मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्पोर्टस् ब्रा : पुरुषका लँगौटीले महिलाका लागि खेलकुदमा कसरी ल्यायो क्रान्ति ?

शनिबार, ३१ वैशाख २०७९, १४ : ३७
शनिबार, ३१ वैशाख २०७९

आजकालका स्पोर्टस् ब्राको सुरुवात एक जकस्ट्र्याप (लँगौटी) को रुपमा भएको थियो ।

अमेरिकाको सन् १९७७ को गर्मीमा, भर्मन्ट विश्वविद्यालयमा स्नातक गरेकी छात्रा लिसा लिन्डहल दौडन मन पराउँथिन् । उनी हरेक हप्ता करिब ३० माइल दौडने गर्थिन् । यो सजिलो काम थियो, तर सबैभन्दा ठूलो समस्या उनको लुगा थियो ।

उनले भनिन्, ‘सबैभन्दा असहज कुरा भनेको दौडँदा मेरो स्तनले पर्याप्त सहारा पाउँदैनथ्यो ।’

त्यतिबेला लिसा २८ वर्षकी थिइन् । पहिला, उनले आफ्नो स्तन वरिपरि इलास्टिकको पट्टी बेरिन् र ब्रा बिना दौडने प्रयास गरिन् । तर पछि उनले दौडने बेला आफ्नो साइजभन्दा निकै सानो ब्रा लगाउने कुरामा सम्झौता गरिन् ।

दौडिरहेको बेला ‘ब्रेस्ट सपोर्ट’ को संघर्षले लिसा र उनकी बहिनी बीच ठट्टा सुरु भयो – आखिर महिलाका लागि किन जकस्ट्र्याप आउँदैनन्  ?

अब लिसा लिन्डहल र अन्य दुई महिलाले अमेरिकाको राष्ट्रिय आविष्कारक हल अफ फेममा स्थान पाएका छन् । यस्तोमा, स्पोट्र्स ब्रा को आविष्कार एक धेरै नै गम्भीर र आवश्यक आविष्कार थियो भन्ने प्रमाणित भएको छ ।  र यो महिला खेलमा क्रान्तिको युग आउनै लाग्दा गरिएको थियो ।

प्रयोग कहाँबाट सुरु भयो ?

लिन्डहलले यो विचारलाई सुरुदेखि नै गम्भीरताका साथ लिइन् । उनले आफ्नो सबैभन्दा मिल्ने साथी पोली पाल्मर स्मिथलाई आफ्नो अभियानमा सामेल गराइन् । पोली, वरमोन्टको बर्लिङ्गटनमा हुन लागेको एक सेक्सपियर फेस्टिबलमा कस्ट्युम डिजाइनरको रुपमा काम गरिरहेकी थिइन् ।

लगत्तै अर्की एक कस्ट्युम डिजाइनर हिन्डा मिलर पनि उनीसँग जोडिइन्, जसले त्यतिबेलाको गर्मीमा पलीको सहायकको रुपमा काम गरिसकेकी थिइन् ।

यी महिलाहरूले लिन्डहालको बैठक कोठामा आफ्नै पसल स्थापना गरे र विभिन्न प्रकारका कपडा र फिटिङ गर्ने काम गर्न थाले । हिन्डा मिलरले स्पोर्टस् ब्रा को एक सुरुवाती प्रति वा प्रोटोटाइप तयार गर्थिन् र त्यसपछि लिन्डहालले त्यो लगाएर दौडन जान्थिन् । दौडदै गर्दा उनको स्तन कति ‘हल्लिन्थ्यो’ भन्ने कुरा उनी याद गर्थिन् । उनले भनिन्, ‘कुनै पनि उपाय सफल भइरहेको थिएन ।’

एक दिन अचानक, लिन्डहलका श्रीमान् सिँढिबाट तल ओर्लिए, आफ्नो छाती वरिपरि ज्याकस्ट्रेप बेह्रेका थिए । यो एक हिसाबले महिलाहरूका लागि पहिलो ‘जक ब्रा’ थियो ।

पोली पामर स्मिथले भनिन्, ‘एक तरिकामा, यो ‘दिमागको बत्ती बलेको’ जस्तो अनुभव थियो । ’

त्यसपछि उनीहरुले पुरुषहरुले लङ्गौटीको रुपमा लगाउने दुईवटा जकस्ट्रेपलाई जोडेर सिलाए र जगब्राको पहिलो प्रोटोटाइप तयार भएको थियो ।

जब यी तीन महिलाहरूसँग जगब्राको पहिलो डिजाइन तयार भयो, उनीहरुले यसको पेटेन्टको निवेदन दिए र जगब्रा इन्क डट के नामबाट एउटा कम्पनीको सुरुवात गरे ।

लिसा लिन्डहल, हिन्डा मिलर र पोली पाल्मर स्मिथले जगब्राको प्रारम्भिक डिजाइन बनाउनु अघि अमेरिकी संसदले टाइटल आईएक्स  पारित गरेको थियो ।

नागरिक अधिकारका लागि कोसेढुङ्गा साबित भएको यो कानून अन्तर्गत, शिक्षा र संघीय सरकारको मद्दतबाट चल्ने सबै योजनामा लैङ्गिक आधारमा विभेद गर्न प्रतिबन्ध लगाइएको थियो ।

आज, अमेरिकामा हरेक पाँच केटीहरू मध्ये दुईजना कुनै न कुनै खेल खेल्छन् । जबकि महिला खेलकुद प्रतिष्ठानका अनुसार सन् १९७० मा प्रत्येक २७ जनामध्ये एक जना महिला खेल–कुदमा संलग्न थिए ।

यदि टाइटल आईएक्सले महिलाहरूलाई खेलकुदको संसारमा प्रवेश गर्न सम्भव बनायो भने, स्पोर्टस् ब्राले महिलाहरूलाई खेल्न सहज बनायो ।

लिसा भन्छिन्, ‘टाइटल एक्सआई कानुनका कारण महिलाहरूलाई खेलकुदमा भाग लिनको लागि पूँजी, पूर्वाधार र अपेक्षाहरू पनि थिए । तर, महिलाहरूलाई मैदानमा जान आवश्यक आत्मविश्वास र आराम थिएन ।’

स्पोर्टस् ब्राको अर्बौँ डलरको उद्योग

आज स्पोट्र्स ब्रालाई क्रान्तिकारी मानिन्छ, जसले खेलकुद क्षेत्रमा प्रवेश गर्ने महिलाहरूलाई ‘आराम र आत्मविश्वास’ दिएको छ । आज यो ९ अर्ब डलरको उद्योग पनि हो – यो एउटा यस्तो आँकडा हो जसको सन् २०२६ सम्ममा चार गुणा बढ्ने अनुमान गरिएको छ । एथलेटिक्स र आरामदायी ‘एथलिजर’ उत्पादनको बजार पनि २५ अर्ब डलर पुगेको छ र यसले असाध्यै धेरै प्रगति गरिरहेको छ ।’

तर, सन् १९७७ मा जगब्रा उत्पादन गरिँदै थियो, त्यतिबेलाको कहानी निकै भिन्न थियो ।

त्यतिबेला अमेरिकामा म्याराथन दौडको परिचालक निकाय एमेच्योर एथलेटिक युनियनले सडकमा लामो दौडमा महिलाको सहभागितामाथिको प्रतिबन्ध फुकुवा गरेको पाँच वर्ष मात्रै बितेको थियो । र ओलम्पिकमा तीन हजारभन्दा लामो दौडमा महिलालाई समावेश हुने अनुमति त त्यसको पनि सात वर्ष पछि मात्रै दिइएको थियो । त्यसअघि केही विज्ञहरूले लामो समय दौडनु महिलाको स्वास्थ्य र नारीत्वका लागि हानिकारक भएको दाबी गरेका थिए । त्यसैले, महिलाहरूलाई लामो दौडमा भाग लिन अनुमति थिएन ।

कम्पनीको स्थापना भएको केही दिन पछि, पोली स्मिथ न्यूयोर्क शहरमा फर्किइन्, जहाँ उनले जिम हेन्सन कम्पनीमा पोशाक डिजाइनरको काम पाएकी थिइन् । जसका कारण जगब्रा इंकको कमाण्ड अब लिसा लिन्डहल र हिन्डा मिलरको हातमा गएको थियो ।

मिलरको बुबाबाट पाएको पाँच हजार डलर ऋणमा, दुई महिलाले ६० दर्जन जगब्राको पहिलो ब्याच तयार गरे र त्यसपछि खेलकुदका सामानहरू बेच्ने पसलहरूमा पुगे । हिन्डा मिलरले आफ्नो उत्पादन महिलाको अन्तर्वस्त्र नभई खेलकुदको सामग्री भएको बताइन् ।

तर, पसलका सञ्चालक र प्रबन्धकसँग कुरा गर्दा उनलाई हासोमा उडाइन्थ्यो । तीमध्ये अधिकांश पुरुष हुने गर्दथे । लिसाले भनिन्, ‘ प्रायजसोको हामीले पसलमा ब्रा बेच्दैनौं भन्ने एउटै जवाफ पाइन्थ्यो ।’

१६ डलरबाट ब्रा बेच्न सुरु

यसपछि लिसा र हिन्डाले फरक बाटो अपनाए । उनीहरुले सहायक स्टोर प्रबन्धकहरूलाई सम्पर्क गरे – किनभने तिनीहरू प्रायः महिला हुन्थे । उनीहरुले आफ्नो जगब्रालाई आफैं प्रयोग गरेर हेर्नका लागि स्टोर म्यानेजरलाई दिए ।

तिनीहरू दुबैले जोगब्रालाई साधारण कालो बक्समा प्याक गरे र सामान्य ब्राको विभिन्न कप साइजको सट्टा तीनवटा साधारण खण्डहरू, सानो, मध्यम र ठूलामा विभाजन गरे ।

उनीहरुको यो तरिकाले काम गर्यो । पहिलो जगब्रा सन् १९७८ मा बजारमा आएको थियो । त्यतिबेला ब्राको मूल्य १६ डलर थियो ।

लिसा र हिन्डा मिलरले आफ्नो उत्पादनको विज्ञापन दौडमा केन्द्रीत पत्रिकामा दिन सुरु गरे । दुबैले यसका लागि आफैँ मोडलिङ पनि गरे किनभने उनीहरु अन्य महिलामार्फत् यो काम गराउन खर्च उठाउने हालतमा थिएनन् । उनीहरुको नारा थियो, ‘पुरुषले बनाएको कुनै पनि ब्राले योसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’

हिन्डा मिलरले आफ्नो विज्ञापनमा ‘डिलरको जानकारीका लागि सम्पर्क गर्नुहोस्’ भन्ने वाक्य पनि थपिदिए । उनले भनिन्, ‘त्यतिबेला यो वाक्यको अर्थ के थियो मलाई थाहा थिएन । तर उनीहरुले फोन गर्न सुरु गरे ।’

लिन्डहालले हाँस्दै भनिन्, ‘उनीहरुले मेरो घरमा फोन गर्थे ।’

दुबैले स्पोट्र्स ब्राको पहिलो ब्याच निकै छिटो बेचे । व्यापार जगतमा प्रवेश गरेको पहिलो वर्षमा नै लिसा र हिन्डाले पाँच लाख डलरको बिक्री गरे र उनीहरूको कम्पनी नाफामा गयो ।

त्यसको एक दशकसम्म उनको कम्पनी २५ प्रतिशत वार्षित तीब्र गतीमा प्रगति गरिरह्यो । यद्यपि, यतिबेला लिसा र हिन्डाले धेरै कुरा सिक्ने मौका पनि पाए । लिसाले दिएको जानकारी अनुसार एकदिन एक सेल्स रेप्रिजेन्टेटिभले उनीहरुलाई आफू त्यहाँ काम गर्न चाहेको बताइन् ।

लिसाले भनिन्, ‘त्यतिबेला मलाई थाहा थिएन कि ती रिप्रजेन्टेटिभ को थिइन् ।’

लिसाले सेल्स र मार्केटिङको जिम्मा सम्हालिन् भने हिन्डा मिलरले उत्पादन र सामानको जिम्मेवारी लिइन् । उनले लगभग २०० नियमित कर्मचारी राखे । उनीहरुले आफ्नो उत्पादन बनाउने कारखानालाई पुएर्टो रिको लिएर गए र जगब्राका साथै ठूला स्तन भएका महिलाका लागि स्पोर्ट्सशेप ब्रा बनाउन सुरु गरे । यसबाहेक दौडने बेला महिलाको पेट ढाक्नका लागि उनीहरुले टप बनाउन पनि सुरु गरे ।

तर जगब्रा अगाडि बढ्दै जाँदा कम्पनीका मालिकहरूबीचको सम्बन्ध बिग्रन थाल्यो । दुई महिलाबीच लगातार झगडा हुन थाल्यो ।

लिसा भन्छिन्, ‘कम्पनीको जतिजति विकास भयो त्यति नै हामीबीच तिक्तता बढ्दै गयो ।’

यसपछि सन् १९८० को दशकको अन्त्यतिर जगब्रा इन्कको बृद्धिको गति सुस्त हुन थाल्यो । नाइकी र रिबोक जस्ता कम्पनीहरूबाट कडा प्रतिस्पर्धाका कारण उनीहरूले प्रतिस्पर्धामा रहन ठूलो मात्रामा ऋण लिनुपर्यो ।

सन् १९९० मा हिंडा र लिसाले आफ्नो कम्पनी जगब्राको प्लेटेक्सलाई बेचे । यो सम्झौता कतिमा भयो, यसको रहस्य भने खुलाएनन् ।

हिन्डा मिलरले भनिन्, ‘हामी निकै थकित भएको थाहा पाएपछि हामीले कम्पनी बेच्यौं । हाम्रो नेतृत्व टोलीमा धेरै झगडा भइरहेको थियो ।’

जब गर्व महसुस भयोः

आज ती झगडाका घाउहरु निको भइसकेका छन् । हिन्डा मिलर भन्छिन्, ‘आज हामी सत्तरी वर्ष नाघेका छौं र हामी सबै जीवित छौं, त्यसैले हामी त्यो सफलतामा हाँस्न मात्र सक्छौं । त्यसबेला हामी धेरै भन्दा धेरै मानिसहरूसँग जगब्रा होस् भन्ने चाहन्थ्यौं र हामीले त्यसो गरेर देखायौँ पनि । हामी सफल भयौं ।’

जब उनीहरु लेजर डर्मेटोलोजी, इबुप्रोफेन र भ्वाइस ओभर इन्टरनेट टेक्नोलोजीका आविष्कारकहरूसँग गत महिना वाशिंगटन डीसीको राष्ट्रिय आविष्कारकहरूको हल अफ फेममा सम्मिलित भए, उनीहरुले यो कुरा पत्याउनै सकिरहेका थिएनन् ।

पोली पामर स्मिथले भनिन्, ‘जब हामीले आविष्कारकहरूको सूचीमा अरूसँग हाम्रो नाम देख्यौँ तब हामीले हामीले त बस डाक टिकट टाँस्ने आविष्कार गरेका हौँ... हामी त यसको विषयमा त्यति गम्भीर पनि थिएनौँ ।’

पालीले भनिन्, ‘आयोजकले हामीलाई भने – तपाई यसो गर्न सक्नुहुन्न । पोष्ट इटको आविष्कार गर्ने मानिसहरू त्यहाँ हुनेछन् ।’

तर, जगब्राका तीन संस्थापकहरू आज स्पोट्र्स ब्रा लगाएका महिलाहरू देख्दा आफू निकै हर्षित भएको बताउँछन्, किनभने प्रायः स्पोट्र्स ब्रा दुईवटा जकस्ट्प एकै ठाउँमा टाँसेर बनाइएको पहिलो जगब्रा जस्तै देखिन्छन् ।

पोली भन्छिन्, ‘यो पनि ठूलो गर्वको कुरा हो र हामीले उनीहरुले स्पोर्टस् ब्रा लगाएको देख्दा हामीलाई अचम्म पनि लाग्छ ।’ उनीहरुले थपे, ‘ती महिलालाई ‘सुन यसलाई मैले बनाएको हो नि’ भनेर भन्न मन लाग्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप