीर्ण रोगले च्याप्यो । कुशीनगरको हिरण्यवती नदी किनाराको मल्लहरूको सालवनमा उत्तराभिमुख भई शय्यामा पल्टेर उपदेश दिँदै उनले महापरिनिर्वाण प्राप्त गरे । त्यसैबेला उनले भविष्यमा मैत्रेय बुद्धको आवागमन हुने भविष्यवाणी गरेका थिए ।

चक्रवर्ती राजासरह उनको अन्त्येष्टि गरिएको थियो । उनको अस्तिधातु गर्भमा राखेर हजारौँ चैत्यहरू स्थापना गरिएका छन्, जुन बौद्धधर्मावलम्बीहरू अतीव पूजनीय मान्दछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।