बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काका नयाँ प्रधानमन्त्रीले भने, ‘स्थिति थप खराब हुनेछ’

शुक्रबार, ३० वैशाख २०७९, १७ : ३६
शुक्रबार, ३० वैशाख २०७९

श्रीलङ्काका नवनिर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशमा जनताको समस्या र अशान्ति निम्त्याएको आर्थिक संकट सुध्रनुअघि नै बिग्रिने बताएका छन् ।

मुलुकले इन्धन अभाव र खाद्यान्नको मूल्यवृद्धिको सामना गरिरहेको छ । कतिपय श्रीलङ्काली नागरिकले खानासमेत पाइरहेका छैनन् ।

सरकारले जसरी संकटसँग जुध्न खोजेको छ, त्यसको विरुद्धमा जनता आक्रोशित र हिंसात्मक प्रदर्शन भएका छन् ।

मुलुकभर भइरहेका आन्दोलनलाई सम्बोधन गर्न र स्थितिलाई नियन्त्रणमा ल्याउन रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री बनाइएको हो ।

विपक्षी दलका सांसद विक्रमासिङ्घे छैटौं पटक देशको प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री विक्रमासिङ्घेले पदभार ग्रहण गरेपछि पहिलो अन्तरवार्तामा श्रीलङ्काका जनतालाई दिनमा तीन पटकको खाना उपलब्ध गराउने आफूले सुनिश्चित गर्ने बीबीसीलाई बताए ।

विश्वबाट थप आर्थिक सहयोगको अपिल गर्दै उनले भने, ‘भोकको समस्या हुने छैन हामीले खाना खोज्नेछौँ ।’

देशका नयाँ प्रधानमन्त्रीले श्रीलङ्काको अर्थतन्त्र धराशयी भएको बताएका छन् । यसका साथै उनले देशका जनतालाई सन्देश पनि दिएका छन् । उनले भनेका छन्, ‘धैर्य राख्नुहोन्, म स्थितिलाई ट्र्याकमा ल्याउनेछ ।’

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीको सपथ ग्रहण गराए पनि उनी राजनीतिक रूपमा शक्तिशाली राजापाक्षे परिवारसँग नजिक रहेकाले उनको नियुक्तिप्रति असन्तुष्टि छ ।

आफ्नो अन्तरवार्तामा विक्रमासिङ्घेले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै आन्दोलनकारीको मागमा आफू सहमत भएको तर त्यसो नहुने बताए ।

विक्रमासिङ्घेले भने, ‘आरोप लगाउँदा केही पनि हुँदैन । म यहाँ जनताको कल्याणका लागि आएको हुँ ।’

श्रीलङ्काको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । खाद्यवस्तु, इन्धन र औषधि या त उपलब्ध छैनन् वा जनताको आर्थिक पहुँच बाहिर भएका छन् । पेट्रोल पम्पमा तेल भर्न लाइनमा बस्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलङ्काको यो सबैभन्दा खराब आर्थिक संकट हो ।

श्रीलङ्काको राजधानी कोलम्बोकी एक ६८ वर्षीया महिलाले एएफपी समाचार एजेन्सीलाई भनिन्, ‘हामीसँग मट्टितेल छैन, पेट्रोल छैन, डिजेल छैन । हामीसँग खाना पकाउने ग्यास छैन र हामीसँग दाउरा बाल्ने चुलो पनि छैन ।’

‘हामी हरेक दिन हाम्रा बच्चाहरूको पेट भर्नका लागि संघर्ष गरिरहेका छौँ । खाद्यान्नको मूल्य तीन गुणा बढेको छ । हामीले कसरी आफ्नो जीवन चलाउने ?’

श्रीलङ्काको आर्थिक संकटको सबैभन्दा ठूलो कारण श्रीलङ्का आफ्नो दैनिक आवश्यकताको लागि आयातमा निर्भर हुनु हो, तर श्रीलङ्कासँग आयातको बिल तिर्न डलर छैन । यसको विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ ।

कोभिड महामारीले श्रीलङ्काको अर्थतन्त्र पनि प्रभावित भएको छ । यसै गरी सन् २०१९ मा चर्चमा भएको बम विष्फोटले देशको पर्यटनमा क्षति पुगेको थियो । यससँगै श्रीलङ्काको आर्थिक संकटमा सरकारको कमजोर आर्थिक व्यवस्थापन पनि जिम्मेवार रहेको विज्ञहरू बताउँछन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप