सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

शुक्रबार, ३० वैशाख २०७९, १७ : २८
शुक्रबार, ३० वैशाख २०७९

सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । 
    
निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार निर्वाचन स्थगित गरिएको उनले बताए । निर्वाचनमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो । निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसमम्मति निर्णय भएको थियो । उक्त निर्णयमा नेकपा एमाले० नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए  । 
    
विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो।कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप