मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

दुई जना वडा सदस्यको मतदान तथा मतगणना सम्बन्धको द्विविधामा आयोगले पार्‍यो स्पष्ट

बिहीबार, २९ वैशाख २०७९, २१ : १९
बिहीबार, २९ वैशाख २०७९

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नु पर्ने दुई जना वडा सदस्यको पदमा मतदान गर्ने तथा मतगणना गर्ने सम्बन्धमा द्विविधा भएको गुनासो प्राप्त भएको भन्दै यसबारे निर्वाचन आयोगले स्पष्ट पारेको छ । प्रत्येक स्थानीय तहको वडा सदस्यहरु मध्ये महिला वडा सदस्य र दलित महिला वडा सदस्य बाहेकका अन्य वडा सदस्य पदमा दुई जना उम्मेदवार निर्वाचित हुने आयोगले जनाएको हाे । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह सदस्य निर्वाचनको लागि व्यवस्था भएको मतपत्रमा दुई जना निर्वाचित गर्नुपर्ने वडा सदस्यको लागि छैठौं कोलममा एक र सातौं कोलममा दुई निर्वाचन चिन्हको व्यवस्था भएकोले सो दुवै कोलममा निर्वाचन चिन्ह भएका मध्ये आफूले चाहेका दुई जना उम्मेदवारहरूको निर्वाचन चिन्हमा मत सङ्केत गर्न सकिने जानकारी दिए । यसरी मतदान गर्दा एउटै कोलमको दुई वटा चिन्हमा वा फरक फरक कोलमको एक एक वटा चिन्हमा एकएक मत सङ्केत गर्न सकिने उनको भनाइ छ ।  

यस्तै छैठौं र सातौं कोलमको मतपत्र एउटै पदको मतपत्र भएको र सो मतपत्रबाट दुई जना उम्मेदवार मात्र निर्वाचित हुने भएकोले छैठौं र सातौं कोलममा भएका चिन्ह मध्ये कुनै दुई भन्दा बढी निर्वाचन चिन्हमा मत सङ्केत गरिएमा सो पदको पूरै मत बदर हुने जानकारी दिए । दुई भन्दा बढी निर्वाचन चिन्हमा मत सङ्केत भएमा उम्मेदवार नभएको निर्वाचन चिन्ह भए पनि सो पदको पूरै मत बदर हुने उनको भनाइ छ । 

‘छैठौं कोलममा रहेका निर्वाचन चिन्ह मध्ये एउटा निर्वाचन चिन्हमा र सातौं ​ कोलममा रहेका निर्वाचन चिन्ह मध्ये दुई वटा निर्वाचन चिन्हमा मत सङ्केत गरिएमा वा छैठौं कोलममा रहेका निर्वाचन चिन्ह मध्ये दुईवटा निर्वाचन चिन्हमा र सातौं कोलममा रहेका निर्वाचन चिन्ह मध्ये एउटा निर्वाचन चिन्हमा मत सङ्केत गरिएमा सो पदका पूरै मत बदर हुने’, उनको विज्ञप्तिमा उदाहरणसहित भनिएको छ, ‘छैठौं कोलममा निर्वाचन चिन्ह भएका उम्मेदवार मध्ये सबै भन्दा बढी मत पाउने एक जना र सातौं कोलममा निर्वाचन चिन्ह भएका उम्मेदवार मध्ये सबै भन्दा बढी मत पाउने एक जना निर्वाचित हुने हो कि भन्ने भ्रम समेत रहने गरेको बुझिएकाले त्यस्तो भ्रममा नपर्नु हुन र छैठौं र सातौं कोलममा निर्वाचन चिन्ह भएका सबै उम्मेदवार मध्ये सबै भन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुने कुरामा स्पष्ट हुनु पर्ने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप