
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा मतगणना शुरु

जीतपुर सिमरा उपमहानगरमा मतगणना शुरु भएको छ । सिमरा स्थित नेपाल राष्ट्रिय माविमा राती करिव साढे २ बजेदेखि मतगणना शुरु भएको हो । शुक्रवार राती साढे १० बजे बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु गरिएको सहायक निर्वाचन अधिकृत बलराम खड्काले जनाएका छन् ।
पहिलो चरणमा उपमहानगरको वडा नं २४ बाट गणना शुरु गरिएको छ । सो वडामा करिव १७ सय मत खसेको खड्काले जनाएका छन् । ‘अहिलेसम्म हामीले ६ ओटा बाकस खोलेर ५०÷५० वटाको मतपत्र पोका बनाउने, मतपत्र रुजु गर्ने, एकछापे आएको मत एकातिर राख्ने, छिटफुट रुपमा बदर मत भएका मतपत्र अर्को तर्फ राखेर छुट्टाउने काम मात्रै भएको छ’ सहायक निर्वाचन अधिकृत खड्काले भने ‘मतपत्र छुट्टाउने काम सक्ने बित्तिकै आधा घन्टामा वडा नं २४ को मत परिणाम आउछ’ शुक्रवार भएको निर्वाचनमा जीतपुर सिमराको २४ वटै वडामा ५२ हजार ९५८ मत खसेको छ जसमध्ये २५ हजार ७०८ महिलाले मतदान गरेका छन् भने २७ हजार २५० पुरुषले मतदान गरेका छन् । जीतपुर सिमरामा ७० हजार ६४ मतदाता रहेपनि विभिन्न कारणले करिव १७ हजार मतदाता मतदान गर्नबाट छुटेका छन् ।
साथै मतगणनाको सम्वन्धमा राती बसेको सर्वदलीय बैठकले के कस्तो अवस्थामा मत सदर हुने र कस्तो अवस्थामा मत बदर हुने विषयमा १८ वटा निर्णय गरेको छ । बैठकले लाहा छाप चुनाव चिन्हमा आधा घेरामा पर्यो भने मत बदर हुने, लाहा छापको चार वटा खुट्टा देखिएन बाहिरी घेरो मात्रै देखियो भने बदर हुने, एउटै चिन्हमा दोहोरो छाप लगाएको खण्डमा पनि बाहिरी घेरो नछोएको भए सदर हुने लगायतका विषयमा निर्णय गरेको छ । ‘मत कुन अवस्थामा बदर हुने कुन अवस्थामा सदर हुने विषयमा गहन रुपमा छलफल भएको छ, कानुनले तोकेको बाहेक अन्य अवस्थामा सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना हुन्छ’ सहायक निर्वाचन अधिकृत खड्काले भने । जीतपुर सिमरा उपमहानगरको प्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेल र एमालेको तर्फबाट निवर्तमान उपप्रमुख सरस्वती चौधरी बिच मुख्य प्रतिष्पर्धा छ भने उपप्रमुखमा कांग्रेस नेतृ मेघा शाही र एमालेका नगर कमिटी अध्यक्ष भोला अधिकारी बिच प्रतिष्पर्धा हुने भएको छ ।
मुख्य प्रतिस्पर्धी गठबन्धन र एमाले भएपनि लोसपा, राप्रपा, राप्रपा नेपाल र स्वतन्त्र गरी करिव एक दर्जनले उपमहानगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
उपमहानगरमा प्रमुख देखि वडा सदस्यसम्म १२५ जना जनप्रतिनिधिका छनोटका लागि करिव एक हजार उम्मेदवारी प्रतिष्पर्धा हुने भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