शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जारी मतगणनामा एमालेको चरम असन्तुष्टि

आइतबार, ०१ जेठ २०७९, १७ : ०३
आइतबार, ०१ जेठ २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । 

मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको दाबी छ ।

सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ । 

यस्तै मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं’, एमालेको विज्ञप्तिमा भनिएको छ ।  

मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पनि एमालेको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप