शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार विदाको पहिलो दिन : के भन्छन् सरकारी कर्मचारीहरु

कर्मचारी भन्छन्, ‘३/४ हप्तापछि बोर लाग्न थाल्छ होला’
आइतबार, ०१ जेठ २०७९, २० : ५७
आइतबार, ०१ जेठ २०७९

बढ्दो इन्धनको खपतलाई घटाउन भन्दै सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सातामा दुई दिन अर्थात् शनिवार र आइतबार विदा दिने निर्णय गरेसँगै जेठ १ गते आइतबार सार्वजनिक विदा भयो ।

आइतबार सार्वजनिक विदा भएसँगै अधिकांश सरकारी कर्मचारीले घरमै आराम गरे । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको कारण अधिकांश कर्मचारीहरु घरमै टिभी हेर्ने र अपडेट हेर्नमै ब्यस्त भए । केही कर्मचारीले परिवारसँग समय बिताउने मौका पाए । केही कर्मचारी भने विदाका दिनमा पनि कार्यालयको काममै ब्यस्त रहे ।

हामीले आइतबार विदाको पहिलो दिन कस्तो रह्यो भनेर ५ जना सरकारी कर्मचारीसँग कुराकानी गरेका छौँ । 

मोदीको भ्रमणले गर्दा विदा नै पाइएन : जीवनराज सेढाई, उपसचिव, शहरी विकास मन्त्रालय
शहरी विकास मन्त्रालयका उपसचिव हुन् जीवनराज सेढाई । आइतबार सार्वजनिक विदा भएपनि उनी कार्यालयको कामको सिलसिलामा लुम्बिनीमा रहेका छन् । भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको भ्रमणको पूर्व तयारी लगायतका कामका लागि उनी लुम्बिनीमा खटिएका छन् । विदाको पहिलो दिन कस्तो रह्यो त भन्ने रातोपाटीको प्रश्नमा उनले विदाको अनुभव लिनै नपाएको बताए । 

उनले भने, ‘सरकारले सार्वजनिक विदा त दिएको हो । तर म त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सिलसिलामा लुम्बिनीमा आइपुगेको छु । विदा लिन नपाएको कारण विदा कस्तो भयो भनेर प्रतिक्रिया दिन सक्ने अवस्था रहेन । विदा बसेपछि मात्रै आनन्द हुँदो रहेछ कि बोर हुँदो रहेछ भनेर प्रतिक्रिया दिउँला ।’

विदाको उद्धेश्य पूरा भयो कि भएन त्यो हेर्नुपर्छ : सुप्रभा ढुङ्गेल, सहायक सिडिओ, जिल्ला प्रशासन कार्यालय, काठमाडौं
सुप्रभा ढुङ्गेल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ हुन् । उपसचिव तहकी ढुङ्गेल पनि पहिलो आइतबार विदा बस्न पाइनन् । जिल्ला प्रशासन कार्यालयमा काम गर्ने भएकाले यस्तो विदा पाउन मुस्किल हुने उनले बताइन् । सँधै ब्यस्त रहने कार्यालय भएको कारण कहिलेकाहीँ शनिवार पनि काम गर्नुपर्ने उनले बताइन् । 

आइतबार विदाको पहिलो अनुभव कस्तो रह्यो त भन्ने रातोपाटीको प्रश्नमा ढुङ्गेलले विदाको अनुभव नै गर्न नपाएकाले विदा बस्न पाएपछि मात्रै अनुभवबारे बोल्न सक्ने बताइन् । 

उनले भनिन्, ‘सरकारले सातामा दुई दिन विदा दिने भनेपनि त्यो कार्यालय हेरि हुन्छ । म त आज पनि कार्यालय गएर भर्खरै फर्किएको हुँ । अब अनुभव कस्तो भयो भनेर भन्न सक्ने अवस्था नै रहेन । मेरो कार्यालय सँधै ब्यस्त रहने भएकाले मलाई त आइतबार त्यति सजिलै विदा होला जस्तो लाग्दैन । त्यसकारण विदाको अनुभव कस्तो रह्यो भन्ने बेला नै भएको छैन ।’

विदा रमाइलो होला कि बोरिङ भन्ने अर्को प्रश्नमा ढुङ्गेलले भनिन्, ‘विदा रमाइलो भयो कि बोरिङ भयो भन्दा पनि सरकारको निर्णय कार्यन्वयन भयो कि भएन भन्ने कुरा मुख्य हो । आइतबार दिइएको विदाको दिन सरकारी सवारीसाधन गुड्यो कि गुडेन, इन्धनको खपत कति घट्यो भनेर हेर्नुपर्ला । अब आइतबार हुने विदाको अनुभव कस्तो भयो भन्ने कुराचाहिँ विदा बस्न पाएपछि सुनाउँला । अहिले विदा बस्न नै पाएको छैन, त्यसकारण अनुभव छैन ।’

अब खाजा ब्रेकपछि घर दौडन बन्द होला कि ः हरि भट्टराई, शाखा अधिकृत, सर्वोच्च अदालत

सर्वोच्च अदालतका शाखा अधिकृत हुन्, हरि भट्टराई । आइतबार रातोपाटीले विदा कसरी मनाइरहनुभएको छ त भन्दा उनले निर्वाचनको मतपरिणामका सम्बन्धमा अपडेट हेरेर बसिरहेको बताए । भट्टराईले भने, ‘आइतबार विदा दिन सुरु गरेकाले आज घरमै छु । अहिले त चुनावको परिणाम आइरहेको कारण टिभी हेर्न तथा अपडेट लिँदा रमाइलो नै भएको छ । पछि पनि यसले सकारात्मक प्रभाव नै पार्ला । अब शुक्रबार पूरै समय कार्यालय सञ्चालन हुने भएपछि पूरै समय काम हुन्छ भन्ने अपेक्षा गरेको छु । शुक्रबार आधा पनि काम नगर्ने, खाजा ब्रेकपछि काम गर्न नखोज्ने र घरतिर दौडने प्रवृत्ति अब कम होला कि ।’

विदाको सही सदुपयोग भयो वा होला त भन्ने प्रश्नमा उनले भने, ‘बिहानै कार्यालय समय खुलेर समयमै काम भयो भने त्यो राम्रो हुन्छ र सकारात्मक नै हुन्छ । दुई दिन विदा दिएपछि कतै जानुपर्ने, घुम्न जाने आदिका लागि पनि पर्याप्त समय हुँदा यसलाई सकारात्मक रुपमै लिनुपर्छ । विदापछिको पहिलो आइतबार मेरा लागि रमाइलै रह्यो ।’

दुई दिन विदा दिँदा आराम गर्न र पढ्न पाइन्छ :  लिलाराज काफ्ले, शाखा, अधिकृत, उद्योग विभाग

उद्योग विभागमा कार्यरत शाखा अधिकृत लिलाराज काफ्ले दुई दिन विदा दिनाले सकारात्मक प्रभाव पर्ने बताउँछन् । पहिलो विदाको दिन आफूले घरमै समय दिन पाएको र खाना पकाउन पाएको काफ्लेले बताए । विदा कस्तो लाग्यो त भन्ने रातोपाटीको प्रश्नमा काफ्लेले भने, ‘दुई दिन विदा दिने निर्णय मलाई चाहिँ ठीक लागेको छ । म कार्यरत रहेको उद्योग विभागमा कामको चाप अलि बढी नै छ । अन्य दिन व्यस्ततामै काम हुने भएकाले आराम पनि पुग्दैनथ्यो । दुई दिन विदा भएपछि अब आराम पनि पुग्ने भयो ।’

अन्य विदा कसरी सदुपयोग गर्नुहुन्छ त भन्ने अर्को प्रश्नमा काफ्लेले भने, ‘परिवारलाई समय दिनु पनि ज्यादै महत्वपूर्ण कुरा हो । दुई दिन विदा दिएपछि अब परिवारलाई पनि समय दिन सकिन्छ । दुई दिन विदा भएपछि आफन्तसँगको भेटघाट, केही व्यक्तिगत काम आदि गर्न पाइन्छ । त्यसबाहेक अध्ययन गर्नका लागि एक दिन थप समय पाइएको छ । आज पहिलो दिन भएकाले मलाई रमाइलो नै लाग्यो । आगामी विदाका दिनहरू पनि मलाई बोर लाग्दैन भन्ने लागेको छ । निर्णय ठीक नै हो जस्तो लाग्छ मलाई चाहिँ ।’

३/४ हप्तापछि बोर लाग्छ होला : लोकेन्द्र थापा, तह पाँच, नेपाल वन निगम
नेपाल वन निगममा पाँचौ तहका कर्मचारी हुन् लोकेन्द्र थापा । सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपछि उनी जेठ १ गते पनि घरमै बसे । पहिलो आइतबारको विदा भएको कारण उनलाई आज रमाइलै लागेको बताए । यद्यपि पछि पछि बोर लाग्न सक्ने भन्दै विदाको सरकारको उद्धेश्य पूरा गर्लाजस्तो नलागेको थापाले बताए । 

उनले भने, ‘यो दुई दिनको विदा प्रभावकारी हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले जुन उद्धेश्यले दुई दिन विदाको निर्णय लिएको हो, त्यो उद्धेश्य प्राप्ति गर्ला भन्ने लाग्दैन । सरकारले बिहान ९ः३० बजेदेखि कार्यालय खोल्ने र ५ः ३० सम्म चलाउने भनेपनि कर्मचारीहरु कार्यालय आउँदा १० बज्छ नै । अनि उनीहरु ५ः ३० बजेसम्म कार्यालयमै बस्छन् भन्ने पनि मलाई लाग्दैन ।’

इन्धनको खपत घटाउने उद्धेश्य परिपूर्ति हुन्न र भन्ने रातोपाटीको प्रश्नमा थापाले भने, ‘दुई दिन विदा दिँदा इन्धनको खपत घट्ने कुरा गरिएको छ । सरकारी इन्धन घटेपनि निजी सवारीमा हाल्ने इन्धन झनै बढ्छ जस्तो लाग्छ मलाई । दुई दिन विदापछि कर्मचारीहरु घुमघाममा निस्कन्छन् र आन्तरिक पर्यटनको वृद्धि भई अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ पनि भनिएको छ । तर घुम्नका लागि कर्मचारीसँग पनि त्यति धेरै खर्च होला जस्तो मलाई लाग्दैन ।’

पहिलो दिनको विदाको अनुभवका सम्बन्धमा थापाले भने, ‘आज पहिलो दिन भएकाले मलाई चाहिँ रमाइलो नै लाग्यो । निजी काम गर्नका लागि समय पाएँ । तर तीन चार हप्तापछि रमाइलो भन्दा पनि बोर लाग्छ होला जस्तो लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप