शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटिभेशनल वक्ता पनि थिए बुद्ध

सोमबार, ०२ जेठ २०७९, ०६ : २२
सोमबार, ०२ जेठ २०७९

साधारणतया हामीलाई लाग्छ, घरबार त्यागेर हिँडेका गौतम बुद्धले त्यागका कुरा मात्र सिकाएका होलान् । तर बुद्ध सधैं भन्ने गर्थे, ‘उद्योग गर, उद्यमी होऊ, अल्छी नगर ।’ भिक्षुहरूको लागि यसको तात्पर्य साधनामा प्रयासरत होऊ भन्ने हो । गृहस्थहरूको लागि भने ‘व्यापार व्यवसायमा प्रगति गर्न प्रयत्नशील रहनु’ भन्ने अभिप्राय हो ।

बुद्ध एक मोटिभेशनल मास्टर

बुद्धले सुनाएका कथाहरू अध्ययन गर्यौं भने हामी पाउँछौं, उनले नैतिक शिक्षाका कथा मात्र होइन, उत्प्रेरणादायक कथाहरू पनि प्रशस्त सुनाएका छन् । यस हिसाबले बुद्धलाई त्यस बखतको मोटिभेशनल वक्ता पनि भन्न सकिन्छ । उनको शिक्षाले मानिसहरूलाई सधैं आर्थिक उन्नतिको लागि उत्प्रेरित गरेको छ । साथै, त्यसको विपरित अल्छीपना वा प्रगति नगरी बस्नुलाई निन्दा गरिएको छ ।  उनले मानिसहरूलाई भौतिक, आर्थिक प्रगतिमा उत्साहित बनाउन थुप्रै रोचक कथाहरू हालेका छन् । यहाँ ‘चुल्लसेट्ठी जातक्’ शीर्षकको एउटा त्यस्तै खालको कथा प्रस्तुतिसँगै यो आलेखको सुरुवात गर्दछु ।

दरिद्र पुरुषबाट नगर सेठ बन्नेको कथा

यस जातक् कथामा वाराणसीका एक गरीब केटोले आफ्नो मेहनत र बुद्धि लगाएर समृद्धिको यात्रा गरेको वर्णन छ । सो केटालाई अन्तेवासिक भनिन्थ्यो, जसको अर्थ हुन्थ्यो ‘दरिद्र पुरुष’ । तर उसले जीवनमा गरेको असाधारण प्रगति देखेर अन्त्यमा त्यस नगरको एउटा सेठले आफ्नी छोरी दियो ।

कथा अनुसार एक दिन त्यो गरिब केटो अर्थात अन्तेवासिक गल्लीमा उभिई रहेको थियो । त्यसै बेला नगरको ठूलो सेठ पनि सोही गल्ली हुँदै आइरहेको थियो । बाटोमा एउटा मरेको मुसा देखेर त्यो सेठले भन्यो, ‘एउटा बुद्धिमान व्यक्तिको लागि यो मरेको मुसा पनि आर्थिक उन्नतिको लागि पर्याप्त छ ।’ सेठको कुरा सुनिरहेको अन्तेवासिकले सोच्यो, ‘यति ठूलो व्यक्तिले निश्चय पनि बेकारमा यो कुरा भनेको होइन होला ।’ उसले मरेको मुसा उठाएर लग्यो । मरेको मुसा के गर्ने भनेर सोच्दै हिँडिरहेको बेला उसले एउटा पसले देख्यो । पसलेले बिरालो पालेको थियो । उसले सो मुसा पसलेलाई दियो ।

बदलामा पसलेले अन्तेवासिकलाई थोरै सक्खर दियो । उसले सक्खरलाई एउटा भाँडोमा हालेर पानी मिसायो । त्यहाँ मालिनीहरू दैनिक रूपमा जंगलमा फूल टिप्न जान्थे । उसले जंगलबाट फूल टिपेर फर्किरहेका मालिनीहरूलाई सक्खर–पानी खान दियो । गर्मीको समयमा प्यास लागेका मालिनीहरू खुशी भई हरेकले केही फूलका गुच्छा उसलाई दिए । उसले ती फूल बेची केही पैसाको फेरि सक्खर किनेर अर्को दिन पनि ती मालिनीहरूलाई सक्खर–पानी ख्वाउन गयो । यसपाली अझ बढी फूलका गुच्छा पायो । केही दिनसम्म यस्तै गर्दा गर्दै उसले थोरै भए पनि पैसा जम्मा गरिसकेको थियो ।

एक दिन बेस्कन हावाहूरी चल्यो र राजदरबारको बगैंचामा रूखका हाँगा पातहरू झरेर फोहर भयो । सो बगैंचाको रेखदेख पनि तिनै मालिनीहरूले गर्थे । उनीहरू आत्तिए, ‘यति बिघ्न फोहर कसरी सफा गर्ने होला ?’ अन्तेवासिकले मालिनीहरूलाई भन्यो, ‘यी हाँगा पात सबै मलाई दिने भए म सफा गरिदिन्छु ।’ मालिनीहरूले सजिलै हुन्छ भने । उसले दरबारबाहिर खेलिरहेका बालकहरूलाई सक्खरका टुक्रा दिएर लोभ्यायो र बगैंचाको फोहर उठाएर बाहिर राख्न लगायो ।

त्यसपछि उसले एउटा कुमालेलाई रूखका हाँगा पातहरू आफूसित भएको बतायो । कुमालेलाई माटाका भाँडा पकाउनलाई काठपात चाहिएको थियो । कुमालेले केही पैसा र पाँचवटा माटाका भाँडा दिएर काठपात किनेर लग्यो । यस बेलासम्म ऊसित चौबिस रूपैंया भइसकेको थियो । त्यसबेला चौबिस रूपैंया भनेको सानो रकम थिएन ।

त्यसबेला नगरको ढोका नजिकैको मैदानमा सैयौं घाँसीहरू घाँस काट्न आउँथे । अन्तेवासिकले पाँचवटा माटाका भाँडामा सक्खर पानी बनाएर ती घाँसीहरूलाई ख्वाउन थाल्यो । उसले धेरै दिनसम्म यसरी नै घाँसीहरूको लागि स्वयम्सेवा गरिरह्यो । घाँसीहरू उसको स्वयम्सेवाको भावनाबाट प्रभावित भएर उसलाई केही दिन चाहन्थे, तर उसले आवश्यक परेको बेला माँगौंला भनेर सेवामा लागिरह्यो ।

अन्तेवासिक त्यहाँ बसेर घाँसीहरूलाई सेवा पुर्याउँदा पुर्याउँदै उसले नगरको ढोकामा बस्ने राजाका स्थल सेना र जल सेनाका कर्मचारीहरूसित पनि मित्रता गरिसकेको थियो । उसले स्थल सैनिकबाट जानकारी पायो कि भोलिपल्ट त्यहाँ एउटा घोडाको व्यापारी आफ्ना पाँच सय घोडाहरू लिएर आउँदै छ । अन्तेवासिकले घाँसीहरूलाई गएर भन्यो कि उसलाई सबै घाँसीहरूले एक एक मुठ्ठा घाँस दिनू र भोलि उसले घाँस नबेचुञ्जेल कसैले घाँस नबेच्नू । घाँसीहरूले अन्तेवासिकले उनीहरूलाई दैनिक सेवा गरिरहेको बापत त्यति गर्नु मनासिब ठाने । अनि सैयौं घाँसीहरूले एकेक मुठ्ठा घाँस उसको घरमा पुर्याइदिए । भोलिपल्ट घोडा व्यापारीले आफ्ना घोडाहरूलाई ख्वाउन घाँस किन्न खोज्दै जाँदा कतै पाएन । आखिरमा उसले अन्तेवासिकको घरमा घाँसको थुप्रो रास देख्यो । घोडा व्यापारीले त्यो घाँसको थुप्रोको लागि हजार रूपैंयासम्म दिन तयार भयो ।

फेरि एक दिन उसले जलसैनिक साथीबाट थाहा पायो कि नगरको बन्दरगाहमा सामानले भरिभराऊ एउटा व्यापारिक जहाज आउँदै छ । ऊ एउटा पाल गाडेर त्यहीँ बन्दरगाह नजिक बसिरह्यो । जहाज आउनासाथ उसले जहाजको मालिकलाई ‘जहाजमा भएका सबै सामान म किन्छु । अरु कसैलाई नदिनू । हजार रूपैंया अहिल्यै बैना दिन्छु’ भन्यो । जहाजको मालिक पनि तुरुन्तै सबै सामान बिक्री भएकोले खुशी भएर केही छुटमै मोल तय गरेर बैना लियो ।

जहाज आएको थाहा पाएर नगरका सय भन्दा धेरै व्यापारीहरू सामान किन्न आए, तर सामान त पहिल्यै बैनाबट्टा भइसकेको थाहा पाएर निराश भए । पछि तिनै व्यापारीहरूले अन्तेवासिकसित सम्झौता गर्न आए । अन्तेवासिकले भन्यो, ‘सामान चाहिनेहरूले मलाई अग्रिम भुक्तानी गर्नुपर्छ ।’ यसरी उसले व्यापारीहरूसित अग्रिम पैसा उठायो । उसले पूरै जहाजको समान मोल तिरेर किन्यो । यसरी त्यो सामानबाट व्यापारीहरूलाई थोकमै बेचेर पनि दुई लाख नाफा कमायो ।

