दिदीको नजरमा अनिल शर्मा
केदार शर्मा
बुबा स्कन्द शर्मा र आमा नर्मदा शर्माका हामी ६ जना सन्तान हौँ । हामी ३ बहिनी र ३ भाइमा, पूर्वगृहमन्त्री जनार्दन शर्मा सबैभन्दा जेठो हुनुहुन्छ । अनिल हाम्रो परिवारमा सबभन्दा कान्छो सन्तानका रूपमा जन्मिएको हो ।
बहिनीहरूमा म जेठी हुँ । मैले हाल दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिकामा रहेको मानपुरस्थित वीरेन्द« माविमा अध्यापन गर्दै छु । अनिलको र मेरो १३ वर्षको उमेर फरक छ । २०३९ सालको जेठमा उसको जन्म भएको थियो । ऊ सानोमा निकै फुर्तिलो र हामी सबैको प्यारो थियो । कसैले कसैलाई पनि हेपेको उसलाई ठीक लाग्दैनथ्यो ।
प्रतिकार गरी हाल्थ्यो । सहयोगी भावना सानैदेखि थियो उसमा । धेरैजसो माइली बहिनी विजयाले धरालो गर्थी भाइको । उसलाई पछयाएर सानैदेखि स्कुल जान थालेको हो । उसको धरालो गर्न निकै कठिन थियो । निकै चलाक थियो, एक ठाउँ नबस्ने । ९ वर्षको हुँदा आमा बित्नुभयो । उहाँका दुवै किड्नी फेल भएका थिए र मुटुको रोगका कारणले शल्यकृया गर्न पनि नमिल्ने अवस्था थिएन ।
अनिल सानो थियो, घाट लान उचित लागेन । २०४६ सालमा शिक्षा सेवामा स्थायी नियुक्ति पाएर १७ वर्षसम्म शिक्षिकाकै रूपमा गृह जिल्ला रुकुममै कार्यरत रहेँ । ठुल्दाइ राजनीतिमा धेरै अगाडिदेखि लागेर उहाँ २०५२ सालमा भूमिगत भएर हिँडनुभयो । कान्छी बहिनी नारायणी शर्मा पनि उहाँ सँगसँगै हिँडिन् । त्यसै वर्ष विजयाको बिहे पत्रकार ओम शर्मासँग भयो । कान्छो दाइ ओपेन्द« शर्मालाई पनि प्रशासनले निकै केरकार गर्न थाले पछि २०५५ मा भूमिगत हुन बाध्य हुनुभयो । अन्तिममा बिरामी आमा बुबासँग घरमा म र अनिल मात्रै भयौँ ।
२०५४ मा एसएलसीको टेस्ट परीक्षा दिई सकेपछि अनिललाई गिरफ्तार गरी एक महिनासम्म हिरासतमा राखियो । त्यो समय मेरो जीवनकै अत्यन्तै पीडादायी क्षण थियो । उसलाई कहाँ राखिएको थियो भन्नेसमेत खबर थिएन हामीलाई । जीवित छ कि मारियो त्यो पनि जानकारी थिएन । धेरैपछि एकजना चिनेको प्रहरीले सदरमुकाम खलङ्गामै राखिएको कुरा नाम नभन्ने सर्तमा बताए । त्यसपछि मात्र केही आशा पलायो । हाम्रो घर सदरमुकामै भएकाले केही पहल पनि गर्न सजिलो भयो । पढ्ने वातावरण नै थिएन । हिरासतमुक्त हुनासाथ घरबाट हिँड्यो । पछि गणित विषय लागेको रहेछ । जाँच दिन मानेन । मैले निकै फकाएँ ।
उसले पूर्णकालीन जीवन बिताउने सोच बनाइसकेको थियो । मसँग पनि रिसायो । “विद्यार्थीलाई परीक्षा हलबाट लगेर मार्छन् भने तेरो लास बुझ्ने दिदी म छु, मैले रुँदै भने ।” भाइले मान्यो । एमाले नेता हस्तबहादुर केसीलाई सीडीओसँग कुरा गर्न अनुरोध गरँे । उनी सुरुमा अनकनाए । म पनि खरो रूपमा प्रस्तुत भएपछि उनी राजी भए । सीडीओलाई बल्लतल्ल राजी गरायौँ । उसले जाँच दिएको एक घण्टामै प्रहरी उसलाई गिरफ्तार गर्न घर आइपुग्यो । तर ऊ कतै सम्पर्कमा पुगी सकेको थियो । घरै आएको छैन भाइ, मैले भने । त्यसपछि सदरमुकाममै घर हुँदा पनि ऊ बुबा र मलाई भेट्न बेलाबखत राति आउँथ्यो ।
मलाई भने भाइलाई अब मारिदिन्छन कि भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । बरु नआए हुन्थ्यो जस्तो लागथ्यो । म पनि नजरबन्दमा जस्तै थिए । घरबाट विद्यालय र फेरि घरसम्म आइपुग्दासम्म कैयौँ नजर ममाथि केन्दि«त रहन्थे । कान्छो गएको एक घन्टाभित्रै प्रहरी अनिवार्य पुगथ्यो । कुनै दिन त दिनमा ४ पटकसम्म घेर्न आउँथे । यसैबीच ऊ पास भयो । सँगै नभए पनि मेरो खुशीको सीमा रहेन । बाँकी जे होला, कम्तीमा एसएलसी त पास भयो भाइ भन्ने मलाई लागिरहन्थ्यो ।
त्यसपछि अर्को बज्रपात भयो हाम्रो परिवारमाथि । २०५८ मा बुबाको मृत्यु भयो । मैले आफै काजकृया गरेँ । कान्छोसम्म खबर त पुग्यो तर घाटमा सेना प्रहरी तैनाथ थिए । ठुल्दाइसम्म त झन् एक महिनापछि खबरपुगेको थियो । जेहोस सानै उमेरमा देश र जनताका लागि समर्पित भएर लागेको देख्दा गर्वको अनुभूति हुन्थ्यो । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भएको खबर सुने ।
पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि निर्वाह गर्न तत्पर हुनथ्यो । अखिल क्रान्तिकारीकै काठमाडाँै नेवा राज्यको संयोजक तथा इन्चार्ज पनि भयो । सङ्गठनकै केन्द«ीय सचिव, महासचिव, बरिष्ठ उपाध्यक्षसम्म भयो । यसै तरिकाले सफलताको शिखर चढ्दै जाओस, उसले गरेको त्याग र तपस्याको परिणाम आसन्न निर्वाचनमा उसको जितमा देखियोस् । एउटा दिदीले भाइलाई भन्ने अरू के हुन सक्दछ । उसले चिताएको पुगोस् । उसलाई जनताको सेवा गर्ने मौका प्राप्त होस् ।