शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मौन अवधिको दोस्रो दिन २० सञ्चारमाध्यममाथि कारबाही

बिहीबार, २९ वैशाख २०७९, २२ : ४९
बिहीबार, २९ वैशाख २०७९

प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागु भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ । बिहिबार ४ जना पत्रकारलाई सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीका विषयमा ध्यानाकर्षण गराएकोमा सबैले तत्काल आचार संहिताविपरीत सम्प्रेषित सामग्री हटाएका छन् । काउन्सिलको अनुगमनका क्रममा ध्यानाकर्षण गराएको र सचेत गराएका विषय तत्काल भुल सुधार गर्ने सञ्चार माध्यम र पत्रकारलाई धन्यवाद भन्दै उपप्रशासकीय अधिकृत बोहराले जिम्मेवार सञ्चार माध्यम र पत्रकारको दायित्व आचारसंहिता पालना गर्ने नै रहेको बताए । उनले शुक्रबार निर्वाचनका समयमा रिपोर्टिङमा खटिने सञ्चार माध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिताको विशेष ख्याल गरी समाचार सामग्री सम्प्रेषण गर्न/गराउन अनुरोध गरेका छन् ।

काउन्सिलले हिजो पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको थियो । योसँगै ४७ सञ्चार माध्यमलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा कारबाही भएको छ । बिहिबार १२ वटा अनलाइन, ७ वटा पत्रिका र एउटा टीभीलाई कारबाही भएको हो ।

बिहिबार कारबाही भएकामध्ये २ वटा सञ्चार माध्यमलाई उम्मेदवारले गरेको उजुरीका आधारमा र ३ वटा सञ्चार माध्यमलाई आयोगमा परेको उजुरी काउन्सिलमा प्राप्त भएको आधारमा कारबाही गरिएको हो । 

यसैबीच बिहिबार ६ वटा दर्ता नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरी कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप