सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

७२ प्रतिशतसम्म मतदान हुने आयोगको आँकलन

शुक्रबार, ३० वैशाख २०७९, १६ : २४
शुक्रबार, ३० वैशाख २०७९

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताएका हुन् ।

उनले  ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताए । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताए । मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकोले अझै मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने बताए । प्रमुख आयुक्त थपलियाले श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए।

प्रमुख आयुक्त थपलियाले भने, ‘श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग छैन । हाम्रो अपेक्षा ६५ देखि ७२ प्रतिशतसम्म मत खस्न सक्ने भन्ने हो । अहिले केही मतदान केन्द्रहरूको स्थिति हेर्दा त्यो भन्दा माथि पनि पुगेको छ । लोकतन्त्रप्रति आस्थावान् हुनुहुन्छ । यसमा कतै १७ प्रतिशत र त्यो भन्दा पनि कम मतदान अहिलेसम्म भएकोले यसमा पनि केही कम हुनसक्ने आँकलन छ ।’

प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य हुनुपर्ने मतदानलाई प्रचारप्रसारका लागि सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिसकेको र यदि सत्य प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने बताए । प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताए । उनले आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप