बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुन कलाकारले कहाँबाट हाल्दैछन् भोट ?

बिहीबार, २९ वैशाख २०७९, २१ : १२
बिहीबार, २९ वैशाख २०७९

काठमाडौंं । स्थानीय निर्वाचनमा  मतदानका लागि कामको सिलसिलामा टाढा टाढा रहेका व्यक्तिहरू आआफ्नो गाउँ ठाउँ फर्किसकेका छन् । सेलिब्रेटी (कलाकार) हरुलाई पनि निर्वाचनले नछुने कुरै भएन । कुन कलाकारले कहाँबाट भोट हाल्दै छन् त ?

नीर शाह (कलाकार) :
बुढानीलकण्ठ नगरपालिका–६ स्थित खड्ग भद्रकाली मतदान केन्द्रबाट मत हाल्छु । ५ वर्षमा एक पटक आउने चुनावप्रति जनता जागरुक हुनुपर्ने मेरो धारणा हो । अहिलेको निर्वाचन स्थानीय जनप्रतिनिधि छान्ने राम्रो मौका हो । यो मौकाको सदुपयोग गर्न सबैमा अनुरोध छ ।

करिश्मा मानन्धर (अभिनेत्री) :
म काठमाडौं महानगर– ३, लाजिम्पाट मतदान केन्द्रबाट भोट खसाल्छु । म बस्ने ललितपुरको गोदावरी हो तर नाम लाजिम्पाटमा छ । 

दीपक राज गिरी (अभिनेता) :
म सधैं चन्द्रागिरी नगरपालिका–१, दहचोक बुथबाट भोट हाल्दै आएको छु । १३ वर्षको उमेरदेखि मैले भोट हाल्न थालेको हुँ । त्यतिबेला मरेका हजूरबुवाहरू पनि भोट हाल्न आउने चलन थियो । म एउटै पार्टीको उम्मेदवारलाई मतदान गर्ने पक्षमा छैन । जुन पदमा जुन पार्टीको योग्य उम्मेदवार देख्छु, त्यो हेरेर छानेर मतदान गर्छु । 

म स्वतन्त्र कलाकार भएको हिसाबले मेरो दायित्व मन वचन कर्मले नै स्वतन्त्र रहेर, राम्रा उम्मेदवार छनौट गर्ने हो । यो स्थानीय चुनाव भएकाले स्थानीयमा राम्रो काम गर्न सक्ने, जनताले उठाएको आवाज पूरा गर्न सक्नेलाई भोट दिनुपर्छ ।

दीपेन्द्र के. खनाल (फिल्म निर्देशक) :
म काठमाडौं महानगरपालिका–१६ को बुथबाट भोट खसाल्छु । भोट हाल्न पाउने उमेरदेखि लगातार निर्वाचनमा सहभागी भइरहेको छु । निर्वाचन राम्रो र सक्षम जनप्रतिनिधि छान्ने अवसर हो । प्रत्येक निर्वाचनमा सकेसम्म काम गर्न सक्नेलाई भोट हाल्ने गरेको छु ।

शैलेन्द्र सिंखडा (हास्य कलाकार) :

म काठमाडौँ महानगरपालिका–२६ बाट मतदान गर्दैछु । २०३७ सालदेखि म नियमित निर्वाचनमा सहभागी हुँदै आएको छु । स्थानीय निर्वाचन भएकोले विकासप्रेमी नेतृत्व रोज्छु । मतदान हामी नागरिकको विशेष अधिकार हो । जनताले चुनेका जनप्रतिनिधिबाट विकास हुनैपर्छ भन्ने मेरो मान्यता हो ।

ऋचा शर्मा (अभिनेत्री) :

म बुढानीलकण्ठ नगरपालिकाको भोटर हुँ । गत निर्वाचनदेखि मैले भोट हाल्न थालेकीे हुँ । यसपाली राम्रो भिजन भएको युवा उम्मेदवारलाई भोट दिन्छु । मतदान हाम्रो अधिकार हो । सबैलाई मतदानमा सहभागी हुन अनुरोध पनि गर्छु ।

बम बहादुर कार्की (लोकगायक) :

यो पटक जन्मभूमि गुल्मीको मालिका गाउँपालिका–७ घमिर मतदान केन्द्रबाट भोट खसाल्दैछु । मसँगै मेरी श्रीमती तथा गायिका शिवा आलेले पनि यही भोट हाल्दैछिन् । हाम्रो भोट राम्राले पाउँछन् ।

रजनी केसी (अभिनेत्री) :

म नुवाकोटको टुप्चे मतदान केन्द्रबाट भोट खसाल्दैछु । गत निर्वाचनबाट मैले मतदान अधिकार प्राप्त गरेकी हुँ । मतदान हामी नागरिकको अधिकार हो । हामीले राम्रो नेता छान्ने बेला यही हो ।

नविन पौडेल (गायिका) :

मतदान हामी नागरिकको नैसर्गिक अधिकार हो । यो अधिकारको प्रयोग गर्दा देश, काल र परिस्थिति हेरेर गर्नुपर्छ । म पाल्पा बगनासकालीको दर्लमडाँडा मतदान केन्द्रबाट मत खसाल्दैछु । मेरो गाउँ बस्ती एवम् क्षेत्रलाई हेरेर त्यही अनुसारको उम्मेदवारलाई मत हाल्छु । विकासप्रेमी र राम्रो व्यक्तिले मेरो भोट पाउँछ ।

सिताराम पोखरेल (गायक) :

काठमाडौं महानगरपालिका–९ को बत्तिसपुतली मतदान केन्द्रबाट भोट हाल्दैछु । करिब ४ दशकदेखि भोट हाल्दै आएको म स्थानीय निर्वाचनमा जनताको पीरमर्का बुझ्ने, विकासप्रेमी व्यक्ति रोज्छु ।  प्रत्येक भोटले सक्षम मानिस जिताउन मद्दत गर्ने भएकोले राम्रो उम्मेदवारको पक्षमा मेरो भोट खस्छ ।

चेतन सापकोटा (संगीतकार) :

मकवानपुरको हेटौडा उप–महानगरपालिका–९ लामखुरे मतदान केन्द्रबाट भोट खसाल्दैछु । सबै पार्टीले उत्कृष्ट उम्मेदवार उठाएका छन् । ती मध्ये पनि उत्कृष्ट रोज्छु ।

सञ्चिता लुइटेल (अभिनेत्री) :

काठमाडौं महानगरपालिका–९ को बत्तिसपुतली मतदान केन्द्रबाट भोट हाल्छु । यो पटकको निर्वाचन मेरो लागि दोस्रो हो । आफ्नो विचारमा जो सही लाग्छ, त्यसलाई भोट दिन्छु । स्थानीय ठाउँको विकास गर्न सही मानिस चुन्ने अवसर पनि हो यो निर्वाचन । राम्रो उम्मेदवार जिताउन सबैको मतदान अनिवार्य छ ।

सन्तोष लोहनी (फिल्म निर्देशक) :

२५ वर्षदेखि भोट खसाल्दै आएको छु । पहिले लमजुङ र त्यसपछि काठमाडौैंको टोखा नगरपालिका–७ टिलिङ्गेटार केन्द्रबाट भोट खसाल्दै आएको छु । मतदान हाम्रो अधिकार हो । हाम्रो व्यक्ति भन्दा पनि राम्रो व्यक्ति जिताउन मतदान गर्छु ।

 

रवि डंगोल (हास्य कलाकार) 

 

म काठमाडौँ नगरपालिका– १५ बाट भोट हाल्दैछु । ३० वर्षदेखि भोट हाल्दैछु । जनताको मर्म बुझ्ने नेता मेरो रोजाइमा पर्छ । सबैलाई राम्रालाई भोट हाल्न अनुरोध गर्दछु  ।

जीतु नेपाल (हास्य कलाकार) :

काठमाडौं महानगरपालिका–३२ जडिबुटी नरेफाँट मतदान केन्द्रबाट भोट हाल्दैछु । २० बर्ष भयो, मतदानमा सहभागी भएको ।  विकास गर्ने, केही गरौं भन्ने उम्मेदवार मेरो रोजाइमा पर्छ । हाम्रो मतदानले असल जनप्रतिनिधि चुन्ने भएकोले सबै सहभागी हुनुपर्छ । निर्वाचनमा सहभागी बनौं, असल, इमान्दार र योग्यलाई भोट हालौँ भन्छु म ।

विपिन कार्की (अभिनेता) :

विराटनगर महानगरपालिका–३ को पुकेट क्याम्पस बुथबाट भोट खसाल्छु । मेरो पहिले देखि नै कुनै पनि पार्टीप्रति आस्था छैन । हामीले भोट हालेकोले व्यक्तिले जित्छ, जित्दैन भन्दा पनि राम्रोलाई दिने थालनी गर्नुपर्छ । 

उत्तम केसी (कलाकार) :

म तारकेश्वर नगरपालिका–११ नेपालटार मतदान केन्द्रबाट भोट हाल्दैछु । दुःख सुखमा साथ दिने, सहयोगी भावना भएको र विकासप्रेमी नेता छान्छु । कसैको लोभमा नपरी सहयोगी उम्मेदवारलाई भोट हालौं भनेर सबैमा अनुरोध छ ।

सवनम् मुखिया (फिल्म निर्देशक)  :

ललितपुर महानगरपालिका–१८ नख्खु मतदान केन्द्रबाट भोट हाल्छु । राम्रो भिजन भएको, विकासप्रेमी, स्वच्छ छविकाले मेरो भोट पाउँछ । नागरिक भएपछि राज्यको यो प्रजातान्त्रिक क्रियाकलापमा सहभागी हुनुपर्छ । 

शिव शंकर रिजाल (हास्य कलाकार) :

म सर्लाहीको बरखा नगरपालिका–१५ को मतदान केन्द्रबाट भोट खसाल्दैछु । राम्रो नेतृत्व चयनका लागि सक्षम व्यक्ति जिताउन मेरो भोट खस्नेछ ।

रविन्द्र खड्का (अभिनेता) :

म काभ्रेको पनौती नगरपालिका सुन्थाना मतदान केन्द्रबाट मतदान गर्दैछु । स्थानीय विकासमा अग्रसर, अहोरात्र खटिने र जुझारु उम्मेदवारलाई मतदान गर्छु । लोभलालच, डर, धम्की केहीमा नपरी निर्धक्क भएर मतदान गर्न सबैमा अनुरोध गर्दछु ।

राधिका हमाल (लोकगायिका) :

म रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँ सिलाभन्सार मतदान केन्द्रबाट भोट खसाल्छु । हाम्रो र राम्रो दुबै मिलाएर जनप्रतिनिधि रोज्छु ।

कस्तुप पन्त (लोकगायक) :

म पर्वत जिल्लाको थलेबास नगरपालिका–७ को लिमिथाना मावि मतदान केन्द्रबाट भोट हाल्दैछु । हाम्रो भन्दा पनि राम्रो जनप्रतिनिधि जिताउन यो ज्यान भोट हाल्न गाउँ आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप