बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : गुलाफी सुट

शनिबार, ३१ वैशाख २०७९, ०६ : ४३
शनिबार, ३१ वैशाख २०७९

शङ्करकुमारलाई नयाँ सुट लगाउन मन लाग्यो । 
घरमा उसका आधा दर्जनभन्दा बढी सुट छन् । तर ती त्यति मन पर्दैनन् उसलाई । कृष्ण टेलर्समा झुन्डाइएको गुलाफी रङको सुटमा उसको मन गएको छ ।

संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनको ऊ एक उम्मेदवार । पार्टीको जिल्ला अध्यक्षका साथै केन्द्रीय स्तरको नेता पनि । पार्टी– क्रान्तिकारी । बल्लतल्ल निर्वाचन सकारेको हो उसको पार्टीले । 
चुनाव आउन एक महिना पाँच दिनमात्रै बाँकी छ । जिल्लास्थित पार्टी कार्यालय अगाडिको टेलर्समा झुन्ड्याइएको गुलाफी रङको सुटमा उसको आँखा गएको पनि एक हप्ताभन्दा बढी भइसकेको छ । सधैँ पार्टी कार्यालय जाँदा उसले सुट हेर्छ । तर केही बोल्दैन । मोलमालाई पनि गर्दैन । नबोलेको पैसा नभएर चाहिँ होइन ।

‘त्यस्तो सुट बुर्जुवा पार्टीका बुर्जुवा नेताले मात्रै लाउँछन्, सर्वहाराले होइन,’ ऊ आफ्ना वरिपरि रहेका कार्यकर्तालाई भन्छ र झलक्क सोही सुटको सम्झना गर्छ । 
साँझ पाँच बजे मिटिङ डाकिएको कुनै एक दिन शङ्करकुमार तीन बजे नै पार्टी कार्यालय अघिल्तिर गएर उभियो । 
त्यस दिन ऊ एक्लै थियो । ऊ प्रायः चार–पाँच जना कार्यकर्ता साथमा नलिई हिँड्दैन । तर त्यो दिन नितान्त एक्लै थियो ।
केहीबेर उसले कृष्ण टेलर्सको बाहिरबाटै गुलाफी सुट हेर्यो । अलि नजिक गयो, हेर्यो त्यही सुट । नजिकबाट हेर्दा त्यो सुट झनै मनपर्यो उसलाई । उसले मन थाम्न सकेन । स्वाट्टै पस्यो कृष्ण टेलर्सभित्र । 
टेलर्सको भित्रपट्टिको भित्तामा कम्युनिस्ट पार्टीको झण्डा टाँगिएको थियो । शङ्करकुमार मख्ख पर्यो, आफ्नो विचारको झण्डा त्यहाँ देखेर । एक जना दलितलाई आफ्नो मतदाता बनाउन सकिएकोमा ऊ झनै खुसी थियो ।
 
कृष्ण टेलर्समा झुन्ड्याइएको झण्डा नयाँ त थियो नै साथमा कलात्मक पनि । झण्डापट्टि फर्किएर शङ्करकुमारले मुठ्ठी दह्रो पार्यो र हात उचाल्यो । 
झण्डामा अङ्कित हँसिया–हथौडामा सिल्कको कपडा प्रयोग गरिएको थियो । त्यो निकै चम्किलो र आकर्षक देखिएको थियो । त्यो हँसियाले अहिले नै घाँस काट्ला वा त्यो घनले यत्ति नै खेर ढुङ्गा फुटाउलाजस्तो देखिन्थ्यो ।
‘जदौ कृष्ण दाइ,’ टेलर्सभित्र पस्दै शङ्करकुमारले भन्यो । 
अचानक नेता शङ्करकुमारलाई आफ्नो पसलमा देखेर कृष्ण परियार छक्क पर्यो । 
‘अब भने काठमाडौंमा टेलर्स खोल्ने सपना पूरा हुने भो,’ उसले सोच्यो । राजधानी पस्न पाए ठूलै उन्नति हुने उसको बुझाई छ । उसले ‘राजधानी सपना’ साँचेको पाँच वर्ष भैसकेको छ । र, आफ्नो सपनाको सारथी शङ्करकुमार र उसको पार्टीलाई देखेको छ ।

‘नमस्कार हजुर के सेवा गरौँ ?’ कृष्णले भन्यो ।
‘तपाईं कृष्ण दाइ, म तपाईंको शङ्कर भाइ । केको हजुर र सेवा नि ! यो त बुर्जुवा पुँजीवादीहरुको भाषा हो,’ शङ्करकुमारले भन्यो, ‘हाम्रो पार्टी भनेको दलितहरुको साथसहयोगमा टिकेको पार्टी हो । हामी तपाईंहरुलाई सदा सम्मान गर्छौं ।’
 
कृष्णले उसको कुरा कति बुझ्यो वा पटक्कै बुझेन भन्न सकिन्न । तर उसले बुझेजसरी टाउको भने हल्लायो । र, देशको चर्चित नेताले आफूलाई दाइ भनेको सुनेर ऊ निकै प्रफुल्ल भयो । यसअघि शङ्करकुमार उसलाई ‘कृष्णजी’ भन्थ्यो । त्यो टेलर्सबाट उसले थुप्रै लुगा लिइसकेको छ । राजधानीमा टेलर्स खोल्न सहयोग गर्ने आश्वासन दिएर । 
‘यो तपार्इंले मलाई गरेको सहयोग होइन कृष्णजी सिङ्गो क्रान्तिकारी अभियानलाई गरेको हो,’ कपडा लिँदा ऊ भन्ने गथ्र्यो ।
कृष्णले पार्टी कार्यालयमा राख्न भनेर दर्जनौँ झण्डा पनि दिइसकेको छ । पार्टीको झण्डा बनाउँदा सधैँ राम्रो कपडा हाल्छ कृष्ण । निर्वाचनताका पार्टीको चुनावचिह्न अङ्कित झण्डा पनि प्रायः उसैले बनाइदिने गरेको छ ।
उसलाई जसरी हुन्छ काठमाडौंमा टेलर्स खोल्नु छ । उसको जिन्दगीको एउटामात्रै सपना काठमाडौंमा ‘कृष्ण टेलर्स’ खोल्नु रहेको छ ।
‘कृष्ण दाइ, तपाईंले यो हाम्रो झण्डा कति राम्ररी बनाउनु भएको ! तपाईंको यो प्रतिभाको पार्टीले उचित कदर गर्नेछ,’ उसले भन्यो, ‘यसपल्ट निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउने पक्का छ, त्यसपछि तपाईंजस्ता सर्वहारा र दलितका खुसीका दिन सुरु हुनेछन् । संविधान पनि तपाईंहरुकै पक्षमा बन्नेछ ।’
उसले कुरा झण्डा र पार्टीको गरिरहे पनि ध्यान भने गुलाफी सुटमै थियो । ऊ एक पटक झण्डामा आँखा लगाउँथ्यो, पाँच पटक सुटमा । अब भने उसले आफूलाई सम्हाल्न सकेन । 

र, सुमसुम्याउन थाल्यो सुट । ओल्टाई पल्टाई गर्न थाल्यो ।

‘भित्री पनि कत्ति राम्रो हालेको कृष्ण दाइ यसमा ?’
‘तपाईंलाई मन परेको हो शङ्कर भाइ यो सुट ?’ कृष्णले सोध्यो । देशको ठूलो नेतालाई पहिलोपल्ट ‘भाइ’ भन्दा उसलाई कता कता अप्ठेरो पनि लाग्यो । 
‘हजुरलाई मन परेको हो सुट ?’ उसले आफ्नो अप्ठेरो हटाउँदै पुनः सोध्यो ।
‘कृष्ण दाइ अब हजुर होइन, भाइ भन्नोस् भाइ,’ शङ्करकुमारले थप्यो, ‘मन परेको त हो नि तर...!’
‘लगाउनुस् शङ्कर भाइ मेरो तर्फबाट उपहार भो,’ कृष्णले भन्यो, ‘तर तपाईंको पार्टीले निर्वाचन जितेपछि मेरो टेलर्स राजधानीमा खोल्न मद्दत गर्नुपर्छ ।’
‘कुनचाहिँ ठूलो कुरो भो र त्यो, तपाईं ढुक्क भए हुन्छ,’ शङ्करकुमारले भन्यो, ‘कुनै बैङ्कबाट ऋण पनि मिलाइ दिउँला ।’
झुन्डाइरहेको ठाउँबाट शङ्करकुमारले आफै सुट निकाल्यो र आफ्नो शरीरमा हुल्न थाल्यो ।
‘ए कृष्ण दाइ, मेरै लागि तयार पारिदिएको त होइन भन्या यो सुट ? ल हेर्नुस् त रसाएजस्तो छैन त मलाई ! ठ्याक्कै फिट,’ शङ्करकुमारले हत्तपत्त सुट लगाउँदै भन्यो । 
‘ल भन्नुस् कति दिउँ ?’ उसले खल्तीमा हात लगेजस्तो गरी सुटको भाउ सोध्यो ।
‘पैसा पर्दैन शङ्कर भाइ, बस् राजधानीमा टेलर्स खोल्न मद्दत गरिदिनुस् म यस्ता सुट अरु पनि दिन सक्छु तपाईंलाई,’ कृष्णले विश्वासका साथ भन्यो, ‘पार्टीको झण्डा र निर्वाचन चिह्न पनि मै बनाइ दिउँला ।’ 
कृष्णले उपहार दियो सुट शङ्करकुमारलाई । एक पैसा पनि लिएन । 

चुनाव आयो ।
कृष्ण परियारले भोट शङ्करकुमारलाई नै दियो । आफूले भनेको मान्नेलाई पनि उसैलाई मत हाल्न अनुरोध गर्यो ।
मतगणना भयो ।
शङ्करकुमारले अत्यधिक मतले चुनाव जित्यो । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको उम्मेदवार नराम्ररी पराजित भयो । शङ्करकुमारकै पार्टीले स्पष्ट बहुमत ल्यायो ।
पुरानो सरकार हट्यो ।
नयाँ सरकार बन्यो ।
शङ्करकुमार मन्त्री भयो । वन मन्त्री । राष्ट्रपति भवनमा सपथ लिइरहेको टेलिभिजनले देखायो ।
सपथ लिँदा शङ्करकुमारले त्यही गुलाफी सुट लगाएको थियो । उसैले उपहार दिएको सुट । 
उसको पार्टीले दौरा–सुरुवाल बहिष्कार गरेको छ । 

कृष्ण परियारको भुइँमा खुट्टै भएन ।
‘अब कस्सो नखोलिएला काठमाडौंमा टेलर्स,’ उसको विश्वास चुलियो ।
काठमाडौं जाने रात्रिबसको टिकट काट्यो कृष्णले । उसको परिवारमा उत्साह छायो ।
नयाँ बसपार्कमा बिहानै झिसमिसेमै उत्रियो ऊ । आठ–दस पटक राजधानी टेकिसकेको कृष्णलाई यसपटक यो ठाउँ नौलो लाग्यो । चार वर्षपछि आएको छ ऊ काठमाडौं । एकाबिहानै मान्छेको भीड देखेर भने ऊ छक्क पर्यो । 
माइक्रो चढ्यो र पुग्यो कृष्ण परियार मन्त्रीनिवास ।
‘म मन्त्री शङ्करकुमारलाई भेट्न आएको,’ उसले ढोकामा पहरा दिइरहेका सुरक्षाकर्मीसँग भन्यो । सुरक्षाकर्मी कुनै पुस्तक पढिरहेको थियो । उसले पुस्तकबाट ध्यान हटायो । नाम ‘कृष्ण परियार’ घर ‘गोरखा’ लेखिएको एउटा कागजको चिर्कटोमा टिपेर भित्र पुर्याइदियो । फर्केर पुनः किताब पल्टाउन थाल्यो ।

दुई घन्टा...., चार घन्टा....! 
उसलाई भित्रबाट कसैले बोलाएन । यस बीचमा उसले धेरै पटक सुरक्षाकर्मीलाई सोधिसकेको थियो । तर भित्रबाट अनुमति नआई पठाउन नमिल्ने ऊ बताइरहेको थियो ।
‘मेरो नाम भित्रै पुगेन कि क्या हो,’ सुरक्षाकर्मीसँग ऊ कड्कियो,
‘शङ्करकुमार मेरो भाइ हो, मैले किन भेट्न नपाउने ? तुरुन्तै मिलाइदिनुस् ।’ 
‘भाइ...’ सुरक्षाकर्मी फिस्स हाँस्यो । र, खैनी मुखमा राख्दै पिच्च थुक्यो सडकमा । आफूले बोकिरहेको बन्दुक अर्को हातमा सार्यो । 
‘अस्ति सपथ लिँदा उहाँले लगाएको सुट मैले नै उपहार दिएको हो,’ कृष्णले विश्वास दिलाउने प्रयत्न गर्यो, ‘गुलाफी रङको ।’
त्यति नै खेर एउटा कालो कार झण्डा हल्लाउँदै बाहिर निस्क्यो विस्तारै । कारभित्रको मान्छे देखेर कृष्ण चिच्यायो ।
‘जदौ शङ्कर भाइ...।’ 
तर शङ्करकुमारले चिनेन उसलाई ।
‘म कृष्ण परियार दाइ क्या ! तपाईंले नै भाइ भन्नु भनेको होइन ?’
अझै पनि चिनेन शङ्करकुमारले...। 
कार रोकियो । आधा खुलेको कारको सिसा पूरा खुल्यो ।
‘ए शङ्कर भाइ लौ हेर्नुस् त यी पुलिस भाइले मलाई भित्र पस्न नदिएर चार घन्टा यहीँ रोकिदिए,’ कृष्णले एकै स्वासमा भन्यो ।
मन्त्री शङ्करकुमारले एक पटक कृष्ण परियारको अनुहार हेर्यो ।

‘को कृष्ण ? मैले त पटक्कै चिनिनँ । यसअघि हाम्रो कतै भेट भएको थियो ? तपाईं कहाँबाट आएको ? 
मेरो जिल्ला हो, गोरखा । 
अब हेर्नोस् यहाँ विभिन्न काम लिएर कृष्ण, हरि, राधा, श्याम कत्ति आउँछन् कत्ति,’ उसले सुरक्षाकर्मीलाई इशारा गर्दै भन्यो, ‘अलि दिमाग ठीक छैन कि क्या हो ! भाइ पो भन्छ त !’
शङ्करकुमार त्यसबेला पनि गुलाफी रङकै सुटमा थियो ।
पछिल्लो वाक्य ‘अलि दिमाग ठीक छैन कि क्या हो ! भाइ पो भन्छ त !’ सुनेर रन्थनिएको थियो कृष्ण । तर पनि थप्यो, ‘यो सुट तपाईंले खुब मन पराएकाले मैले नै उपहार दिएको हैन भन्या शङ्कर भाइ ?’
त्यसपछि भने कारको सिसा पूरै लाग्यो । र, हुँइँकियो कार बेतोडले ।
कृष्णलाई आफ्नै अघिल्तिर भएका सबै घटना सपनाजस्ता लागिरहेका थिए । उसलाई रिङटा लाग्यो । ऊ त्यही सडकको छेउमा थुचुक्क बस्यो । आँखा चिम्लियो ।
सुरक्षाकर्मीले बोतलमा पानी दिँदै भन्यो, ‘सपना बाँड्नु त यिनको जागिर नै हो नि कृष्ण दाइ । तिनले बाँडेको सपनामा हिँड्ने हामी नै मूर्ख हौँ । आफूले देखेको सपना आफै पो पूरा गर्नुपर्छ त !’

कृष्णलाई सुरक्षाकर्मीको पछिल्लो वाक्यले भित्रसम्म छोयो, ‘आफूले देखेको सपना आफै पो पूरा गर्नुपर्छ,’ उसले एक बोतल पानी पूरै पियो ।
 
ऊ बसपार्क फर्कियो । घर फर्कने टिकट काट्यो ।
बसमा रातभरि उसले अर्को एउटा सपना देख्यो ।
आफ्नो टेलर्सलाई ठूलो पार्ने । थप कपडा राख्ने, कामदार राख्ने । लगानी थप्ने । राजधानीमा टेलर्स खोल्ने सपना कहिल्यै नदेख्ने । राजनीतिक नेताहरुलाई कपडा उपहार कहिल्यै नदिने । पार्टीको झण्डा, चुनावचिह्न सित्तैमा नबनाउने । 

घर फर्केपछि ।
टेलर्समा रहेको झण्डाले आफूलाई गिज्याइरहेको जस्तो लाग्यो उसलाई । शङ्करकुमारले आफूलाई गरेको दुव्र्यवहार ताजा भएर आयो ।
भित्तोबाट झण्डा निकाल्यो ।
हातमा नयाँ र ठूलो तथा धारिलो कैँची लियो ।   
झण्डा काट्यो, उसले आफ्नो कट्टुको साइजमा । उसलाई थाहा थियो, आफूले लगाएको पुरानो कट्टु निकै मैलो र गन्हाउने भएको थियो । 
ठाउँ ठाउँमा प्वाल पनि परेका थिए त्यसमा ।

‘शुक्रराज शास्त्रीको चस्मा’ कथासंग्रह (२०७३) बाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप