शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंलाई पत्र

आइतबार, ०१ जेठ २०७९, १३ : ०१
आइतबार, ०१ जेठ २०७९

मेरो प्यारो काठमाडौं,

भन्छन् आफूलाई दुःख पर्दा आफूजस्तै दुःखीको सम्झना आउँछ रे । त्यस्तै आज मलाई सञ्चो नभएर घर बस्दा बिचरा तिमी त बिरामी भएको निकै नै भइसक्यो भन्ने सम्झिए । म त छिटै ठिक भएर हिँड्छु । तिमीलाई ठिक पार्ने कसरी पो होला म चिन्तित छु ।

सानै थिएँ म । हजुरआमा जनकपुरबाट काठमाडौं फूपूको घर आउनुहुन्थ्यो । हजुरआमा फर्किदा पुष्टकारी, गुदपाक ल्याउनु हुन्छ भनेर पर्खेर बस्थें । आहा, त्यो पुष्टकारीको मिठास । समय क्रमले अहिले म पनि तिम्रो सहरको वासिन्दा भएको छु । तिम्रो मिठास हराएसँगै, पुष्टकारीको मिठास पनि अहिले कहाँ त्यो बेलाको जस्तो छ र ?

प्रिय काठमाडौं, तिमी कति ज्ञानी र सहनशील रहेछौ । तिम्रो छातीमा उफ्रिएर तिम्रा बचेराहरुले ठूला ठूला महल ठड्याए, घर, मल, कम्प्लेक्स बनाए । तिम्रो साथ पाएर कतिले घरजम गरे । कतिको जीवनको नवसिर्जना गरिदियौ तिमीले । तिम्रो औँला समातेर कतियौं बिदेश उडेका पनि छन् । कतिलाई डाक्टर, इन्जिनियर, व्यापारी, नेता र ठूला मान्छे  बनायौ तिमिले ।

सुन ‘खुसीको कुरा छ है एउटा । तिमीलाई अब समार्ट बनाउने रे नि । तिम्रो काखको त्यो पहाड जत्रो थुप्रो फोहरहरु सबै हटाउने रे, अझै ठूलो संरचनाहरु निर्माण गर्ने रे । तिम्रो त विकास हुँदैछ भन्छन् । स्वच्छ, सफा सुन्दर काठमाडौं निर्माण हुँदैछ रे ।

तिमी त कहिल्यै अइया आथ्थु पनि गर्दिनौ । तर हेर, मलाई तिम्रो पीडा एकदम बोध हुन्छ । त्यो चक्रपथको बाटो हिँड्दा त्यहाँका सयौं बर्ष पुराना रुखहरुको काटेर बाँकी रहेको मुडा देख्दा मलाई मेरै अंग काटिए जस्तो लाग्छ । स्वास फेर्न गाह्रो हुन्छ । तिम्रो हरियो काखमा बाल्यकालमा खेलेको सम्झनाले मन कटक्क खान्छ ।

म एक्लैले गर्न त के सक्थे होला । तर मेरो तर्फबाट तिमीसँग प्रण गर्छु कि म तिमीलाई कहिल्यै दुःख दिन्न । तिमीमा हरियाली थप्ने काम गर्छु । तिमीलाई सहयोग हुने गरी तिम्रो स्वास्थ्यको रक्षा गर्छु । जहाँ सक्छु, त्यहाँ बोल्छु । बोल्न नसके लेख्छु, तर म तिमीसँगै तिम्रो हात समातेर साथमा हुनेछु ।

तिमीलाई कति गाह्रो हुँदो होला । तिमी भनेर कति पुरातात्विक र सांस्कृतिक सम्पदा हेर्न आउँथे पर्यटकहरु ।  विडम्वना सबै बिस्तारै हराउँदै जाने क्रममा छ । ढुङ्गेधाराहरु सुक्दै गए । चराहरुले गुँड बनाउने ठाउँ पाएनन्, लोप हुन थाले । तिमीले त बौद्धिक क्षमता भएका मानिसलाई साथ दियौ, सिर्जना गरायौ, हुर्कायौ, बढायौ, मान्छे बनायौ । तर यिनले तिम्रो मूल्य कहिल्यै बुुझ्छन् खै ?

हेर, यो स्थानीय चुनावको बेला तिम्रो नाम बेच्दै गरेका प्रतिक्रियाहरु उल्कै भएर आए । तर पुरा नहुने बेसुरका नारा मलाई जस्तै धेरै युवालाई पटक्कै मन परेन । त्यसैले दलका ती थोत्रा नारा युवाले मन पराएनन् । अनि स्वतन्त्र युवालाई तिम्रो स्याहारको जिम्मा दिने तरखरमा छन् ।

मलाई अचम्म लाग्छ, जुन चिज तिम्रो मौलिकता हो, त्यसको स्वरुप विगार्ने विज्ञापन किन हुँदैछ यहाँ ? तिमी पनि धेरै बर्षदेखि भोग्दैछौं । थाक्यौं पनि होलाऊ । तमासा हेरिराखेका छौ । सायद अब नयाँ जनप्रतिनिधिको शपथले तिम्रो मुहार फेरिन्छ कि ? आशा नमार्नु नि । चिन्ता नगर्नु । म तिमीसँग छु । सधैं तिम्रो साथमा छु । म एक्लै भए पनि तिमीलाई दुखाउने काम गर्ने छैन ।

प्रिय काठमाडौं, म तिमीलाई माया गर्छु र मैले गरेका प्रण पुरा गर्ने वाचा गर्छु । आजलाई यति नै । तिम्रो शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

तिम्रो सम्झनामा

तिम्रो साथी

इरु पौडेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप