बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मतदानको समय समाप्त : ३५ हजार २ सय २१ जनप्रतिनिधिको भविष्य ‘बाकसमा’ कैद

शुक्रबार, ३० वैशाख २०७९, १७ : ०२
शुक्रबार, ३० वैशाख २०७९

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन ।

मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।

कति छन् चुनावी मैदानमा प्रतिस्पर्धी ?

७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । ​ यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । ​

यस्तो छ मतदाताको आँकडा

यो निर्वाचनका लागि योग्य मतदाता सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । जसमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना रहेका छन्, महिला मतदाता सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० तथा अन्य मतदाता १ सय ८३ जना रहेका छन् । ​

यस्तो छ दलको सङ्ख्या : १४ दलले उम्मेदवार नै उठाएनन् 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । तर यी दर्ता भएका सबै दलले चुनावमा उम्मेदवार मनोनयन गराएनन् । यसरी दर्ता गराएर एउटा पनि उम्मेदवारी मनोनयन नगराएका दलको सङ्ख्या १४ रहेको छ । निर्वाचनमा मनोनयन गराएर हाल ६५ दलले निर्वाचनमा सहभागिता जनाएका छन् ।  

प्रदेश अनुसार स्थानीय तह, मतदान केन्द्र र मतदाताको अवस्था यस्तो छ :  

प्रदेश नम्बर १ : 

यो प्रदेशमा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका गरी जम्मा १ सय ३७ पालिका रहेको छ । यो प्रदेशमा ११ सय ५७ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३३ लाख ४७ हजार ३ सय ८४ जना रहेका छन् । मतदान स्थल १ हजार ८ सय ७७ र मतदान केन्द्र ४ हजार ५१ रहेका छन् । 

मधेस प्रदेश : 

यो प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह रहेका छन् । यो प्रदेशमा १२ सय ७१ वटा वडा कार्यालय रहेको छ । आज भइरहेको स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १ सय ७० मतदाता रहेका छन् । मतदान स्थल २ हजार १ सय ६३ रहेको छ भने मतदान केन्द्र ४ हजार १ सय ८९ रहेको छ । 

बागमती प्रदेश : 

यो प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ गाउँपालिका गरी १ सय १९ पालिका रहेका छन् । यो प्रदेशमा ११ सय २१ वडा रहेका छन् । कुल मतदाता सङ्ख्या ३४ लाख १२ हजार ८ सय ६९ रहेका छन् । १ हजार ७ सय ९२ मतदान स्थल रहेको छ भने ४ हजार ९५ मतदान केन्द्र रहेका छन् । 

गण्डकी प्रदेश :        

यो प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका गरी ८५ पालिका रहेका छन् । यो प्रदेशमा ७ सय ५९ वडा रहेका छन् । कूल मतदाता सङ्ख्या १७ लाख ८९ हजार ४ सय ११ रहेका छन् भने १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्र रहेका छन् । 

लुम्बिनी प्रदेश : 

यो प्रदेशमा एउटा पनि महानगरपालिका रहेको छैन । ४ उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १ सय ९ पालिका र ९ सय ८३ वडा रहेका छन् । 

यो प्रदेशमा कूल मतदान स्थल १ हजार ६ सय २९ र ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् । 

कर्णाली प्रदेश : 

यो प्रदेशमा महानगर तथा उपमहानगरपालिका रहेको छैन । नगरपालिका २५, गाउँपालिका ५४ गरी ७९ पालिका रहेका छन् । जहाँ ७ सय १८ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १० लाख १ हजार २ सय ८२ रहेका छन् । ९ सय ७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् । 

सुदूरपश्चिम प्रदेश : 

यो प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाउँपालिका गरी ८८ पालिका रहेका छन् भने ७ सय ३४ वडा रहेका छन् । यो प्रदेशमा कूल मतदाता १६ लाख ३२ हजार १ सय ५० रहेका छन् । मतदान स्थल ११ सय ३५ रहेको छ भने मतदान केन्द्र २१ सय ३ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप