शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारा : पचरौता नगरपालिकाको २ वडामा निर्वाचन स्थगित, अन्यमा छिटपुट घटना

शुक्रबार, ३० वैशाख २०७९, २३ : ४०
शुक्रबार, ३० वैशाख २०७९

बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ता बिच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहान देखि नै विवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । 

सीमावर्ती क्षेत्रमा रहेको सो मतदानस्थल अतिसंवेदनशील मतदान स्थलभित्र पर्दछ । त्यस्तैगरी भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नगरपालिका र देवताल गाउँपालिकामा पनि दुई छुट्टाछुट्टै समूह बिच भएको झडपका कारण केही समय मतदान स्थगित भएको थियो । 

सिम्रौनगढ वडा नं २ बैरिया मतदान स्थलमा दुई समूहहरू बिच भएको झडपमा एकजना प्रहरी जवान घाइते भएका थिए भने देवताल गाउँपालिका वडा नं ७ मा दुई पक्ष बिच भएको विवादमा एक जना घाइते भएका छन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले पचरौता नगरपालिका बाहेक जिल्लाको १६ वटै पालिकामा सामान्य घटना बाहेक शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको बताएका छन् । 

‘केही मतदान केन्द्रहरूमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधि बिच मतसंख्या भन्दा धेरै मत खसेको विषयमा आरोप प्रत्यारोपका कारण विवाद भएकोले मतदान स्थगित भएको छ’सहायक प्रजिअ सेढाईले भने ‘प्रारम्भिक तथ्याङ्क अनुसार ६० देखि ६५ प्रतिशत सम्म मतदान भएको हाम्रो अनुमान छ, केही ठाउँमा ८० प्रतिशत प्लस पनि भएको छ’ । निर्वाचन स्थगित भएको क्षेत्रमा अर्को निर्वाचन मिति सम्बन्धमा सर्वदलीय बैठक बसेर निर्णय गरिने सहायक प्रजिअ सेढाईले जनाएका छन् ।  २ उपमहानगर सहित बाराको १६ वटा पालिकाहरूमा ३०३ वटा केन्द्र स्थल र ५४१ ओटा मतदान स्थल (बुथ) रहेका छन् । जिल्लाको ५ सय ४१ वटा मतदान स्थल मध्ये अति संवेदनशील मतदान स्थलको सङ्ख्या अधिक रहेको स्थानीय प्रशासनले जनाएको छ । आयोगले आज भएको निर्वाचनका लागि ५४१ जना मतदान अधिकृत र ५४१ जना सहायक मतदान अधिकृत खटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप