शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन पर्यवेक्षणपछि इन्सेकको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, दियो यस्तो सुझाव

शुक्रबार, ३० वैशाख २०७९, २२ : ५३
शुक्रबार, ३० वैशाख २०७९

काठमाडौं । इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २३४ जना पर्यवेक्षकले ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेको जनाउँदै इन्सेकले विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु परेको जनाएको छ । मतदान केन्द्रहरू अपाङ्गतामैत्री नभएको, बाँकेको राँझास्थित आदर्श माविमा अपाङ्गता भएका मतदातालाई ह्वीलचेयर लैजानबाट वञ्चित गरेको पनि इन्सेकले जनाएको छ ।

‘काठमाडौं लगायत अन्य केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्य ढिला हुनुका साथै मतदातालाई अप्ठ्यारो भएको पाइयो,’ इन्सेकले शुक्रबार साँझ प्रारम्भिक प्रतिवेदन जारी गर्दै भनेको छ, ‘भक्तपुरका केही मतदान केन्द्रमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।’

अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम संख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पनि इन्सेकले जनाएको छ । ‘कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावलीमा नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचय पत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो,’ इन्सेकले भनेको छ ।

मतदान केन्द्रमा महिला र पुरूष मतदाताका लाइन अलगअलग गरिएको र ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका तथा बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको पाइयो पनि इन्सेकले उल्लेख गरेको छ ।

बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटामा रहेको मतदान केन्द्रमा मत हाल्न गएका ३० वर्षीय मोहनराम बिकमाथि कुटपिट भएको जनाउँदै इन्सकेले कुटपिटबाट बिकको दायाँ गोडाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताएको पनि उल्लेख गरेको छ ।

मतदान गर्न जाने क्रममा बैतडी जिल्ला पाटन नगरपालिका– ६ टुँडेगैरका ६८ वर्षीय कमलसिंह विष्टको मृत्यु भएको पनि इन्सेकले जनाएको छ ।​ इन्सकेका धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार मिथिला नगरपालिका–८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र (क) की मतदाता ३७ वर्षीया फूलमाया डिमडुङ आफ्नो मताधिकारबाट वञ्चित भएकी छन् । भोट खसाल्न मतदान केन्द्र पुग्दा उनको मत अरुले नै खसाइसकेको रेकर्डमा देखिएको थियो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनसार बलवा नगरपालिकाको एक मतदान स्थलमा गोली चल्यो । मतदानको क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

चौरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर व्याकपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रकृया अवरुद्ध भएको पनि इन्सकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गङ्गाप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैतेश्वर गाँउपालिका–१ वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदाताबीच विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

रामेछाप जिल्लाका केही मतदान केन्द्रमा विवाद हुँदा मतदान प्रकृया स्थगित हुनाका साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको छ । मन्थली नपा–१२ गेलुको सिक्राल मतदान केन्द्रमा मतदानको लागि लाइनमा बसेका मतदातालाई कांग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको हो ।

सर्लाही जिल्लाको मलङ्गवा नपा–१ भेडियाही आधारभूत विद्यालयमा बिहान ९ः२५ बजे मतदानस्थलमा ३८ वर्षीय पतिले कसैको कुरा नमानी ३४ वर्षीया पत्नी सुशीलादेवी मण्डलको हातबाट ब्यालेट पेपर लिई आफ्नै हातले मत खसालेको पनि इन्सेकले जनाएको छ । 

इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहकाअनुसार महादेव मावि मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेवारका समर्थकबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रोकाय तथा मतदाता लीला शाही घाइते भएका छन् । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी सुर्खेत पठाइएको छ । 

मतदान केन्द्रमा सुरक्षाको प्रबन्ध राम्रो मिलाइएको भए पनि केही स्थानमा बाहिरी परिधिको सुरक्षामा कमी भएको पाइएको इन्सेकले उल्लेख गरेको छ ।

मतदान केन्द्र उपयुक्त स्थानमा नभएका कारण मतदान प्रक्रियामा अलमल भएको र भिडभाड भएको, पूर्णरूपमा महिलाले व्यवस्थापन गरेका मतदान केन्द्रको व्यवस्था अत्यन्त राम्रो पाइएको इन्सेकले जनाएको छ ।

पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध खडा नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसुस नभएको भन्दै इन्सेकले मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको जनाएको छ ।

सुर्खेतको सिम्टा गाउँपालिका–१ खनेरास्थित भगवती मावि मतदान केन्द्रमा एक थान मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना मतदानका लागि दिएको भेटिएपछि नेपाली काँग्रेसका कार्यकर्ताले बाँकी रहेका मतपत्र च्यातेपछि मतदान स्थगित भएको पनि इन्सकेले जनाएको छ ।

निर्वाचनलाई  भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लंघन, एक अर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भएको इन्सेकको ठहर छ ।

‘निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लंनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व अझ बढ्ने देखिन्छ,’ इन्सेकले भनेको छ, ‘यसै वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हुने हाम्रो धारणा रहेको छ ।’

आचारसंहिता उल्लंघन उपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसक्दा निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको इन्सेकले जनाएको छ ।

‘भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो,’ इन्सेकले भनेको छ, ‘यसले निर्वाचन महङ्गो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप