शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका ६ जना बलिया बागी : पार्टीले पत्याएन, मतदाताले पत्याए

आइतबार, ०१ जेठ २०७९, १६ : ०१
आइतबार, ०१ जेठ २०७९

स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म काँग्रेसले ९ पालिकामा जित हासिल गरेको छ भने २५० भन्दा बढी पालिकामा अग्रता लिएको छ । यहीबीचमा नेपाली काँग्रेसले २७ भन्दा बढी पालिकामा वडा अध्यक्ष पनि जितेको छ । काँग्रेसले टिकट नदिएपछि विद्रोह गरेका ६ जनाले समेत बाजी मारेपछि उनीहरुको चर्चा भएको छ ।  

ललितपुर महानगरपालिका– १, बुटवल उपमहानगरपालिका– १, बूढानीलकण्ठ नगरपालिका– ३, बर्दिबास नगरपालिका– ७, नमोबुद्ध नगरपालिका– १  र फालेलुङ गाउँपालिका–१ मा काँग्रेसका बागीले बाजी मारेका हुन् । ललितपुर महानगरपालिका–१ मा काँग्रेस विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका निर्मल तण्डुकार ६६१ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका आधिकारिक उम्मेदवार ध्रुव लाल तण्डुकारले ४२५ मत ल्याएका थिए । निर्मलसँग निकटतम प्रतिस्पर्धी ध्रुवलाल २३६ मतान्तरले पराजित भएका हुन् ।

यस्तै बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेका बस्नेतले ६ सय ३६ मत ल्याएर जित हात पारेका थिए । एमालेका महेन्द्र लिगल ५ सय ५१ मत ल्याएर दोस्रो हुँदा काँग्रेसले तेस्रो मत पाएको थियो ।

यस्तै बूढानीलकण्ठ नगरपालिका– ३ को वडाध्यक्षमा पनि काँग्रेसका बागी आकाश धिताल निर्वाचित भएका छन् । यसअघि वडासदस्य रहेका धितालले वडाध्यक्षमा दाबी गरेका थिए । काँग्रेसले टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । धितालले ५ सय १२ मत ल्याएर वडाध्यक्षमा जित हासिल गरेका छन् ।  धितालले एमालेका राजेन्द्र खड्कालाई ३८ मतान्तरले पराजित गरेका हुन् । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरी काँग्रेसका नवराज भण्डारीले ३ सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दिबास नगरपालिका– ७ को अध्यक्षमा पनि काँग्रेसका बागी उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । काँग्रेसले गठबन्धनका नामा ७ माओवादी केन्द्रलाई दिएपछि काँग्रेस नेता सोगारनाथ यादवले स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनबाट माओवादीका उम्मेदवार सुरेन्द्र सिंहलाई १ मतले हराउँदै काँग्रेसका बागी उम्मेदवार यादवले बाजी मारेका हुन्  । 

यस्तै काभ्रेको नमोबुद्ध नगरपालिकाको वडानम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार प्रेम लामाले जितेका छन् । काँग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि बागी उठेका लामाले ५ सय ५६  ल्याएर वडाध्यक्षमा जीत हात पारेका हन् ।

काँग्रेसका आधिकारिक उम्मेदवार गणवज्र लामाको भन्दा दोब्बर बढी मतले उनले बाजी मारेका हुन् । काँग्रेस गणवज्रले २ सय ८ मत मात्र पाएका थिए । यस्तै पाँचथरको फालेलुङ गाउँपालिका–१ को वडाध्यक्षमा पनि काँग्रेसकै बागीले नै बाजी मारेका छन् । काँग्रेसले टिकट नदिएपछि टेकबहादुर गुरागाईं (अनिष)ले बागी उम्मेदवारी दिएका थिए । गठबन्धनका नाममा काँग्रेसले एकीकृत समाजवादीलाई वडा नम्बर १ को अध्यक्ष छोडेपछि गुरागाईँ स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिएका थिए । त्यसमा उनलाई सफलता मिलेको छ । उनी ३ सय ९५ मत ल्याएर वडाध्यक्षमा विजय बनेका छन् । 

गुरागाईंले गठबन्धनबाट समाजवादीका म्मेदवार श्रीप्रसाद जबेगूलाई पराजित गरेका हुन् । एकीकृत समाजवादीका जबेगूले ३ सय १९ मत पाए । निवर्तमान वडाध्यक्ष जबेगूलाई गुरागाईँले ७४ मतान्तरले पराजित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप