बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

बिहीबार, २९ वैशाख २०७९, १६ : ३०
बिहीबार, २९ वैशाख २०७९

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरू फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपूर्व हामी मतदाताहरूको 'घरदैलोमा प्रवेश' गर्ने र हाम्रा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरू कुनै किसिमका व्यवहारहरू गरेका छैनौँ । 

निर्वाचन भन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई भन्ने जति भनिसक्ने र मतदाताहरू स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सही उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो । 

तर, यही समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय हो । मतदाताहरूलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्त्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरू सजग रहन हार्दिक अपिल गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप