ad
x
जन्म दिवसः ३० वैशाख

शताब्दी पुरुष जोशीः कम्प्युटरका हार्डडिक्स

समय पालनामा घडीको सुई जत्तिकै विश्वासिलो

person explore access_timeबैशाख ३०, २०७९ chat_bubble_outline0

नेवार जातिलाई पहिला ‘नेवाल’ भनिन्थ्यो । क्रमशः ‘ल’ हटेर यो जाति नेवाः या नेवार हुन थाल्यो । यो जातिले नेपाली माटोमा प्राचीनकालदेखि नै जरा गाडेको हो । नेवार काठमाडौँ उपत्यकाका आदिवासी हुन् । 


नेपालको प्रथम राजवंश गोपालवंश हो र गोपालवंश पहिलो नेवार जातिको समुदाय हो । यस वंशले करिव ५ सय वर्ष राज्य चलायो । नेवार समुदायको पुर्खाचाहिँ ज्यापू हुन् । मल्ल कालदेखि नै नेवारी भाषालाई ‘नेपाल भाषा’ भन्न थालियो । नेवारी लिपि चाहिं ईश्वी संवत दसौँ शताब्दीबाट देखा परेको हो ।



सत्यमोहन जोशी आफूलाई परम्परावादी नेवार मान्छन् । उनी जनै लगाउँछन् र गायत्री मन्त्र जप नगरी अन्न खाँदैनन् । उनका बाजे नरसिंहराज जोशी काठमाडौंका आदिवासी थिए । उनी पनि धर्म संस्कृतिका कट्टर थिए । 



सत्यमोहन जोशीका बुबा पनि धर्म, संस्कृति र जातीयताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । उनी लेखनदासको पनि काम गर्थे । एउटा मुद्धामा परेर उनको सर्वनास भयो । तर अनेक सङ्घर्ष खेपेर धेरैपछि उनले एउटा थोत्रो घर किने । अनि त्यसै वर्ष प्रथम सन्तानका रूपमा सत्यमोहन जोशी जन्मे । 



जोशीको जन्म  



सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । आज उनले १०३ वर्ष टेकेका छन् । सानामा यी अति चकचके थिए । अति गरेपछि यिनलाई घरमा नै बाँधेर राखिन्थ्यो । त्यसो नगरे यिनी इनारमा पनि फाल हान्न सक्थे र घरको धुरीबाट पनि हाम फाल्न सक्थे । तर त्यतिखेर यी लाटा थिए । यिनका कुरा बुबा आमाले ईशारामा बुझ्नु पर्थ्यो । ५ वर्षसम्म पनि बोली नफुटेकोले यिनलाई भक्तपुरको सूर्यविनायको जङ्गलमा छाडिएको थियो । त्यसबेला जङ्गलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ’ भनेर चिच्याएका थिए ।



जोशीले सात वर्षको उमेरमा नेवारी भाषाको प्रथम अक्षर लेखे । १० वर्ष पुगेपछि यिनले नेपाली भाषा बोल्न थाले । तर उनी त्यो भाषा बोल्न राम्ररी जान्दैन थिए । त्यसैले उनी नेवारीमा मात्र बोल्थे । 



जोशीको बिहे र सन्तान 



जोशीले १९ वर्षको उमेरमा गणेशबहादुर पात्रवंशकी १४ वर्षकी छोरी राधादेवीसँग बिहे गरे । पात्रवंश चाहिं जोशी परिवारका छिमेकी थिए र उनको व्यवसाय कपडा पसल थियो । जोशी दम्पतीबाट ४ छोरा अणु, डा हेमन्त, खगेन्द्र, डा पूर्ण अनि ४ छोरी नर्वदा, कावेरी, दिलकुमारी र खड्गलक्ष्मी जन्मे ।

जोशीको शिक्षा 

जोशीले नेवारी भाषाबाट शिक्षारम्भ गरे । लाटा र सोझा भएकाले उनको पढाई सुस्तरी नै भयो । सानामा उनलाई पढ्नै मन लाग्दैनथ्यो । शिक्षकको कुटाई र साथीहरु पनि नेवारीमा नबोल्ने भएपछि उनी नियमित स्कुल जाँदैनथे ।

जोशी स्कुल गए पनि पाठ बुझाउन सक्तैनथे । त्यसैले गुरुहरूले पनि उनका दुइटै कान समाएर उचाल्दै मामा घर देखिस् भन्थे । त्यतिले नपुगेर उनी हरदिन वेतका लौराबाट कुटिन्थे । उनका कन्सिरी तान्नेदेखि कान समाएर एक सय पल्ट उनलाई उठबस गराउनु गुरुहरुको नित्य कर्म मानिन्थ्यो ।

अनेक दुःख, कष्ट र पीडा खेपेर जोशी दरबार स्कुल पुगे । त्यसबेला त्यहाँ रुद्रराज पाण्डे हेडमास्टर थिए । त्यहाँ उनले लेखनाथ पौडेल र भानुभक्त आचार्यका कविता पढे । त्यसबेला उनलाई पढाउने प्रमुख गुरु पं वासुदेव भट्टराई थिए । त्यहाँ पनि उनको कान पड्काइने, कन्सिरी तानिने र मुड्की खाने काम भैरह्यो । 

त्यसबेलाको मास्टरी पिटाई खाएर उनी स्कुलप्रतिको वितृष्णामा थिए । वासुदेव भट्टराईले एक मुड्की दिँदा उनी पछारिन्थे । सबै गुरुको मरणासन्न पिटाई खाएर पनि उनले त्यहाँबाट म्याट्रिक गरे । जोशीले त्रिचन्द्र कलेजबाट १९९८ सालमा आइए गरे । त्यसपछि उनी बीएको कक्षामा सरिक भए तर त्यसलाई पार लाउन भने सकेनन् । 

जोशीको साहित्य प्रवेश 

म्याट्रिक पास हुनु अघिसम्म जोशीले कुनै स्रष्टा देखेका थिएनन् । उनले पहिलोपल्ट देखेको साहित्यकार भीमनिधि तिवारी थिए । साथै कलेजको दैलो टेकेपछि मात्र उनले साहित्य विषय चाल पाएका थिए ।

जोशीले पहिलोपल्ट चिनेका साहित्यकारहरु वालकृष्ण शमशेर र पुष्करशमशेर थिए । यी दुवै राणाले यिनलाई माया गर्थे । साथै पुष्करशमशेरले यिनलाई अनुवादको काम पनि दिन्थे । त्यसबेला उनी अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गर्थे । उनले पहिलोचोटि ‘मोपाँस’को कथा अनुवाद गरे । उनी राम्रो अनुवादक भएको बेहोरा नेपाली र अङ्ग्रेजी भाषाका विज्ञ महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रमाणीकरण गरे । 

जोशीले देवकोटालाई नै साहित्यको गुरु पनि थापे । जोशी देवकोटाका घर गइरहन्थे । २०१४ सालमा देवकोटा मन्त्री हुँदा देवकोटालाई घरबाट सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुर्याउने काम पनि जोशीले नै गरेका थिए । जोशीका अर्का साहित्यिक गुरू माधव घिमिरे थिए । 

जोशीको प्रथम लेख पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’मा छापिएको थियो । त्यसबेला जोशी आइए पढ्दै थिए । 

जोशीको जागिर 

घरको दयनीय आर्थिक अवस्थाका कारण जोशीले स्नातक पूरा गर्न पाएनन् । त्यस बखत उनी जागिरकै खोजीमा थिए । साथै उनले औद्योगिक सर्वेमा खरिदारको जागिर पाए र तनहुँ गए । 

जोशीले अमेरिकी साँस्कृतिक केन्द्रमा पनि जागिर खाए । उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे ।  पुरातत्व विभागमा  निर्देशकदेखि चीनको महाविद्यालयमा पनि जागिर खाए । उनले त्यहाँ चिनीयाहरुलाई नेपाली पढाए । उनले पढाएका चिनियाहरुले पेकिङ रेडियोबाट क्रमशः नेपाली कार्यक्रम पनि चलाउन थाले । चीनमा बस्ता माओत्सेतुङले जोशीलाई स्नेह गरे । उनले पनि माओत्सेतुङका कविता नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरे ।

जोशी नेपाल फर्केपछि पनि जागिरमा नै बाँधिए । उनले नेपालका कलेजहरुमा पनि प्राध्यापन गरे । जीवनभरिको जागिरबाटै उनले आफ्नो घरपरिवार पनि उकास्तै लगे । तर उनले स्वच्छ, नैतिक र इमान्दार भएर नै मात्र आफूलाई उभ्याउँदै आए । 

जोशीको भ्रमण 

जोशीले नेपालका प्रायः धेरैै भूभाग टेके । उनले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड,रुस, न्यूजिल्याण्ड, अष्ट्रेलिया, वेलायत, क्यानाडा, अमेरिका लगायतको भ्रमण गरे । 

यात्रा सन्दर्भमा जोशीको सवैभन्दा उल्लेखनीय भ्रमण न्यूजिल्याण्डको थियो । किनभने न्यूजिल्याण्ड पुग्ने उनी प्रथम नेपाली थिए । उनी त्यहाँ दौरा, सुरुवाल, कोट र टोपी लगाएर गएका थिए । उनले जुन दिन न्यूजिल्याण्डको भूमि टेके, त्यसै दिन अर्थात् २०१० साल जेठ १६ गते न्यूजिल्याण्डका एडमण्ड हिलारी नेपालका तेञ्जिङ शेर्पाका साथ सगरमाथाको टुप्पोमा पुगेका थिए । अनि त्यो समाचारले न्यूजिल्याण्डलाई रङ्गीन बनाएको थियो । त्यसैले त्यसबेला जोशीले त्यहाँ ठूलो मान पाएका थिए । त्यसै भ्रमणमा केन्द्रीत उनको २०४९ सालमा एउटा नियात्रा पनि छापियो ‘न्यूजिल्याण्डमा पहिलो नेपाली ।’

जोशीको कर्णाली मोह 

जोशी नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिँजा पुगे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट बजेट स्वीकृत गराएर त्यस ठाउँमा उनले अरु ५ जनालाई पनि लगे । त्यहाँ उनले विविध हस्तलिखित ग्रन्थ र शिलापत्रहरू पनि फेला पारे । त्यस बेला उनीसँग त्यहाँ जाने चूडामणि वन्धु, थीरजङ्गबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ र प्रदीप रिमाल थिए । 

जोशीको समूहले ‘कर्णालीलोक संस्कृति’ नामक पाँच ग्रन्थहरू लेखे । साथै ती पाँचै कृतिहरूका लागि पाँचै जनाले त्यसबेला संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । 

जोशी र प्रज्ञाप्रतिष्ठान 

शाहीकालीन समयमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको बेग्लै गरिमा, रौनक र इज्जत थियो । जोशी त्यहाँ सदस्यसचिव भए । त्यसबेला कुलपति चाहिं केदारमान व्यथित थिए । जोशीको कार्यकालदेखि प्रज्ञाप्रतिष्ठानको भौतिक र साँस्कृतिक विकास हुन थाल्यो । साथै त्यसै बेलादेखि त्यहाँ गाईजात्रा महोत्सव सुरु भएको थियो । साथै ‘महेन्द्र स्मृतिग्रन्थ’ पनि उनैको कार्यकाल र सम्पादनमा प्रकाशित भएको थियो । 

जोशीबाट अरनिको खोज 

१३औँ शताब्दीमा नेपालबाट चीन पुगेका अरनिकोबारे जोशी अध्ययनमा लागे । चीनमा रहँदा उनले अरनिकोको अस्तित्व भएको ठाउँको खोजमा लागिरहे । उनी अरनिकोको समाधिस्थल पनि पुगे । जोशीले तिब्बतमा पनि अरनिकोले बनाएको चैत्य फेला पारे । यथेष्ट जानकारी लिएपछि अरनिकोबारे प्रचारमा लागे । उनले अरनिको श्वेतचैत्यमा आधारित कथा र महाकाव्य पनि लेखे । अरनिकोको ६३ वर्षको उमेरमा सन् १३०६ मा चीनमा नै निधन भयो भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिबद्ध गरिदिए । 

अन्ततः जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे र त्यही भव्य कृति चीनको राजकीय भ्रमणताका राजा वीरेन्द्रले चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए । 

जोशीले तिब्बत गएर राजकुमारी भृकुटीबारे पनि धेरै जानकारी बटुले । त्यहाँ भृकुटीलाई देवी मानेर पूजा गरिएको पनि उनले देखे । भृकुटीलाई तिब्बतीहरुले हरिकतारा भन्ने बेहोरा पनि जोशीले नेपालमा आएर प्रचार गरे । 

जोशीद्वारा मुद्राको खोज 

महेन्द्र मल्लको पालामा चाँदीको पैसाको सुरुवात भएको जोशीले नै पत्ता लगाए । प्राचीन कालदेखि तत्कालीन बेलासम्मका सबै मुद्राहरुको सङ्कलन, अन्वेषण र अध्ययन गरी उनैले ‘नेपाली राष्ट्रिय मुद्राहरु’ नामक आधिकारिक ग्रन्थ तयार पारेका थिए । 

संसारमा पहिलोपल्ट एसिया माइनरमा लिडिया साम्राज्यका संस्थापक गिजेजले मुद्राको आविष्कार गरे । इशापूर्व ६५२ मा मुद्राको आरम्भ भएको थियो भन्ने बेहोरा पनि जोशीले नेपाली जनमाझ प्रस्तुत गरे । साथै नेपालमा लिच्छविकालीन मुद्रा साक्षात फेला परेको बेहोरा जोशीले प्रकाशनमा ल्याए । नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको मुद्रा चाहिं राजा त्रिभुवनका पालामा आएको रहेछ । जोशीका अनुसार राजा महेन्द्रका पालादेखि विशिष्ट र आधुनिक नेपाली मुद्रा चलनचल्तीमा आए ।

जोशीको भाषा प्रेम 

जोशीले आइए पढेदेखि नै साहित्यसेवामा सिर्जनात्मक र सङ्गठनात्मक रूपमा आफूलाई जोडिरहे । कृतिगत रुपमा उनी जति सफल भए, सङ्गठन परिचालनमा पनि उनको विशिष्ट भूमिका रहँदै आयो । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाएका थिए । व्यक्तिगत र संस्थागत रुपमा उनले साहित्य र संस्कृतिका लागि धेरै काम गरे ।

जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा उक्त सम्मेलन ५ दिनसम्म सञ्चालित थियो । जोशी नेपाल भाषा एकादमीका चान्सलर पनि भए र त्यहाँ पनि उनले आफ्नो मातृभाषाको विस्तारका लागि रचनात्मक कामहरू गरिरहे । 

शताब्दी पुरुषको उपाधि 

जोशीको पचासी वर्षको हाराहारीमा नै नइबाट शताब्दी पुरुषको परिकल्पना भएको थियो । त्यसैको आधारमा नइको सौजन्यमा त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते जोशीलाई पाँच लाख रुपियाँ राशिसहित सप्तनाग जडित उनकै उचाईको कलात्मक काठको फ्रेममा ताम्रपत्र समर्पण गरिएको थियो । 

नइ र त्रिमूर्ति निकेतनको अनुरोधमा नेपाल सरकारले समेत जोशीलाई २०७४ साल वैशाख २१ गते ‘वाङमय शताब्दी पुरुष’को उपाधिद्वारा विभूषित गर्यो । त्यसपछि उनले भने, ‘मलाई यो जीवनमा अब अरु केही चाहिंदैन, पुग्यो ।  

जोशीलाई पुरस्कार तथा रथारोहण 

जोशीलाई राज्यले विख्यात त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिणबाहु र उज्जवल कीर्तिमय राष्ट्रदीपबाट विभूषित गरियो । उनलाई राजधानीको नागरिक समाजद्वारा २०७४ साल भदौ २९ गते रथारोहण गराइयो र सोही दिन राष्ट्रप्रमुखबाट ‘समग्र राष्ट्रकै अमूल्य निधि’ र ‘राष्ट्रको गौरव अभिवृद्धि गर्ने’ सम्बोधनका साथ अभिनन्दन प्रदान गरिएको थियो । 

जोशीलाई श्रेष्ठ सिरपाः, लाकौल सिरपाः, आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त प्रज्ञापुरस्कार, भानुभक्त स्वर्णपदक, त्रिभुवन प्रज्ञापुरस्कार, मदन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, भूपालमानसिंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार, गोपाल कमल राजभण्डारी रोटरी अवार्ड, यात्री वाङ्मय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान लगायत झन्डै दुई सय वटा संस्थाबाट सम्मान र अभिनन्दनपत्र समर्पण गरिएको छ । 

त्रिमूर्ति निकेतनले जोशीका सम्मानमा ‘सत्यमोहन जोशी शताब्दी पदक’को स्थापना गर्यो । देशदेशान्तरका २१७ जना महानुभावलाई उनैका हातबाट सो पदक अर्पित गरिएको थियो । न्हूजः गुठीले जोशीको मुहार अङ्कित २० ग्रामको चाँदीको सिक्का प्रकाशनमा ल्यायो । साथै जोशीलाई काठमाडौं विश्वविद्यालयबाट २०६८ साल भदौ २ गते महाविद्यावारिधिको उपाधि समर्पण गरिएको थियो ।

जोशीका कृति 

शताब्दी पुरुष सत्यमोहन जोशीका ७१ वटा पुस्तक प्रकाशित भैसकेका छन् । उनले नेपाली सजिलो वर्णमालादेखि ‘कीर्तिबाबुको स्मृति’सम्म नामक कृति लेखे । उनका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् । साथै उनले अङ्ग्रेजी भाषामा पनि एउटा कृति लेखे । उनका कृतिहरु निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा तथा कोशमा आधारित छन् ।

जोशीको जीवनशैली 

जोशी सादा जीवन उच्च विचारका कुवेर हुन् । कसैले अपमान गर्दा पनि उनी कहिल्यै आत्तिएनन् । उनी सधंै भुइँ टेकेर नै हिँडिरहे । एक डेढ घन्टासम्मको पैदल बाटोमा उनी सकेसम्म बस र ट्याक्सी पनि चढ्दैनन् । सधैं दौरासुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्कन्छन् । नरम बोलीचाली उनको जीवनको विशेषता मानिन्छ । उनको स्मरण शक्ति आश्चर्यजनक छ । मानौँ उनी कम्प्युटरका हार्डडिक्स नै हुन् । समय पालनामा उनी घडीको सुई जत्तिकै विश्वासिलो देखिन्छन् । यही रीतमा जोशीको जीवनले १०३ वर्ष टेकेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।