नाती–नातिनी नजन्माएको भन्दै भारतमा छोरा बुहारीमाथि ५ करोड माग गर्दै मुद्दा
बुढेसकालमा नाति/नातिनीको सुखबाट बन्चित गरेको आरोपमा हरिद्वारमा एक महिला (आमा)ले आफ्ना छोरा–बुहारीमाथि मुद्दा दायर गरेकी छन्। साधनाप्रसाद नामकी महिलाले आगामी एक वर्षभित्र हजुरआमा बन्ने सुख नदिए छोरा बुहारीले पाँच करोड भारु जरिवाना भर्नुपर्ने माग गरेका छन् ।
साधना प्रसादको वकिल ए.के.श्रीवास्तवले ‘घरेलु हिंसाबाट महिलाको संरक्षण कानुन’ अन्तरगत हरिद्वारको जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । ‘साधना प्रसाद र उनका पति सन्जिव रन्जनले जीवनभर जम्मा गरेको पैसा तिनको छोराको हुकाईबढाई र उनको करिअर निर्माणमा लगाए ।
विवाहमा पनि मन फुकाएर खर्च गरे । अहिले छोराले उनीहरुसँग बोलचाल पनि बन्द गरेर बसेका छन् । यो एक आमामाथि मानसिक उत्पीडन भएकाले हामीले घरेलु हिंसा अधिनियम–२००५ को धारा १२ अन्तरगत अदालतमा मुद्दा दायर गरेका छौं,’ वलिक ए.के. श्रीवास्तवले भने ।
बच्चा जन्माउने की नजन्माउने भन्ने विषय बुहारीको व्यक्तिगत निर्णय होइन र भन्ने भन्ने प्रश्नमा श्रीवास्तवको जवाफ थियो,‘ बच्चा नजन्माउने हो भने उनलाई जरिवाना तिर्ने विकल्प पनि दिइएको छ । पाँच करोड जरिवाना तिरेपछि बच्चा नपाए पनि हुन्छ ।’
साधना प्रसादका पति ६० वर्षीय सन्जिव रन्जन प्रसाद बीएचईलका सेवा निवृत्त इन्जिनियर हुन्। उनका ३५ वर्षीया छोरा सागर गुवाहाटीको एक वायुसेवामा पाइलट छन् । बुहारी भने नोयडामा काम गर्छिन् । दुईबीच सन् २०१६ मा विवाह भएको थियो ।
अदालतमा दर्ता भएको मुद्दामा साधना प्रसादका छोरा–बुहारीका अतिरिक्त बुहारीका बाबुआमा र उनका दुई भाइमाथि पनि मुद्दा हालिएको छ । ससुरालीले छोराको कमाइमाथि नियन्त्रण कायम राखेको भन्ने आरोप लगाइएको छ ।
साधना प्रसादले छोरालाई पालन पोषण गरेर हुर्काउन, पढाउन र उसको करिअर बनाउदाँसम्म करिब २ करोड भारु खर्च भएको हिसाब दिएकी छन् । छोरालाई पाइलट पढाउन अमेरिकाको पठनपाठनमा ३५ लाख भारु, अमेरिकामा रहँदा बस्दा २० लाख भारु खर्च भएको उल्लेख छ ।
त्यस्तै छोराले प्रयोग गर्ने ६५ लाख भारुको महंगो कार पनि आफूहरुले किनिदिएको उनले बताएकी छन् । त्यस्तै छोराको विवाहमा भएको खर्च, थाइल्याण्डको हनिमुन भ्रमणमा भएको पाँच लाख भारु पनि आफूहरुले नै तिरिदिएको तिनको दावी छ । तर अहिले आएर छोरा बुहारी उनीहरुबाट अलग रहेकोमा तिनले चित्त दुखाएका छन् ।
‘हामीसँग नबोल्दा छोरा खुसी हुन्छ भने नबोलोस् । हामी उसको जीवनमा हस्तक्षेप गर्दैनौं । तर हामीले नाति/नातिनी दिलाउन माग्दा उनीहरु अनेक बहाना गरेर टारिरहेका छन् । जबकि उनीहरुको विवाह भएको पाँच वर्ष बढि भइसक्यो ।’
उता सामाजिक कार्यकर्ता गीता गैरोला बयोबृद्ध आमाबावुसँग वयस्क छोराबाट आर्थिक, मानसिक–भावनात्मक सहयोगको माग गर्न नैतिक अधिकार रहेको तर बालबच्चा जन्माउने वा नजन्माउने विषय महिला(बुहारी) को अधिकार भएको बताइन् ।
भारतको आमाबुवा र वरिष्ठ नागरिकको भरणपोषण र कल्याणसम्बन्धी कानुन–२००७ का अनुसार आमाबुवाले आफ्ना सन्तानसँग भरण पोषणको माग गर्न पाउने बताए । यस कानुनको सन् २०१९ को प्रस्तावित संशोधनमा सन्तानमा छोरा, छोरीका अतिरिक्त बुहारी र ज्वाई पनि पर्छन् ।