अनि अन्तेवासिक कथाको सुरुमा उसले गल्लीमा भेटेको नगरको सेठलाई भेट्न गयो । उसले नगरको सेठलाई एक लाख रुपैंया दिन चाह्यो । नगरसेठले त्यसको कारण सोद्धा उसले सेठको वचनबाटै मरेको मुसा बेचेर क्रमशः अनेकन जुक्ति गरेर कमाउँदै यो अवस्थामा पुगेको बतायो । साथै उसले सेठकै वचनबाट कमाउन सफल भएको हुनाले उसलाई आधा हिस्सा अर्थात् एक लाख रुपैया दिन चाहेको बतायो ।

नगर सेठ अन्तेवासिकबाट अत्यन्त प्रभावित भयो । उसले त्यत्तिको बुद्धिमान केटालाई छोड्न हुँदैन भन्ने सोची उसलाई आफ्नो छोरी विवाह गरिदियो । यसरी ऊ अन्तेवासिक अर्थात् दरिद्र पुरुषबाट नगरसेठ बन्न पुग्यो ।

यस कथाले मानिसलाई समृद्धितर्फ निरन्तर प्रवृत्त रहन उत्प्रेरित गर्छ । आफू गरिब छु भनेर चुप लागेर बस्नु भन्दा सकेको केही गर्न प्रेरित गर्छ । कमाउने काम नहुँदा चुप लागेर बस्नुभन्दा स्वयंसेवी हुनु राम्रो भन्ने उदाहरण दिन्छ । सधैं केही न केही गरिरहन, क्रियाशील रहन उर्जा दिन्छ । अनि मेहनतको साथै मौकामा बुद्धि पनि लगाउनु पर्ने शिक्षा दिन्छ ।

व्यवसाय र अध्यात्म फरक कुरा हुन् ?

धेरै मानिसको सोच छ, धन कमाउनु भनेको अध्यात्मको विपरीत कुरा हो वा भनौं व्यावसायिक उन्नति भनेको सांसारिक व्यापार हो, आध्यात्मिकता भन्दा धेरै फरक । साथै यस्तो पनि बुझाइ छ कि अध्यात्ममा लाग्ने मानिसले सफलताको चाहना पनि राख्नु हुँदैन । किनभने इच्छा आकांक्षाले मनलाई शान्ति दिँदैन । धन वा सफलताप्रति यस्तो धारणा बन्नुको दुइटा कारण छन्ः

१. धनको लागि जस्तोसुकै खराब साधन पनि प्रयोग गर्नु ।

२. जत्ति कमाए पनि सन्तोषको अनुभूति नहुनु ।

बुद्धले आफ्नो अष्टांगिक मार्गमा सम्यक आजीविकालाई पनि समावेश गरेका छन् । मिथ्या आजीविकाले निश्चय पनि सुख शान्ति दिँदैन । खराब बाटोबाट कमाएको धनले मनमा चैन दिँदैन । सन्त कबीरले भनेका छन्—

कामी तरै क्रोधी तरै पापी तरै हजार ।

लोभी जियारा ना तरै कहै कबीर विचार ।।

अर्थात्, सबै किसिमका पापी धर्ममा लागेर तर्न सक्छन्, तर लोभी मान्छे केही गरी पनि तर्न सक्दैन । नेपालीमा पनि भनाइ छ लोभले लाभ, लाभले विलाप । निश्चय पनि लोभलाई आधार बनाएर कमाएको धनबाट शान्ति पाइँदैन । आफ्नो फाइदालाई मात्र व्यापारको आधार बनाइएको छ भने त्यसरी कमाएको धनले मानसिक शान्ति दिँदैन । कसैलाई हानी पुर्याएर आफ्नो फाइदा निकालेको छ भने त झनै त्यसले शान्ति दिँदैन । प्रगतिको लागि अवलम्बन गर्ने साधन पनि दोषबाट मुक्त हुनुपर्छ । छोटो बाटोबाट छिटो धन कमाउने चाहनाले मानिसलाई अन्धो बनाउँछ । धनप्रति यस्तै व्यवहारले सफलता र व्यापार बदनाम भएको हो ।

धनप्रति लाग्ने अर्को लाञ्छना हो, यो जत्ति भए पनि पुग्दैन । अझ भनूँ त जति धेरै सम्पत्ति जोड्यो, अझै धेरै जोड्ने चाहना हुन्छ । समुद्रको नूनिलो पानी पिएजस्तै जति पियो, झन झन बढी प्यास लाग्छ । यो कुरा सही हो । यहाँनेर वास्तवमा हामी किन कमाउँछौं भन्ने कुरा बुझ्नुपर्छ । मानिसले कमाउने आफ्नो भविष्य सुनिश्चित गर्नको लागि हो । पैसाले धेरै हदसम्म हाम्रो भविष्य सुनिश्चित हुन्छ पनि । जब हाम्रो आम्दानी हुँदैन, तब हामीले गरेको बचत जति सहयोगी हुन्छ, हाम्रा आफ्नै आफन्तहरू पनि हुँदैनन् । त्यसैले कमाइको सँगसँगै बचत पनि गर्दै जानुपर्छ ।

तर यो वास्तविक कुरा हो कि हामीसित जति नै धन भए पनि हाम्रो भविष्य पूर्ण रूपमा सुनिश्चित हुन सक्दैन । त्यसैले हाम्रो मनको कुनै कुनामा भविष्यको अनिश्चितताप्रति चिन्ता भइरहन्छ । हामीले के बुझ्नुपर्छ भने कसैको पनि भविष्य शतप्रतिशत सुनिश्चित हुँदैन । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्ने हो तर सम्पूर्ण सुनिश्चितता यथार्थपरक कुरा होइन । त्यसैले त्यसतिर जानु भनेको आफ्नो मनमा चिन्ता, बेचैनीलाई ठाउँ दिनु हुन जान्छ ।

यो कुरा पैसाको मामिलामा मात्र लागू हुँदैन, शक्तिको मामिला अझै धेरै लागू हुन्छ । राजनीतिक शक्ति भएका मानिसहरू जति शक्तिशाली भयो, उनीहरू अझै धेरै शक्तिको चाहना गर्छन् । किनभने उनीहरू बाहिरबाट जति शक्तिशाली देखिन्छ, उति नै भित्रभित्रै असुरक्षित महसूस गरिरहेका हुन्छन् । यहाँ समस्या धन वा शक्ति समस्या होइन, बरु समस्या हो त आफ्नो मनभित्रको असुरक्षाको भावना हो । असुरक्षा हुन्छ भनेर धन कमाउनबाट वा शक्तिशाली पदबाट विमुख हुनुपर्छ भन्ने कुरा होइन, बरु असुरक्षाको भावनालाई समाप्त पार्नु आवश्यक छ । यसको लागि जीवन वा धन कहिल्यै पनि शतप्रतिशत सुरक्षित हुन सक्दैन भन्ने यथार्थलाई आत्मसात गर्नसक्नु पर्दछ । यति गर्दा पनि बेचैनी वा मनभित्रको डर शान्त नभए ध्यानको अभ्यासमा लाग्नुपर्ने हुन्छ ।

व्यवसायमा मैत्री र करुणाको प्रयोग

सम्यक आजीविका भनेको मैत्री र करुणामा आधारित भएर व्यवसाय गर्नु हो । वास्तवमा हरेक व्यवसायको मूलमा खुशी रहेको हुन्छ । ग्राहकको खुशीको ख्याल राख्नु मैत्री हो भने उनीहरूको समस्या बुझ्न सक्नु करुणा हो ।

मानिसले केही उत्पादन वा सेवा किन्छ भने त्यो आफ्नो खुशीको लागि हो । कसैले पनि दुःख किन्नको लागि पैसा खर्च गर्दैन । हामी नयाँ लुगा किन्छौं र खुशी हुन्छौं । नयाँ मोबाइल किन्दा वा रेष्टुरेन्टमा जाँदा होस्, हामी खुशी खोज्छौं । अनि मानिसले केही सेवा खोज्छ भने त्यो आफ्नो समस्याको समाधानको लागि हो, त्यो चाहे स्वास्थ्य सेवा होस् वा मर्मत सम्भारको सेवा ।

धेरै मानिसले सोच्छन्, मैत्री र करुणाको अभ्यास भनेको ध्यान साधनाबाट मात्र हुन्छ र यी आध्यात्मिक कुरा हुन् । निश्चय पनि यी आध्यात्मिक गुण हुन्, तर ग्राहक वा सेवाग्राहीको समस्या र उसको खुशीको ख्याल राख्नु पनि मैत्री र करुणाको अभ्यास हो । आफ्नो काममा जति मैत्री र करुणा जोड्न सकियो, त्यति नै त्यसले मनमा सुख र शान्ति प्रदान गर्छ । त्यसले भौतिक सम्पन्नता मात्र होइन, आध्यात्मिक उन्नति पनि गराउँछ ।

(आर. मानन्धर दर्शन शास्त्रका अध्येता हुन् । उनका दर्शनसम्बन्धि पुस्तक ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ प्रकाशित छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप