बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा एआईजी थापालाई खटाउने निर्णय

शनिबार, ३१ वैशाख २०७९, १८ : २६
शनिबार, ३१ वैशाख २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एआईजी सहकुलबहादुर थापा शनिबार लुम्बिनी पुगेका छन् ।

मन्त्रालयको निर्णय अनुसार एआईजी थापालाई भारतीय प्रधानमन्त्रीको सुरक्षाका लुम्बिनीमा पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘एआईजी सहकुल सा’प लुम्बिनी जानुभएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा लुम्बिनी आउँदै छन् । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ ।

मोदीको सुरक्षाको सम्पूर्ण कमाण्ड नेपाली सेनाले गर्ने भएको छ । भीभीआईपी भ्रमणको प्रोटोकल अनुसार सेनाको टिम लुम्बिनीमा परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिल्वालले रातोपाटीलाई बताए । उनले भने–‘सरकारले तयार गरेको सुरक्षा योजना अनुसार सैनिक टिम परिचालन गरिएको छ ।’

 मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदै छन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए । प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्केको करिब १ महिनापछि मोदी नेपाल आउन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप