बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा कोभिडका कारण पहिलो मृत्यु, लाखौँमा लक्षण देखिएको खुलासा

शुक्रबार, ३० वैशाख २०७९, ११ : ११
शुक्रबार, ३० वैशाख २०७९

उत्तर कोरियामा कोभिड–१९ का कारण पहिलो मृत्यु भएको छ । राज्य सञ्चालित सञ्चार माध्यमले यसबारे जानकारी दिँदै लाखौँमा ज्वरोको लक्षण देखिएको बताएको छ ।

शुक्रबार सरकारी मिडियाले दिएको जानकारी अनुसार ज्वरो आएका ६ जनाको मृत्यु भएको छ जसमध्ये एकजनामा ओमिक्रोन पुष्टि भएको छ ।

बीबीसीका अनुसार ज्वरो आएका १ लाख ८७ हजार जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको पनि बताइएको छ ।

उत्तर कोरियामा कोरोना भाइरस निकै अघिदेखि नै रहेको विज्ञले विश्वास गर्दै आएका छन् । यद्यपि, त्यहाँको प्रशासनले भने बिहिबार मात्रै कोरोनाको पहिलो संक्रमित भेटिएको जानकारी दिएको छ ।

प्रशासनले राजधानी प्योङ्याङमा ओमिक्रोन भेरियन्टको प्रकोप भएको र लकडाउन लागू गरिएको जानकारी दिएका छन् । उनीहरुले संक्रमितको सटिक संख्या भने तोकेका छैनन् ।

तर शुक्रबारको अपडेटमा केसीएनए समाचार एजेन्सीले प्रकोप राजधानी बाहिर पनि विस्तार भएको जानकारी दिएको छ । ‘एउटा ज्वरो जसको कारणको पहिचान गर्न सकिएको छैन, त्यो अप्रिलको अन्त्यसम्म देशभरी बिस्फोटकको रुपमा फैलिएको छ,’ यसमा भनिएको छ ।

करिब ३५०००० मानिसहरुमा उक्त ज्वरोको लक्षण देखिएको छ तर कोभिडको संक्रमण कतिजनामा देखिएको छ भनेर कुनै जानकारी दिइएको छैन ।

विश्लेषकका अनुसार राज्य मिडियाले हालै जारी गरेको आँकडामा पहिचान नगरिएको ज्वरो देशभरी फैलिएको स्वीकार गर्नुको अर्थ देश कुनै प्रकोपको सामना गरिरहेको छ भनेर बुझ्नुपर्छ ।

खोप अभियानको कमी र खराब स्वास्थ्य सेवाका कारण यहाँका २.५ करोडको जनसंख्या जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

उत्तर कोरियाले गत वर्ष एस्ट्राजेनेका र चिनियाँ खोप आपूर्ति गर्ने अन्तरराष्ट्रिय समुदायको प्रस्ताव अस्वीकार गरेको थियो । यसको साटो उत्तर कोरियाले जनवरी २०२० को सुरुमा नै आफ्ना सीमानाहरु सिल गरेर कोभिडलाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप