बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

शुक्रबार, ३० वैशाख २०७९, ०६ : १३
शुक्रबार, ३० वैशाख २०७९

जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् ।चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । 

बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्चमा मतगणना गर्ने र दर्शक दीर्घामा दल तथा उम्मेदवार बस्ने ठाउँ बनाइएको छ । 

धौलागिरि गाउँपालिकाको मुनास्थित कार्यालयको भवनको चेनगेटभन्दा बाहिर दलका प्रतिनिधि र उम्मेदवार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए । 

दरवाङमा मालिका गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा तारजालीले बारेर मतगणना गर्ने ठाउँ बनाएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय राखिएको कोठाको आधा भागमा मत गन्ने र आधा भागमा उम्मेदवार तथा दलका प्रतिनिधि बस्ने बनाएको छ । 

मङ्गला गाउँपालिकाको मतगणना बाबियाचौरको मङ्गला माविको भवनमा हुने भएको छ । मतगणनास्थलमा सिसीटिभी जडान र तारजाली लगाइसकेको निर्वाचत अधिकृत धर्मराज पौडेलले बताए । 

रघुगङ्गा गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयको सभाहलमा मतगणनास्थल बनाउन तारजालीले बारेर सिसीटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर आधारभूत विद्यालयको भवनमा मतगणना गरिने निर्वाचन अधिकृत जानुका सुवेदीले बताइन् । उनका अनुसार मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान र तारजाली लगाइएको छ । 

मतगणनाको समयमा हुनसक्ने सम्भावित घटनालाई पूर्वअनुमान विगतको चुनावको अनुभवबाट पाठ सिके यसपालि निर्वाचन आयोगले सिसीटिभी जडान गर्ने र तारजाली लगाउने नीति लिएको हो । छ स्थानीय तह र ४५  वडा रहेको जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८  उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक  तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप